कोरोनासँग भिड्दै संक्रमितलाई योग सिकाउने ‘योगीराज’ – Nepal Press

कोरोनासँग भिड्दै संक्रमितलाई योग सिकाउने ‘योगीराज’

रूपन्देही । कोरोनाभाइरस संक्रमणको महामारी शुरू भएपछि योगसाधक विष्णुहरि आचार्य (योगीराज) को दिनचर्या फेरियो । डेढ दशकदेखि योग अभियान चलाइरहेका योगीराज समुदायस्तरमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि रूपन्देहीका क्वारेन्टिन र आइसोलेसनमा पुगेर योग सिकाउँदै आफ्नो दैनिकी फेर्न थालेका हुन् ।

नेपालमा कोरोना महामारीको सन्त्रासले गत वर्षको चैतदेखि भएको लकडाउनमा धेरै मान्छे घर बाहिर निस्कन सकेनन् । बाध्यता र विवशताले निस्केका पनि कोही कसैको नजिक पर्न, सहयोग गर्न सकेनन् । तर योगीराजले निरन्तर आफ्नो अभियानलाई जारी राखे । आचार्यसँग यो बीचमा योग सिक्ने मान्छे फेरिए । आइसोलेसन र क्वारेन्टिन फेरिए तर उनको दैनिकी कोरोना महामारी शुरू भएपछि लामो समय एउटै रफ्तारमा बित्यो ।

लुम्बिनी आयुर्वेदिक अस्पताल बुटवलमा कार्यरत वैद्य विष्णुहरि आचार्य (योगीराज) को दिनचर्या एकाएक परिवर्तन भएर क्वारेन्टिन हुँदै आइसोलेसन सेन्टरमा केन्द्रित भएको थियो । त्यतिमात्र होइन रूपन्देही आसपासमा रहेका विभिन्न क्वारेन्टाइनमा पुगेर योगसाधना, जडीबुटीको महत्वका विषयमा उनले निरन्तर सिकाउने अभियान चलाए ।

छिमेकी मुलुक भारतमा कोरोनाभाइरस संक्रमणको दर उच्च देखिन थालेपछि नेपालस्थित आफ्नो गाउँ फर्केकाहरूलाई क्वारेन्टिनमा राख्न शुरू भएसँगै स्थानीय निकायहरूले त्यस्ता व्यक्तिलाई योग, नाचगान र जडीबुटी सेवन गराउन थालेपछि योगीराजको दैनिकी परिवर्तन भएको हो । चैतको तेस्रो सातादेखि क्वारेन्टिनमा बसेकाहरूलाई योगाभ्यास गराउँदै आएका योगीराजले अहिले पनि त्यही काम गरिरहेका छन् ।

कोरोना संक्रमित राख्न बुटवल उपमहानगरपालिकाको वडा नं ११ देवीनगरस्थित एन्फा टेक्निकलमा आइसोलेसन निर्माण गरिएको थियो ।

आचार्य तिनै संक्रमितलाई योग सिकाउन हरेक दिन बिहान ६ बजे आइसोलेसन सेन्टर पुग्ने र त्यहाँ कोरोना पोजेटिभ लक्षणसहितका बिरामीलाई ऊर्जा थप्ने काम गर्दथे । पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ आएकाहरूको मनलाई आचार्यले योग सिकाएर सम्हालिदिएका छन् ।

संक्रमितहरू आइसोलेसन सेन्टरको कम्पाउन्डभित्र हुन्थे । योगीराज आचार्य कम्पाउन्डभन्दा बाहिर २० मिटर टाढाको भौतिक दूरी बनाएर योग सिकाउँथे । संक्रमितलाई योग सिकाउँदा–सिकाउँदै आचार्य आफैं पनि संक्रमित भए । तर पनि आइसोलेसनमा बसेर योग सिकाउन छाडेनन् ।

‘म संक्रमितलाई सिकाउँदा–सिकाउँदै संक्रमित भएँ । तर, योग सिकाउन छाडिनँ’, उनले भने । उनले आइसोलेसनमा योग र आयुर्वेदको महत्वबारे सचेतना बढाउने काम गरे ।

आइसोलेसनमा बस्ने संक्रमितलाई विभिन्न जडीबुटी र आयुर्वेदिक औषधिहरू पनि दिंदै योगमार्फत सकारात्मक सोच ल्याउने काम गरेका थिए ।

लुम्बिनी प्रदेशमा संक्रमितको संख्या बढ्न थालेपछि सामाजिक विकास मन्त्रालयले योगबाट तनाव व्यवस्थापन गर्नका लागि भन्दै एक निर्देशिका पनि जारी गरेको थियो । त्यही निर्देशिकालाई आधार बनाएर योग प्रशिक्षक तथा वैद्यहरू संक्रमितहरूलाई योग–ध्यानसहित मनोसामाजिक परामर्श दिंदै आए ।

‘धेरै समस्याको समाधान योग ध्यानमा मात्रै छ । त्यसैले संक्रमितलाई योग अभियानसँग जोडेर कोरोना न्यूनीकरण गर्दै आम नागरिकमा सकारात्मक ऊर्जा दिन योग अभियान अघि बढाएको हुँ’, उनले भने ।

योग सार्वजनिक, सार्वभौमिक र सर्वकालिक विज्ञान भएकाले यसको आवश्यकता कोरोना महामारी नआउँदा पनि रहेको र महामारीपछि महत्व अझै बढेको आचार्यले बताए । ‘जब महामारी र विपत्को अवस्था आउँछ अनि नागरिकहरूमा त्रास र मनोसामाजिक असर पर्दछ ।

जसले आत्मबल कमजोर पार्नेदेखि रोग प्रतिरोधक क्षमतामा ह्रास ल्याउँछ । त्यस अवस्थामा मनोपरामर्श र योग ध्यानको महत्वपूर्ण भूमिका हुन्छ’, योगीराज आचार्य भन्छन् ।

संक्रमितको मनोबल बढाउन ध्यान, प्राणायाम र भजन–कीर्तनलाई उनले प्राथमिकतामा राखेर काम गरे । मन्त्रयोग, राजयोग, हठयोग र लययोग जोडेर योग सिकाए । ‘शुरू–शुरूमा संक्रमितहरू योग सिक्न खासै इच्छुक देखिएनन् । त्यसपछि गीत र भजनमा नृत्य गराइयो । उनीहरू नाच्न थाले । नृत्यसँगै योग पनि सिक्दै गए’ उनी भन्छन् ।

कोरोना महामारीबीच उनी रूपन्देहीका बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, देवदह, मर्चवारीमाई, समरीमाई, मायादेवी, गैडहवा, शुद्धोधन, कोटहीमाईका क्वारेन्टिन र आइसोलेसनमा पुगेर हजारौंलाई योग, ध्यानका माध्यमबाट कसरी तनाव व्यवस्थापन गर्ने र चिन्ता हटाउने, साहस बटुल्ने भनेर प्रशिक्षण दिइसकेका छन् ।

आचार्यलाई शुरू शुरूमा क्वारेन्टिनमा पुगेर योग सिकाउँदा केही डर पनि लाग्यो । एक–दुई ठाउँमा गएर सिकाएको ठाउँमा एक–दुई जनामा संक्रमण पनि देखियो । त्यो सुन्दा त एकछिन डर पनि लाग्यो उनलाई । त्यसपछि विस्तारै उनमा डर कम हुँदै गएको स्मरण गर्दछन् ।

डरत्रास कायमै रहे पनि उनको योग, साधना र ध्यान गराउने, ऊर्जा थप्ने, साहस बटुल्न सघाउने, कुराकानी गर्ने अभियान रोकिएको छैन ।

अहिले कोरोना संक्रमितको संख्या न्यून भएको छ तर उनले भने आफ्नो अभियानलाई जारी राखेका छन् । विभिन्न स्थानमा योगसाधना सिकाउने र नागरिकलाई ऊर्जा थप्ने कार्य रोकेका छैनन् । विद्यालय, पालिकाहरूमा पुगेर पनि योग तथा जडीबुटीको महत्वबारे अभियान चलाएका छन् ।

आइसोलेसनमा पनि निरन्तर सम्हाले जिम्मेवारी

आफू संक्रमित हुँदा पनि विष्णुहरि आचार्य (योगीराज) योग सिकाउनमै केन्द्रित रहे । कोरोना संक्रमणपछि उनी बुटवलको एन्फा टेक्निकलमा रहेको आइसोलेसनमा बसेका थिए । त्यसबखत उनले त्यहाँ रहेका संक्रमितलाई योग सिकाएर आफ्नो दैनिकी कटाए ।

महामारीका कारण मुलुक लकडाउन भएपछि समाजमा डर त्रास बढेको अवस्थामा उनले संभावित संक्रमितहरू रहेका क्वारेन्टाइनहरूमा योग शिक्षाका साथै योग सिकाउँदै आएका थिए । क्वारेन्टाइनमा दिन विताइरहेकाहरूको मनोबल उच्च राख्न उनले खेलेको भूमिकाले उनको चर्चा बढ्दै गएको आइसोलेसनमा बसेर फर्केका उमेश कुँवरले बताए ।

आइसोलेसन केन्द्रहरूमा संक्रमितहरूलाई दिन विताउन गाह्रो हुने अवस्थामा योगीराजको योग शिक्षाले उनीहरूको दैनिकी बदलिदिएकोे र दैनिक योगले कोरोना जित्न बल पुगेको महसूस भएको कुँवरले बताए । त्यो आइसोलेसनमा बसेका सबैले योगीराजको प्रशंसा गर्दै निस्केको व्यवस्थापन समिति संयोजक तथा वडाध्यक्ष रामचन्द्र क्षेत्रीले बताए । जसको फलस्वरूप उनी ती संक्रमितहरूको मनमा बस्न सफल भए ।

उनको चर्चा बढिरहेकै अवस्थामा कोरोनाबाट टाढा हुन योगीराज पनि सकेनन् । कोरोना विरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिरहेकै अवस्थामा उनी आफैं कोरोना संक्रमित भए । कोरोना संक्रमित भएपछि उनले आफ्नै निवासमा होम आइसोलेसनमा बस्ने निधो गरेनन्, जसको एउटा कारण थियो योगप्रतिको उनको लगाव ।

उनी जहाँ योग सिकाउँदै आएका थिए, त्यहीं जाने निधो गरे । बुटवल देवीनगरस्थित एन्फा आइसोलेसन केन्द्रमा गए । संक्रमित हुनुपूर्व त्यही केन्द्रमा सयौं संक्रमितलाई योग शिक्षा दिएका उनी आफैं संक्रमित भएपछि यहाँ रहेका संक्रमितहरूसँग २४सै घण्टा विताउन थाले ।

उनले आफूले प्रदान गर्दै आएको योग शिक्षामा कम गरेनन् । झन् बढी समय दिएर दैनिकी विताए । कोरोना पोजेटिभ भएर आइसोलेसनमा बस्दा उनले मनोबललाई बलियो र दह्रो बनाउने कला सिकाउनेदेखि खानपान, आहार–विहार सम्बन्धी शिक्षा दिने काम जारी राखे ।

आफू संक्रमित हुनु अगाडि योग–ध्यानद्वारा कम्पाउन्ड बाहिरबाट संक्रमितहरूलाई मनोपरामर्श दिंदै आएका उनी संक्रमित भएपछि कम्पाउन्डभित्रै रहेर उनीहरूको मनोबल बढाएको आचार्य स्मरण गर्छन् ।

सरकारको मापदण्डका आयुर्वेदिक औषधिका साथै स्थानीय ठाउँमा पाइने रोग प्रतिरोधक जडीबुटी जसले एन्टिभाइरलको काम पनि गर्दछन् त्यस्ता औषधिजन्य जडीबुटीको यथोचित प्रयोगको जानकारीका साथै योग, प्राणायाम र ध्यान तथा उनीहरूको मनोबल वृद्धि गर्नु उनको नियमित अभियान थियो ।

योग, प्राणायाम र ध्यानद्वारा मनमा आएका तनाव हटाउन सकिने बताउँदै उनी भन्छन्, कोरोनाले आम नागरिकको मन त्रासमय बनाएको, मनोबलका साथै आत्मबल कमजोर बनाएकोे अवस्थामा योगको माध्यमबाट मनोबललाई बलियो र दह्रो बनाउन त्यस किसिमको कला सिकाउन लागिपरेको र परिणाम पनि राम्रै आएको हो । योगसँगै नचाउने, हँसाउने, आहारविहार र बिहानदेखि बेलुकासम्म फ्रेस हुने वातावरण बनाउँदै संक्रमितहरूको मनोबल वृद्धि गर्दै रोगसँग लड्ने शक्ति वृद्धि गर्ने आँट बढाइदिने मुख्य लक्ष्य आफूले राखेर काम गरेको उनले बताए ।

योग शिक्षाले मानिसको दैनिकीमा सकारात्मक प्रभाव पार्ने र शरीर स्वस्थ राख्न मद्दत मिल्ने उल्लेख गर्दै आचार्य भन्छन्, आइसोलेसन सेन्टर तथा क्वारेन्टाइनमा बसेकाहरूलाई योग शिक्षाले तनावमुक्त बनाउनेदेखि सहजरूपमा दिन बिताउन मद्दत मिल्यो, योगलाई शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त राख्ने उपयुक्त विधि अहिलेको महामारीबाट प्रमाणित भएको आचार्य तर्क गर्दछन् ।

मानिसलार्ई निरोगी, स्वस्थ राख्न योगको महत्व बढी हुने बताउँदै भन्छन्, अहिलेको महामारीमा जोसुकैले पनि योग अभ्यास गर्दा राम्रो हुने भएकाले आइसोलेसनमा योग अभ्यास प्रभावकारी देखियो, योग प्रशिक्षकका क्रममा नाचगानसहित विभिन्न योगासन तथा ध्यान विधिबारे सिकाएको उनी स्मरण गर्छन् ।

यसरी लाग्यो योगसाधनाको लत

अर्घाखाँचीको भूमिकास्थानमा जन्मिएका उनी युवावस्थादेखि नै योगमा चासो राख्थे । आयुर्वेदमा हेल्थ असिस्टेन्ट गरेका उनले बुटवलमै आयुर्वेद औषधि पसल खोले । यसबीचमा पतञ्जली योगसँग नजिक भए । भारतको हरिद्वारमा पुगेर योग प्रशिक्षण लिए ।

प्रशिक्षण लिएर फर्किएपछि बुटवल कालिकापथ मन्दिरमा शुल्क लिएर योग गराउन शुरू गरे । २०६४ सालतिर हो, उनीसहित योगमा चासो राख्नेहरू मिलेर पतञ्जली योग समिति नेपाल नामक संस्था खोले । उनी सचिव भए । साबिकको अञ्चल समितिको अध्यक्ष भए ।

अहिले प्रदेशको सदस्य र अन्नपूर्ण आश्रम नेपालको प्रदेश संयोजक छन् । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको प्रदेश संयोजक पनि हुन् उनी । यहीबीचमा लोकसेवा लडेर उनी ६ वर्षअघि लुम्बिनी आयुर्वेद चिकित्सालयमा कार्यरत छन् ।

‘म अब जीवनभर नै योगसाधना र आयुर्वेदकै क्षेत्रमा लाग्छु, मैले यसलाई नै आफ्नो करिअर बनाएँ, योगको अभियानलाई नै निरन्तरता दिन्छु’, उनी भन्छन् ।

जीवन सहज बनाउन के गर्ने ?
१. बिहान छिट्टै उठ्ने
२. मनतातो पानीले मुख कुल्ला गर्ने
३. बिहानीको घाम ताप्ने
४. बिहान कम्तीमा ४५ मिनेट अनुलोम–विलोम, कपालभाँति, भ्रामरी, भस्त्रिका, ध्यान, सूर्य नमस्कार आदि योग–ध्यान गर्ने
५. बिहान खाली पेटमा एक चम्चा च्यवनप्राश मनतातो पानीसँग खाने
६. ४–५ वटा तुलसीका पात, सानो टुक्रा अदुवा, दुई दाना मरिच, एउटा अलैंची, एउटा सानो टुक्रा दालचिनी हालेर पकाएको चिया खाने
७. कागती–पानी खाने
८. तुलसी चिया, गुडुची चिया वा बुढीऔंला बराबरको मोटाइ र लम्बाइ भएको गुर्जो थिचेर लगभग दुई ग्लास पानीमा उमालेर आधा पारी चिया जस्तै पिउने
९. सुन्तला, अंगुर, अमला आदि अमिलो फलफूल सिजन अनुसार खाने
१०. थोरै ड्राइ फ्रुट्स खाने
११. खानामा लसुन, अदुवा, धनियाँ, जिराको मसला प्रयोग गर्ने
१२. रात्रिकालमा हल्का भोजन गर्ने
१३. राति सुत्नुभन्दा अघि एक चम्चा बेसार हालेको मनतातो दूध खाने ।
१४. ७ देखि ८ घन्टा सुत्ने
१५. सुक्खा खोकी वा घाँटी खसखस भएको खण्डमा १ ग्राम ल्वाङ, सुकुमेल, अदुवा चुस्ने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *