नेपालमा बीजेपी विस्तार गर्ने अमित शाहको अभिव्यक्तिको भारतमा विरोध (भिडियो) – Nepal Press

नेपालमा बीजेपी विस्तार गर्ने अमित शाहको अभिव्यक्तिको भारतमा विरोध (भिडियो)

कांग्रेस आई र कम्युनिस्ट पार्टीले भने– नेपाली जनतासँग हात जोडेर माफी माग

काठमाडौं । नेपाल र श्रीलंकामा पनि भारतीय जनता पार्टी (बीजेपी) को संगठन विस्तार गरेर सरकार बनाउनुपर्ने कुरा भारतका गृहमन्त्री तथा बीजेपीका पूर्व राष्ट्रिय अध्यक्ष अमित शाहले गरेकै हुन् ?

आन्तरिक बैठकमा अमित शाहले भारतका सबै प्रदेशमा जितेर मात्र पुग्दैन श्रीलंका र नेपालमा जित्न बाँकी नै छ भनेको भनी त्रिपुराका मुख्यमन्त्री विप्लव देवले सार्वजनिक रुपमा बोलेपछि यसले भारतमा तरंग सिर्जना गरेको छ ।

लामो समय कम्युनिष्टको गढ रहेको त्रिपुरामा बीजेपीले सरकार बनाएको र अन्य प्रदेशमा पनि जितिरहेकोमा उत्साहित हुँदै एक आन्तरिक छलफलमा नेताहरुले शाहको प्रशंसा गरेपछि उनले भारतमा मात्र जितेर नपुग्ने बताएका थिए ।

यद्यपि शाहले यो कुरा सार्वजनिक रुपमा भनेको नभई उनको भनाइ उदृत गर्दै त्रिपुराका मुख्यमन्त्रीले बोलेका हुन् । शाहले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् तर भारतीय प्रमुख विपक्षी कांग्रेस आई र कम्युनिस्ट पार्टीले आपत्ति जनाउँदै तत्काल माफी माग्नुपर्ने बताएका छन् ।

कांग्रेस आइले शाहको अभिव्यक्ति भनी विप्लव देवले बोलेको कुरा भारतीय विदेश नीतिमा क्षति पुर्याउने खालको भएको भन्दै विरोध गरेको छ ।

कांग्रेस नेतृ सुप्रिया श्रीनातेले हिन्दुस्तान टाइम्समा शाहलाई लक्षित गर्दै भनिन् –नेपाल र श्रीलंकामा जननिर्वाचित सरकार छन् । लोकतन्त्र छ । तपाइँहरु त्यहाँ कु गर्ने कुरा गर्दै हुनुहुन्छ । एउटा लोकतन्त्रले अर्को लोकतान्त्रिक देशमा सरकार बनाउने कुरा गर्दैछ । विप्लव देवजीले बेबकुफी कुरा गरेका छन् र यसले दुष्परिणाम निम्त्याउँछ ।’

कांग्रेस नेतृले यसलाई डिप्लोम्याटिक ब्लण्डर भनेकी छन् ।

‘उक्त अभिव्यक्तिले हाम्रो विदेश नीति र कूटनीतिक सम्बन्धलाई क्षति पुर्‍याउँछ’ श्रीनातले भनिन्, ‘सरकारले खुलेरै यो अभिव्यक्तिप्रति नेपाली नागरिकसँग मात्र हैन निर्वाचित सरकारसँग हात जोडेर माफी माग्नुपर्छ अन्यथा यो ठूलो गल्ती साबित हुनसक्छ ।’

डोनाल्ड ट्रम्पको पक्ष लिएर भारतले अमेरिकी राष्ट्रपति चुनावमा गल्ती गरेको र अहिले पनि मूल्य तिरिरहेको प्रसंग निकाल्दै श्रीनातेले त्यो गल्ती नदोहोर्‍याउन सुझाव दिइन् ।

त्रिपुराका मुख्यमन्त्री विप्लव देवले शनिबार गृहमन्त्री एवं बीजेपीका पूर्वअध्यक्ष शाहले नेपाल र श्रीलंकामा बीजेपी विस्तार गरेर सरकार बनाउनुपर्छ भन्ने अभिव्यक्ति पार्टीको एक आन्तरिक भेटघाटमा दिएको बताएका थिए ।

‘भारतका सबै राज्यमा चुनाव जितेर नेपाल र श्रीलंकामा पनि सरकार बनाउनुपर्छ भनेर उहाँले भन्नुभएको थियो’ रविन्द्र शतवार्षिकी भवनको भ्रमणका क्रममा देवले भनेका थिए ।

विश्वमा कम्युनिष्ट पार्टीको कीर्तिमानलाई तोडेर आफ्नो नेतृत्वमा बीजेपीलाई ग्लोबल पार्टी बनाउनुपर्छ भनेर शाहले भनेको समेत देवले उल्लेख गरेका थिए ।

शाहको यस्तो अभिव्यक्तिलाई लिएर भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) नेता एवं पूर्वसांसद जितेन्द्र चौधरीले विरोध गरेका छन् ।

‘मुख्यमन्त्रीलाई संविधान र लोकतन्त्रको ज्ञान छैन । शाहको अभिव्यक्तिले विदेशी मुलुकको आन्तरिक मामिलामा भारतीय हस्तक्षेपको सन्देश जान्छ’ उनले भने ।

चौधरीले गृहमन्त्री शाहले नेपालविरुद्ध राज्य षड्यन्त्र गरेको आरोप समेत लगाएका छन् । उनले शाहको अभिव्यक्तिलाई भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीले समेत जिम्मेवारी लिनुपर्ने बताएका छन् । त्रिपुरा कांग्रेसका उपध्याक्ष तपस देले शाहको अभिव्यक्तिले उपनिवेशवादी मनोविज्ञानलाई चित्रण गरेको बताएका छन् ।

‘जुन उपनिवेशवादका विरुद्ध भारत लडिरहेको छ, त्यही कुरा अरुमा लाद्नु राम्रो होइन’ देले भनेका छन् । भारतले नेपाल र श्रीलंकाको सार्वभौमसत्तामाथि हस्तक्षेप गर्न नसक्ने पनि उनले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *