बंगलादेशको मोडलमा चुनाव गर्न खोजिएको प्रचण्डको आशंका – Nepal Press

बंगलादेशको मोडलमा चुनाव गर्न खोजिएको प्रचण्डको आशंका

काठमाडौं । विभाजित नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वंगलादेशको मोडलमा चुनाव गराउने खेल भइरहेको आशंका जनाएका छन् । उनले प्रतिनिधिसभा पुनःस्थापना भएन भने त्यसपछि हुने चुनाव असंवैधानिक,अवैधानिक र अलोकतान्त्रिक हुने बताएका छन् ।

चितवनमा मंगलवार विहान पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘अदालतको फैसला अन्यथा आयो र चुनाव हुने भयो भने पनि त्यो असंवैधानिक, अवैधानिक र अलोकतान्त्रिक हुनेछ । कसैले त बंगलादेशको मोडलमा अवैधानिक ढंगले गर्न लागिएको चुनाव पनि भन्न थालेका छन् ।’

गृहजिल्ला पुगेका प्रचण्डले यदि प्रतिनिधिसभा पुनःस्थापना भएन र चुनावतिर मुलुक गयो भने आफ्नो नेतृत्वको पार्टीले भाग नलिने संकेत गरे ।

उनले  भने, ‘चुनावतिर मुलुक गयो भने मेरो नेतृत्वको पार्टीले के गर्छ भन्‍ने कुरा मेरो भनाइबाटै तपाईंहरूले बुझिसक्नुभयो । तर, त्यसपछि दक्षिणपन्थी र वामपन्थी अतिवादले अराजकताको भूमरी सिर्जना गर्छ । म त शान्तिपूर्ण राजनीतिमा रहन्छु तर मुलुक अराजकतामा जान्छ ।’

प्रचण्डले संयुक्त आन्दोलनमा जानका लागि आफूले कांग्रेस सभापति शेरवहादुर देउवासँग पनि सोमवार कुरा गरेको बताए । जसपासँग पनि कुरा भइरहेको र मिलेर आन्दोलन गर्दा एक सातामा छिनोफानो हुने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर