मदरसा बनाउन हिन्दूले गरे जग्गादान – Nepal Press

मदरसा बनाउन हिन्दूले गरे जग्गादान

झापाको विर्तामोड नगरपालिका–३ मा मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने धार्मिक विद्यालय मदरसा निर्माणका लागि एक हिन्दू समाजसेवीले जग्गादान गरेका छन् ।

मदरसा निर्माणका लागि समाजसेवी विष्णुमाया प्रसाईले १५ लाख मूल्य पर्ने १२ धुर जग्गा दान दिएको प्रदेशसभा सदस्य एकराज कार्कीले जानकारी दिए । अरु जग्गा सहुलियत मूल्यमा खरिद गरेर आठ कठ्ठा जग्गा पुर्‍याइने र मदरसा भवन निर्माण गरिने मदरसाका प्रमुख अफरोज खानले बताए ।

हाल स्थानीय मस्जिदमा कक्षा ४ सम्म मदरसा सञ्चालन हुँदै आएको छ । जग्गा प्राप्त भएको समावेशी टोलमा कक्षा १२ सम्म पठनपाठन हुनेगरी मदरसाको भवन निर्माणका लागि सबै धार्मिक समुदायका दाताहरुलाई आह्वान गरिएको अध्यक्ष खानले बताए । सो क्षेत्रमा मुस्लिम समुदायका १५० परिवार बसोबास गर्दै आएको छ । नजिक कुनै विद्यालय नभएको हुँदा मुस्लिम समुदायका सबै बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउन मदरसा स्थापना गरिएको वडाध्यक्ष भोजराज सिटौलाले बताए ।

समाजसेवी प्रसाईं हिन्दू हुन् । उनको जग्गादानले नेपाली समाजमा परापूर्वकालदेखि कायम रहँदै आएको हिन्दू–मुस्लिमबीचको सामाजिक सद्भाव र धार्मिक सहिष्णुतालाई उजागर गरेको स्थानीयले महशुस गरेका छन् ।

१ रुपैयाँ दान अभियान शुरु

यसैबीच झापाको अर्जुनधारा-१ स्थित साधुटार गुरुकुलमा आर्थिक अभाव भएपछि सञ्चालकहरूले १ रुपैयाँ दान अभियान शुरु गरेका छन् । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले पाँच वर्षसम्म दैनिक १ रुपैयाँका दरले हुने रकम दान गर्दै शनिबार अभियानको शुरुआत गरे ।

गुरुकुलका प्राचार्य लक्ष्मीप्रसाद खतिवडाले आगामी ५ वर्षभित्रमा १ रुपैयाँ दान अभियानबाट संस्थालाई ११ करोड रुपैयाँ सहयोग सङ्कलन गर्ने लक्ष्य लिइएको बताए । इलाम जिल्लाको सीमानामा प्राकृतिकरूपमा रमणीय स्थानमा चार बिघा क्षेत्रफलमा साधुटार धार्मिक पर्यटकीय स्थल रहेको छ । शङ्कराचार्य पीठका रूपमा प्रख्यात सो स्थानमा सञ्चालित गुरुकुलमा एक सय विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *