उत्तराखण्ड हिमनदी विस्फोट: ११ नेपाली अझै सम्पर्कविहीन, मृतककाे संख्या ५१ पुग्यो – Nepal Press

उत्तराखण्ड हिमनदी विस्फोट: ११ नेपाली अझै सम्पर्कविहीन, मृतककाे संख्या ५१ पुग्यो

काठमाडौं । भारतको उत्तराखण्डमा भएको हिमनदी विस्फोटपछिको घटनामा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । चमोली जिल्ला प्रशासन कार्यालयका अनुसार आइतबार भेटिएका १२ शवसहित मृत्यु हुनेको संख्या ५१ पुगेको हो ।

हालसम्म २५ जनाको मात्र सनाखत भएको जनाइएको छ । अधिकारीका अनुसार सनाखत हुने शवमा कोही पनि नेपाली छैनन् । अहिलेसम्म शव र शरिरका विभिन्न अंगसहित ४१ वटाको अन्तिम संस्कार गरिएको छ ।

जसमा बेपत्ता भनिएका नेपालको शव भए नभएको खुलेको छैन । गत आइतबार हिमनदी फुटेपछि धौलीगंगा, अलकनन्दा लगायतका नदीमा बाढी आएको थियो । २०० भन्दा बढी बेपत्ता भएका थिए ।

चमोली प्रहरीले हराइरहेका १७५ जनाको सूचि सार्वजनिक गरेको थियो । जसमा ११ जना नेपाली छन् । हराइरहेका नेपालीमध्ये ७ जना ऋषिगंगा जलविद्युत आयोजना, ३ जना तपोवन आयोजना र एकजना रैणी गाउँमा कार्यरत थिए । तपोवनमा काम गर्ने सोहन चौधरीको मात्र नेपालको ठेगाना खुलेको छ ।

अधिकांश थर र ठेगाना उल्लेख नहुँदा बेपत्ता हुने नेपालीको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *