आन्दोलनको मञ्चबाट निर्वाचनको पक्षमा देउवाको लगातार भाषण – Nepal Press

आन्दोलनको मञ्चबाट निर्वाचनको पक्षमा देउवाको लगातार भाषण

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई ‘असंवैधानिक र अलोकतान्त्रिक’ करार गरेर नेपाली कांग्रेसले आन्दोलन थालेको सोमबार ५० दिन पूरा भयो । तर, अझैसम्म पनि कांग्रेस नेतृत्वभित्र संसद पुनर्स्थापना सम्बन्धमा नीतिगत विरोधाभास अन्त्य भएको छैन ।

पुस १३ गते देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गरेर कांग्रेसको आन्दोलन सुरु भएको थियो । त्यसयता कांग्रेसले पुस २५ गते ३३० प्रदेश निर्वाचन क्षेत्र, माघ ३ गते ७५३ पालिका तथा माघ ८ गते ६ हजार ७४३ वटा वडामा प्रदर्शन र विरोध सभा गर्‍यो । त्यस्तै माघ १९ गते भ्रातृ संस्था र माघ २४ गते शुभेच्छुक संस्थाको संयोजनमा कांग्रेसले देशैभरि प्रदर्शन गर्‍यो । सोमबार जिल्ला कार्यसमितिको संयोजनमा देशैभरि कांग्रेसका सभा सम्पन्न भएका छन् ।

५० दिनसम्म आन्दोलन गरे पनि कांग्रेसको धारणा भने समान ढंगले प्रवाहित हुन सकेन । सभापति शेरबहादुर देउवाले सबैजसो सभामा आन्दोलनभन्दा निर्वाचनको पक्षमा आफूलाई घुमाउरो तरिकाले उभ्याएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले भने निर्वाचनभन्दा संसद पुनःस्थापनाका लागि आन्दोलन गर्नुपर्नेमा जोड दिएका छन् ।

संसद विघटनलगत्तै पुस ७ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकमै आन्दोलनबारे मतान्तर देखिएको थियो । संस्थापन पक्षले अदालतमा मुद्दा विचाराधीन भएकोले फैसला कुर्नुपर्ने बताउँदै आयो भने पौडेल पक्षले आन्दोलनको अडान राखिरह्यो । पौडेल पक्षको अडानका कारण आन्दोलनका कार्यक्रम घोषणा गर्न सभापति देउवा तयार त भए तर आन्दोलनको भाषा बोल्न भने तयार देखिएनन् । यही कारण पौडेल पक्षले देउवाको तन आन्दोलनमा, मन निर्वाचनमा भएको आरोप लगाउँदै आएको छ ।

कांग्रेसकाे आधिकारिक निर्णयमा संसद विघटनको ‘असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध आन्दोलन’ गर्ने उल्लेख छ । यद्यपि कांग्रेस सभापति देउवाले कुनै पनि विरोधसभामा ‘आन्दोलनको भाषा’ बोलेका छैनन् । पुस १३ गते भक्तपुरमा आयोजित सभामा बोल्दै देउवाले अदालतमा विचाराधीन मुद्दामा कांग्रेसले दबाब नदिने बताए । उनले संसद पुनःस्थापनाका लागि कांग्रेसले सडकबाट नारा लगाउन नहुने विचार राखेका थिए ।

देउवा भन्छन्ः अदालतको फैसला मान्छौं, त्यतिन्जेल एक्लै प्रदर्शन गर्छौं

पुस २५ गते काठमाडौंको बूढानीलकण्ठमा आयोजित सभामा त सभापति देउवाले ‘कांग्रेसले चुनावको तयारी थाल्नुपर्ने’ नै बताए । सो सभामा देउवाले प्रधानमन्त्री ओली भोट माग्न हिंडिसकेको भन्दै कांग्रेस चुनावमा जाने र प्रचण्ड पक्ष पनि चुनावमा जानुको विकल्प नरहेको बताएका थिए ।

देउवाले भने– अदालतलाई दबाब नदिऊँ, प्रचण्डहरु पनि चुनावमा आउँछन् (भिडियोसहित)

पार्टीले आन्दोलनको निर्णय गरे पनि सभाहरुमा सभापति देउवाका अभिव्यक्ति निर्वाचन केन्द्रित थिए । निर्वाचनभन्दा आन्दोलनलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै आएको पौडेल पक्षले यहीकारण सभापति देउवाले आन्दोलनमा जाँगर नचलाएको निष्कर्ष निकालेको थियो ।

चाक्सीबारीमा रामचन्द्र पक्षको बैठक- देउवाले आन्दोलनमा जाँगर नदेखाएको निष्कर्ष

पौडेल पक्षले लगाएका आरोपको बेवास्ता गर्दै आएका देउवाले आन्दोलनको सभादेखि पार्टीका औपचारिक कार्यक्रममा समेत संसद पुनःस्थापनाको एजेण्डा उठाएका छैनन् । देउवा पक्षका अन्य नेता पनि पुनःस्थापनाभन्दा निर्वाचनमा जाँदा नै पार्टीलाई लाभ हुने निष्कर्षमा छन् । माघ २९ गते पार्टी कार्यालयमै आयोजित जनजाति विभागको कार्यक्रममा पनि सभापति देउवाले अदालतको काममा कांग्रेसले दबाब नदिने बताए ।

‘अदालतले निर्वाचनमा जान भन्यो भने कांग्रेस निर्वाचनमै जान्छ । संसद पुनःस्थापना गर्‍यो भने संसदमा जान्छ । यसबारेमा कांग्रेसले कुनै दबाब दिंदैन’, सभापति देउवाले भनेका थिए ।

जुलुसमा नारा लगाएर अदालतलाई यही गर् भन्न मिल्दैन: सभापति देउवा

सोमबार पनि रुपन्देहीमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले निर्वाचन आयोगले तत्काल कार्यतालिका सार्वजनिक गर्नुपर्नेमा जोड दिए । यसबाट सभापति देउवा निर्वाचनमा जान आतुर रहेको पुष्टि हुन्छ । निर्वाचनको पक्षमा भए पनि पौडेल पक्षको दबाबकै कारण ५० दिनसम्म कांग्रेसले विभिन्न आन्दोलन गर्‍यो । शक्ति प्रदर्शन र केन्द्रीकृत सभाभन्दा कांग्रेसको आन्दोलन विकेन्द्रित हुने गरेको थियो ।

पौडेल पक्षले अब सरकारविरुद्ध कडा आन्दोलन र ठूला सभाको प्रस्ताव लैजाने तयारी गरेको छ । यद्यपि यसबारे फागुन ५ गते बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठकले निर्णय दिने सम्भावना कम छ । किनकि सभापति देउवा सो बैठकबाट पार्टी महाधिवेशन स्थगित गर्ने निर्णय मात्रै लिन चाहन्छन्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर