शासन लम्ब्याउन निर्वाचनको नाटक रचियो : कांग्रेस नेता सिंह – Nepal Press

शासन लम्ब्याउन निर्वाचनको नाटक रचियो : कांग्रेस नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको शासन ‘तानाशाही’ भएको आरोप लगाएका छन् ।

कास्की कांग्रेसले पोखरामा आयोजना गरेको विरोधसभामा नेता सिंहले प्रधानमन्त्री ओली पनि पूर्वराजा ज्ञानेन्द्रकै हालतमा पुग्ने टिप्पणी गरे ।

आफ्नो शासन लम्ब्याउन तत्कालीन राजाले गराएको निर्वाचन र प्रधानमन्त्री ओलीले घोषणा गरेको निर्वाचन एउटै भएको सिंहको दाबी छ । ‘अहिले मुलुकमा लोकतान्त्रिक सरकार छैन । संसद भंग गरेर प्रधानमन्त्री ओली तानाशाही बनेका छन् ’, उनले भने ।

उनले हुनै नसक्ने निर्वाचनको नाटक रचेर प्रधानमन्त्री ओलीले आफ्नो सरकारको आयु लम्ब्याउन खोजेको उनको आरोप छ ।

सिंहले सर्वोच्च अदालतले संविधानको मर्मअनुसार संसद विघटन बदर गर्ने विश्वास व्यक्त गरे । ‘हिजो पनि राजाले शाही आयोग बनाएर विरोधी सिध्याउन खोजेका थिए । सर्वोच्चले आयोग खारेज गरिदियो । अहिले पनि अदालतले ओलीको कदम खारेज गर्नेछ’, नेता सिंहले भने ।

उनले संविधान र लोकतन्त्रका पक्षमा कांग्रेसले जस्तोसुकै कठोर निर्णय लिनसक्ने भन्दै सरकारविरुद्ध निर्णायक आन्दोलन गर्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर