महिला राष्ट्रिय लिग फुटबलमा एपिएफको अपराजित यात्रा कायमै – Nepal Press

महिला राष्ट्रिय लिग फुटबलमा एपिएफको अपराजित यात्रा कायमै

काठमाडौं । उपहार गोलबाट अग्रता लिएको एपिएफले पुलिसमाथि २–१ को संघर्षपूर्ण जित निकाल्दै राजधानीमा जारी महिला राष्ट्रिय लिगमा अपराजित यात्रालाई सोमबार पनि निरन्तरता दिएको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न सोमबारको पहिलो खेलमा एपिएफले पुलिसलाई २–१ ले हराउँदै जितको लयलाई निरन्तरता दिएको हो ।

पहिलो हाफ गोल रहित बराबरी खेलेका विभागीय डर्बीमा पुलिसले ६९औं मिनेटमा उपहार गोल दिएपछि आफै दबाबमा परेको थियो । घिम कुमारी गुरुङले गोल गर्दा एपिएफले अग्रताको अवसर पाएको थियो । दबाब दिँदै खेल पस्किएको पुलिसका लागि अमृता जैशीले ७५औं मिनेटमा गोल गर्दै एपिएफविरुद्ध खेल बराबरीमा ल्याएकी थिइन् ।

अघिल्ला खेलमा फराकिलो जित निकाल्दै अपराजित यात्रालाई कायम राखेको एपिएफले खेल सकिन चार मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी रविना गोलले गोल गर्दै एपिएफको अग्रता २–१ मा पु¥याइन् । त्यसपछि दबाबमा परेको पुलिसले खेलमा फर्किन निकै प्रयास गरे पनि सफल हुन सकेन र एपिएफले पुलिसमा संघर्षपूर्ण जित निकाल्न सफल भयो ।

रोमाञ्चक जित निकालेको एपिएफले १० औं खेलमा अपराजित यात्रालाई निरन्तरता दिँदा उपाधि नजिक पुगेको छ । १० खेलबाट स्पष्ट ३० अंक जोडेको एपिएफ शीर्ष स्थानमा यथावत रहँदा अंक गुमाएको पुलिसको १० खेलबाट १४ अंक भएको छ । पराजयसँगै पुलिसको उपाधि उचाल्ने समिकरण समाप्त भएको छ ।

लिग अन्तर्गत सोमबार नै सम्पन्न दोस्रो खेलमा विराटनगर महानगरपालिकाले वालिङ नगरपालिका स्याङ्जालाई १–० ले स्तब्ध बनाएको छ । ३५औं मिनेटमा भारतीय खेलाडी आशा कुमारीले गरेको गोल निर्णायक बनेको थियो । विपक्षी खेलाडीले लडाएपछि प्राप्त फ्रिकिकमा आशा कुमारीले बललाई जाली चुमाउन सफल भएकी थिइन् । पहिलो हाफ लिएको अग्रता पछि दोस्रो हाफमा खेलमा फर्किने संघर्ष गरेको वालिङले पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा अंक सुम्पिन बाध्य भएको हो ।

जितसँगै विराटनगरले १० खेलबाट १३ अंक जोडेको छ । विराटनगर तालिकाको पाँचौ स्थानमा रहँदा अंक सुम्पिएको वालिङको १४ अंक छ । वालिङ तालिकाको तेस्रो स्थानमा छ । पुुलिससँग समान अंक भए पनि गोल अन्तरका आधारमा वालिङ तेस्रो स्थानमा अटाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर