ओलीपक्षीय उद्योग व्यवसायी महासंघको संयोजकमा एलपी साँवा चयन – Nepal Press

ओलीपक्षीय उद्योग व्यवसायी महासंघको संयोजकमा एलपी साँवा चयन

काठमाडौं । केपी ओली नेतृत्वको नेकपा सम्बद्ध उद्योगी व्यवसायीहरुको नेतृत्व गर्ने जिम्मेवारी विघटित प्रतिनिधिसभाका सदस्य एलपी साँवा लिम्बुले पाएका छन् । व्यवसायीसमेत रहेका लिम्बुलाई सोमवार काठमाडौंमा सम्पन्न राष्ट्रिय उद्योगी व्यवसायी संगठनको भेलाले संयोजक चयन गरेको हो ।

यसअघिका संयोजक लक्ष्मीदास मानन्धर ९० वर्ष कटिसकेकाले स्वास्थ्यका कारण जिम्मेवारी लिन नसकेपछि साँवालाई संयोजक चयन गरिएको आयोजकले जनाएका छन् । त्यस्तै सहसंयोजक श्याम थापा प्रचण्ड-माधव पक्षमा लागेकाले उनलाई पनि हटाइएको छ ।

सहसंयोजकमा भीमलाल पौडेल र परशुराम अधिकारी चयन भएका छन् । भेलाले ९ सदस्यीय सचिवालय पनि चयन गरेको छ । सचिवालयमा डेगनाथ गौतम, बालकृष्ण शिवाकोटी, खोपनिधी लोहनी, डिबी बस्नेत, दिपक जैसी र निरज राई रहेका छन् ।

भेलाले साबिक राष्ट्रिय उद्योगी व्यवसायी महासंघको कमिटि बिस्तार गरि ८५१ सदस्यीय बनाएको छ । संगठनको इन्चार्जको रुपमा परराष्ट्रमन्त्री तथा नेकपा ओली पक्षका प्रवक्ता प्रदिप ज्ञवाली तोकिएका छन् ।

महासंघको माग बमोजिम उद्योगी व्यवसायीका समस्या समाधान गर्न अर्थमन्त्रालयले टास्कफोर्स गठन गरेको र उद्योग मन्त्रालयले पनि समस्याहरुको बारेमा छलफल गर्न टास्कफोर्स बनाउने साँवाले बताए ।

सोमवारको भेलालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, उर्जामन्त्री टोपवहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसमेतले सम्बोधन गरेका थिए ।

भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उत्पादन बढाउने र रोजगारी सृजना गर्ने काममा बढी ध्यान दिन उद्योग व्यवसायीहरूलाई आह्वान गरेका थिए ।

प्रधानमन्त्रीले भने, ‘सकेसम्म हाम्रा जमिन, जंगल, जडिबुटी आदिको कसरी अघिकतम् सदुपयोग गर्न सकिन्छ । त्यतापट्टी लाग्नुस् । सरकारले पूर्ण सहयोग गर्छ । यो सरकार हुतिहारा खालको सरकार होइन । दृढता भएको केही गरौं भन्ने सरकार हो ।’

प्रधानमन्त्रीले बैंक र वित्तीय संस्था फस्टाउन भन्ने पक्षमा आफू रहेको तर त्यसबाट ऋण लिएर काम गर्ने व्यवसायीहरु पनि त्यसको सावाँ व्याज तिर्न सक्ने अवस्था हुनुपर्ने बताए ।

कोभिड १९ले पारेको प्रतिकुल अवस्थाका बावजुद नेपालको आर्थिक अवस्था नखस्किएको उल्लेख गर्दै प्रधानमन्त्रीले अहिलेको प्रगति कायम राख्न सकिए सन् २०२२ सम्ममा दोहोर अंकको आर्थिक वृद्धि हासिल गर्न सकिने अवस्था रहेको समेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर