नाकाबन्दीको सामना गर्नुपर्ने अवस्था अन्त्य भयो : प्रधानमन्त्री ओली – Nepal Press

नाकाबन्दीको सामना गर्नुपर्ने अवस्था अन्त्य भयो : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीनवर्षे कार्यकालको उपलब्धीको चर्चा गर्दै नेपाल अन्तराष्ट्रिय स्तरमा देखिने, सुनिने, बोलाइने र पत्याइने मुलुकको रुपमा स्थापित भएको दाबी गरेका छन् ।

‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ नारासहित अघि बढेको परराष्ट्र नीतिको कारण यो कुरा सम्भव भएको उनको टिप्पणी छ । आफ्नो कार्यकालमा १२ बाट कुटनीतिक सम्बन्ध स्थापना हुने मुलुकको संख्या १६८ पुगेको र १५ मुलुकसँग द्धिपक्षीय परामर्श संयन्त्र स्थापना भएको उनको भनाई छ ।

हिंसाविरुद्धको समिति (सिड) र मानवअधिकार परिषदमा नेपाल दोस्रोपटक निर्वाचित भएको उल्लेख गर्दै प्रधानमन्त्रीले विभिन्न देशमा आफ्नो भ्रमण र विभिन्न मुलुकका सरकार एवं राष्ट्र प्रमुखको नेपाल आगमनलाई समेत उनले उपलब्धीको रुपमा चर्चा गरेका छन् ।

‘चीनका राष्ट्रपतिको नेपाल भ्रमण २३ वर्षपछि भयो । भारतका प्रधानमन्त्रीको एउटै कार्यकालमा ४ पटक नेपाल भ्रमण भयो’ ओलीले उपलब्धीको रुपमा उल्लेख गरेका छन् ।

चीनसँगको यातायात पारबहन सम्झौतापछि नेपालको अवस्था भूपरिवेष्ठितबाट भूजडित मुलुकका रुपमा फेरिएको उल्लेख गर्दै ओलीले नेपालले नाकाबन्दीको सामना गर्नुपरेको अवस्थालाई अन्त्य गरिदिएको समेत चर्चा गरेका छन् ।

विश्व आर्थिक मञ्चको डाभोस फोरम, अक्सफोर्ड विश्वविद्यालय, होचि मिन्ह युनिभर्सिटी, राष्ट्रसंघीय शान्ति विश्वविद्यालयजस्ता विश्व चर्चित फोरममा आफ्नो कुरा राख्न पाएको भन्दै प्रधामन्त्रीले यसलाई उपलब्धीको रुपमा समेटेका छन् ।

कोभिड-१९ महामारीले गर्दा विश्वस्तरको नेपाली फोरम सगरमाथा संवाद रोकिएको र यसलाई सुचारु गर्ने समेत प्रधानमन्त्रीले उल्लेख गरेका छन् । जलवायु परिवर्तनविरुद्ध एकजुट भएर लड्न अमेरिका, युरोपेली युनियन, चीन र भारत लगायतका शक्तिराष्ट्रले चासो दिएका छन् ।

जो बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि उनको विश्व प्राथमिकताको सन्देश लिएर बालुवाटारमा ओलीलाई भेट्न पुगेका राजदूत ¥यान्डी बेरीले सगरमाथा संवादमा सहकार्य गर्न अमेरिका तयार रहेको बताएका थिए । अमेरिकी दुतावासले जारी गरेको बाइडेन प्राथमिकताको विज्ञप्तीमा समेत सगरमाथा संवाद उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर