डेराभित्र मृत भेटिइन् किशोरीः प्रहरी भन्छ आत्महत्या, आफन्त भन्छन् हत्या – Nepal Press

डेराभित्र मृत भेटिइन् किशोरीः प्रहरी भन्छ आत्महत्या, आफन्त भन्छन् हत्या

काठमाडौं । सिन्धुली कमलामाई नगरपालिका-१ कि शारदा पहाडीको मोबाइलमा सोमबार बिहान ११ बजे फोनको घण्टी बज्यो । उनले फोन उठाइन् ।

‘तपाईं दुर्गा पहाडीको आमा हो ?’ उताबाट प्रश्न आयो ।

‘हो हजुर,’ उनले जवाफ दिइन् ।

‘काठमाडौंबाट हामी प्रहरी बोलेको तपाईंको छोरीको लास भेटियो, तुरुन्तै आउनुप¥यो,’ एक प्रहरी अधिकारीले भने ।

दुर्गा छांगाबाट खसैजस्तै भइन् । घरमा एक्लै थिइन् । ज्वाइँलाई फोन गरिन् । अनि हान्निँदै काठमाडौं आइन् ।

मंगलबार आफ्नै आँखाले छोरीको लास देखेपछि उनी सम्हालिन सकिनन् ।

आइतबार १९ वर्षीया दुर्गा पहाडी कुपण्डोलस्थित आफ्नो डेरामा मृत भेटिएकी थिइन् । उनको गलामा नाइलनको डोरीको पासो थियो । महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्ज्वल महर्जनका अनुसार प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरिएको पाइएको छ ।

‘प्रारम्भिक अनुसन्धानमा युवतीले आत्महत्या गरिएको बुझिएको छ । बाँकी रिपोर्ट पोष्टमार्टम र आफन्तहरूसँगको कुराकानी तथा अनुसन्धानपछि आउँछ,’ प्रवक्ता महर्जनले भने ।

यसरी भयो घटना…

गत आइतबार । साँझ नियमित पानी थाप्ने समय । घरबेटीले दुर्गालाई कोठा बाहिरबाट पानी थाप्नका लागि बोलाए । भित्रबाट आवाज आएन । लगातार बोलाइरँदा पनि आवाज नआएपछि ढोका धकेल्न थाले ।

ढोका नखुलेपछि साना बच्चाहरूले उनको कोठामा चियाएर हेरे । भित्रको दृष्य देखेपछि घरबेटीले प्रहरीलाई खबर गरे । साँझ ६ बजे प्रहरी त्यहाँ पुगे ।

‘हामीले ढोका फुटाएर हेर्दा झुण्डिएको अवस्थामा लास फेला पार्‍यौं,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने ।

त्यसरात प्रहरीले आफन्तलाई खबर गर्न खोजे । तर, सम्पर्क हुन सकेन । उनले कुपण्डोलस्थित लुम्बिनी डेन्टल क्लिनिकमा काम गर्ने गरेको अनुसन्धानबाट खुल्यो । त्यहाँका सन्चालक हरि पाण्डेलाई प्रहरीले घटनाबारे खबर गरे । सोमबार मात्र प्रहरीको सम्पर्क दुर्गाको परिवारसँग भयो । प्रहरीले मुचुल्का उठाउँदा उनै पाण्डेसहित, वडा अध्यक्ष, घरबेटीलगायत ५ जनाको हस्ताक्षर रहेको छ ।

हत्याको आशंका

मृतक दुर्गाको परिवारले भने उनको हत्याको आशंका गरेका छन् ।

‘कि त उनको हत्या गरिएको हो, आत्महत्या नै भए पनि कसैले बाध्य पारेरै यस्तो भएको हुनुपर्छ,’ दुर्गाकी दिदीले भनिन् ।

दुर्गा ४ वर्षअघि गाउँमा आमासँगै ज्यालादारी गर्थिन् । उनी साइली छोरी थिइन् । आमाका अनुसार दुर्गा रहरले काठमाडौं आइन् र यतै बसेर काम गर्न थालिन् । लकडाउनअघि उनी अर्कै ठाउँमा काम गर्थिन् । लकडाउनयता भने उनी लुम्बिनी डेन्टलमा काम गर्न थालिन् ।

उनी कुपण्डोलमा डेरा लिएर बस्न थालेकी थिइन् । ‘छोरी डेन्टलमा दाँत हाल्ने र प्रेसर जाँच्ने काम गर्छु भन्थी, त्यो पनि राम्रोसँग थाहा थिएन,’ आमा शारदा भन्छिन् ।

लकडाउनयता दुर्गामा अनौठो स्वभाव देखिएको उनकी आमा बताउँछिन् । ‘लकडाउनमा छोरी घर गइन । डाक्टरले ग्यास र रासन पनि दिएको छ भनेर छोेरीले भनेकी थिई,’ उनी भन्छिन् ।

उनकी दिदी पनि आफूले बहिनीलाई फोन गर्दा ‘फोन नगर्नु भनेर पटक-पटक रिसाएको’ बताउँछिन् ।

‘हामीले फोन गर्दा किन फोन गरेको डाक्टरले मलाई कराउँछ भनेकी थिई । कहिले नम्बर दिनभरि ब्ल्याक लिस्टमा हाल्थी । कहिले अफ गर्थी । फोन गरेको देख्यो भनेर डाक्टरले मोबाइल खोसेर लान्छ, भन्थी,’ उनकी दिदी भन्छिन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता महर्जन परिवारको जाहेरीका आधारमा बाँकी अनुसन्धान अघि बढ्ने बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर