तीन नेताको मूल्यांकनमा ओली सरकारका तीन वर्ष (भिडियोसहित) – Nepal Press

तीन नेताको मूल्यांकनमा ओली सरकारका तीन वर्ष (भिडियोसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले तीन वर्ष पूरा गरिसकेको छ । अहिले सरकारको विभिन्न मूल्यांकन भइरहेको छ । सरकारले भने आफ्नै दलभित्रका नेताको असहयोगका बाबजूद पनि थुप्रै काम गरेको भन्दै फेहरिस्त पस्किरहेको छ।

यस्तै मेसोमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)  र मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का नेताले पनि आफ्नो मूल्यांकन पेश गरेका छन् ।

मंगलबार राजधानीमा आयोजित रिपोर्टस् क्लबको कार्यक्रममा कांग्रेस नेता आनन्द ढुंगाना, नेकपा नेता देवेन्द्र पौडेल र क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले सरकारबारे आफ्नो मूल्यांकन सुनाए।

नेकपा नेता पौडेलले आफूहरुको जोडबलका बाबजूद सरकारले नियमित काम बाहेक कुनै पनि लोकप्रिय काम नगरेको टिप्पणी गरे। ‘घेराबन्दी गरेर जबरजस्ती गर्दा हुनुपर्ने केही नियमित काम कुरा भएका छन्’ उनको भनाइ छ, ‘त्यस बाहेक सरकारको कुनै पनि लोकप्रियता छैन ।

आत्मरति र आत्मप्रशंसा बाहेक केही पनि छैन । छाती खोलेर छाती ठोकेर यो सरकारले यो कार्यकालमा सबभन्दा राम्रो यो काम गर्यो भनेर भन्ने स्थिति छैन ।’

सरकार चलाउन पाएको निकै अनुकूल समय प्रधानमन्त्रीले खेर फालेको उनको आरोप छ । पौडेल भन्छन्– आफ्नो पार्टी र विपक्षीले समेत सहयोग गरेका थिए । पाँच वर्षका लागि मानसिक र भौतिकरूपमा आफूलाई तयारी राखेर प्रधानमन्त्रीले यस्तो निकै अनुकूल स्थितिमा पनि आफूले प्राप्त गरेको अवसर गुमाएर एक्लै गीत गाउँदै, आत्मरति गरेर हिंड्नुभएको छ ।

नियमित काम मात्रै गरेको भन्दै सरकार पूर्ण असफल भएको टिप्पणी कांग्रेस नेता ढुंगानाको छ । उनको मूल्यांकन छ–कुनै मलाई बताइदिनुहोस् राष्ट्रिय गौरवका आयोजना उहाँले सम्पन्न गर्नु भएको भए । नियमित काम गरेको आधारमा मैले यो गरेँ, उ गरेँ भन्नुभएको छ । अर्थमन्त्रीले बजेटमा कटौती गर्नुभएको छ । राजश्व उठिरहेको छैन । त्यसैले यो सरकार पूर्ण असफल छ ।

नेता ढुंगाना यो पक्ष सफल र त्यो पक्ष असफल भन्दा पनि सिंगो कम्युनिष्ट पार्टी नै असफल भएको दाबी गर्छन् । ‘जसलाई पाँच वर्षका लागि नेपाली जनताले विश्वास गरेर दुई तिहाइसम्म मत दियो, त्यो असफल भएको हो’ उनको भनाइ छ, ‘यहाँ को सफल, को असफल भन्दा पनि सम्पूर्ण कम्युनिष्ट पार्टी असफल भएको हो । अब कम्युनिष्टले भन्न पाउँदैन कि हामी भएको भए यस्तो गर्थ्याैं ।’

क्रान्तिकारी माओवादीका नेता गजुरेलले तीन वर्षका उपलब्धिका रूपमा प्रधानमन्त्री ओलीले झुटको पुलिन्दा फुकाएको टिप्पणी गरेका छन्। ‘ओलीजीले हिजो जुन झुटको पुलिन्दा फुकाउनुभयो’ गजुरेल भन्छन्, ‘केही पनि नभएको कुरालाई यो भयो र त्यो भयो भनेर उहाँले अढाइ घण्टा भाषण गर्नुभयो । उहाँहरू आफैं पनि स्वीकार गर्नुहुन्छ कि तीन वर्षीय कार्यकालमा केही पनि भएन ।’

गजुरेल सरकार मात्रै नभई अहिलेको व्यवस्था समेत असफल भएको दाबी गर्छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर