खुलामञ्च अतिक्रमण गरी बनाइएका टहरा महानगरले हटायो – Nepal Press

खुलामञ्च अतिक्रमण गरी बनाइएका टहरा महानगरले हटायो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने अभियान थालेको छ । राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कूलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुनर्निर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै ती संरचना पुनर्निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई काठमाडौं महानगरपालिकाले खुला गर्ने पहल सुरु गरेको हो ।

‘राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कूल र वीर अस्पतालको पुनर्निर्माणको क्रममा त्यहाँ प्रयोग हुने निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारलाई राख्नका लागि उहाँहरुको आग्रहमै हामीले त्यहाँ सहमति दिएका थियौं’ काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले भने, ‘वीर अस्पताल र दरबार हाईस्कूलको पुनर्निर्माण सम्पन्न चरणमा पुगेपछि हामीले आजबाट उहाँहरुलाई पनि जानकारी दिएर खुलामञ्चलाई खुला गर्ने अभियान थालेका हौं ।’ उनले विस्तारै बसपार्क पनि खुला गर्ने जानकारी दिए ।

‘काठमाडौं महानगरपालिका सार्वजनिक जग्गाको संरक्षण अभियानमा लागिपरेको छ’ शाक्यले भने, ‘खुलामञ्च मात्रै होइन महानगरपालिका क्षेत्रभित्रका अतिक्रमित सार्वजनिक जग्गालाई महानगरपालिकाले खोजी गरी पार्क बनाउने, खुला राख्ने जस्ता अभियान चलाएको छ । त्यस्तो कतै जानकारी छ भने हामीलाई भन्नुहोला ।’

काठमाडाैं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले पनि मेयरको निर्देशन अनुसार नै खुला गर्ने अभियान थालेको बताए । ‘दरबार हाइस्कूल र वीर अस्पताल प्रशासनसँग निरन्तर छलफलपछि हामी यो चरणमा आएका हौं’ काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भने, ‘राष्ट्रिय महत्वका सरकारी संरचना निर्माण हुने र निर्माण सामग्री राख्न ठाउँ अभाव भएपछि उहाँहरुले महानगरपालिकासँग गरेको आग्रह अनुसार नै ठाउँ उपलब्ध गराएको हो । कोभिड–१९ को कहरलगायतका कारण संरचना निर्माणमा केही ढिलाइ भएकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री हटाउन केही ढिलाइ भएको थियो । दरबार हाइस्कूल निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको छ भने वीर अस्पताल पनि निर्माण सम्पन्नको चरणमा छ । त्यसैले खुलामञ्च खुला गर्ने काम थालेका हौं । केही दिनभित्रै सबै खुला हुन्छ ।’

उनले पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विशाल विरोध प्रदर्शन, र्‍याली, आमसभालगायतले महानगर क्षेत्र भित्रका सडकहरु अस्तव्यस्त बन्ने गरेको र त्यसको मार महानगरवासीले खेप्नु परेकोप्रति थप ध्यानाकर्षण भै महानगरपालिकाले अझ छिटोभन्दा छिटो खुलामञ्च खुला गर्ने पहल थालेको बताए ।

‘विभिन्न राजनीतिक दलले सडकमै मञ्च बनाएर ठूला–ठूला सभा गर्दा पछिल्लो समय महानगरपालिका क्षेत्रभित्रको ट्राफिक आवागमनसँगै व्यापार–व्यवसाय पनि अस्तव्यस्त बन्ने गरेको छ’ ज्ञवालीले भने, ‘प्राचीनकालदेखि काठमाडौंको खुला स्थलको पहिचान बनाएको खुलामञ्चलाई खुला नै बनाउँछौं । अस्थायी बसपार्कका लागि अर्को व्यवस्थापन नहुन्जेल खुलामञ्चमा ठूला आमसभा गर्ने अवस्थामा महानगरपालिकाले समन्वय गरी आमसभा गर्ने दिन सवारी आवागमन अस्तव्यस्त नहोस् भन्नका लागि सवारीलाई टुँडिखेल घुमाई बसपार्क समेत खुला गर्नेसम्मको तयारी गरेको छ ।’ ज्ञवालीले महानगरपालिका विकास निर्माणसँगै मिचिएका सार्वजनिक जग्गा फिर्ता गरी खुला गर्ने अभियानमा आक्रामक रुपमा अघि बढेको जानकारी दिए ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले पनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), दरबार हाइस्कूल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पत्र काटेरै हिजोसम्म खाली गर्ने वातावरण बनाउन आग्रह गरेको जानकारी दिनुभयो । ‘हामीले हिजोसम्म खाली गर्न तीन निकायलाई भनेका थियौं’ सापकोटाले भन्नुभयो, ‘उहाँहरुलाई ठेकेदार कम्पनीलाई पनि उहाँहरुका सामग्री हटाउन आग्रह गर्नु भनेका थियौं । आज हामीले हटाउन सुरु गर्यौं ।’

केही दिन अघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति टीएन शाहले पनि ठेकेदार कम्पनीले दिएको प्रतिवेदन अनुसार वीर अस्पताल निर्माणको ९० प्रतिशत बढी काम सम्पन्न भएको भन्दै थप छलफल गरी जतिसक्दो छिटो खुलामञ्च खुला गर्न पहल गर्ने बताएका थिए ।

भूकम्पपछि दरबार हाइस्कूलको पुनर्निर्माण सामग्री तथा वीर अस्पतालको निर्माण सामग्री खुलामञ्चमा राखिएको थियो । दुवै संरचनाको निर्माण सम्पन्न भइसकेकाले जानकारी दिएर खुलामञ्च खाली गर्न लागिएको महानगरपालिकाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *