थप २२ जनामा नयाँ कोरोना संक्रमण पुष्टि, विदेशमा मृत्यु हुने नेपालीको संख्या ३३५ पुग्यो – Nepal Press

थप २२ जनामा नयाँ कोरोना संक्रमण पुष्टि, विदेशमा मृत्यु हुने नेपालीको संख्या ३३५ पुग्यो

काठमाडौं । नेपालमा नयाँ प्रजातिको कोरोनाभाइरस (युके भेरिएन्ट) संक्रमण हुने संख्या २२ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संक्रमण पुष्टि गरेको हो ।

महाशाखा प्रमुख डा. कृष्ण पौडेलका अनुसार नयाँ भेरिएन्टको संक्रमण फैलावट बढ्ने क्रममा रहेको आशंका गरिएको छ । बेलायतबाट आएका ३ जना र उनीहरुको परिवारसहित कुनै ट्राभल हिस्ट्री नभएकामा भेरिएन्ट पुष्टि भएको हो ।

केहीदिनअघि मुक्तिनाथ दर्शन गरि फर्किएका एक व्यक्तिको परिक्षण गर्दा भेरिएन्ट पुष्टि भएको र ती व्यक्तिको सम्पर्कमा रहेका १३ जनाको नमुना परिक्षण गर्दा पनि नयाँ भेरिएन्टको पुष्टि भएको हो । कन्ट्याक्ट ट्रेसिङ गर्दा ती व्यक्ति पनि बेलायतबाट फर्किएका व्यक्तिको नजिक थिए ।

संक्रमण देखिएकामा कुनै स्वास्थ्य समस्या नभएको र पोखरा तथा काठमाडौंमा संक्रमणको थप आशंका गरिएको छ । महाशाखा पौडेलले भाइरस फैलने क्रममा रहेकाले सामाजिक सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गर्न जरुरी रहेको समेत बताए ।

विदेशमा मृत्यु हुने नेपालीको संख्या ३३५ पुग्यो
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट विदेशमा थप दुई जना नेपालीको निधन भएको छ । गैरआवसिय नेपाली संघका अनुसार यो साता बेलायतमा थप दुई जनाको मृत्यु भएको हो ।

यो सहित २१ देशमा कोरोनाले मृत्यु हुने नेपालीको संख्या ३३५ जना पुगेको छ । संघको स्वास्थ्य समिति संयोजक सन्जीव सापकोटाका अनुसार ५० देशमा रहेका ६० हजार १२१ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो सातासम्म अमेरिकामा ५ हजार भन्दा बढी नेपाली समुदायले खोप लगाएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर