फेवातालको गेग्य्रान निकाल्न समिति गठन – Nepal Press
नेपाल प्रेस समाचार प्रभाव

फेवातालको गेग्य्रान निकाल्न समिति गठन

पोखरा । फेवातालमा थुप्रिएको गेग्र्यान निकाल्न गण्डकी सरकारले समिति गठन गरेको छ । पर्यटनमन्त्री विकास लम्सालको अध्यक्षतामा बसेको बैठकले वन, वातावरण तथा जैविक विविधता महाशाखा प्रमुख रामकाजी श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो ।

समितिको सदस्यमा ताल प्राधिकरण गण्डकी प्रदेशका निर्देशक डा. अनुप गुरुङ, पोखरा महानगर सहरी योजना आयोगका सदस्य सरोज कोइराला, डिभिजन वन कार्यालय कास्की प्रमुख केदार बराल, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कास्की प्रमुख इन्जिनियर किरण आचार्य, बृहत जलाधार व्यवस्थापन केन्द्र गण्डकी प्रमुख रामसिंह थापा, जलाधार व्यवस्थापन कार्यालय तनहुँ प्रमुख कृष्णप्रसाद घिमिरे लगायत छन् ।

समिति संयोजक श्रेष्ठले नागरिकस्तरबाटै ताल संरक्षणका लागि डोजर लिएर पुगेपछि सोही अभियानलाई सघाउन समिति गठन गरिएको बताए । समितिले आइतबारै गेग्य्रान निकाल्न तालको ड्यामसाइडदेखि किनाराको निरीक्षणसमेत गरेको छ ।

‘कहाँ कति माटो निकाल्ने र कहाँ व्यवस्थापन गर्ने भन्नेबारे जानकारी राख्न आजै (आइतबार) ताल किनारको हेरेका छौं,’ संयोजक श्रेष्ठले नेपाल प्रेससँग भने, ‘अवलोकन पछि २, ३ दिनमै काम सुरु गर्नेगरी योजना बनाएका छौं ।’

तालको बाँध तथा नहर मर्मत गर्ने भन्दै जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, कास्कीले गत शुक्रबारदेखि पानी घटाउन सुरु गरेको हो । २ करोड रुपैयाँमा मर्मत हुन लागेको बाँध करिब एक महिनामामात्रै मर्मत कार्य पूरा हुने डिभिजन कार्यालयले जनाएको छ ।

फेवातालको बाँध तथा नहर मर्मत गर्न अहिले एक मिटर पानी घटाइएको छ । तालबाट करिब ५ करोड ८० लाख लिटर पानी घटाउँदा तालको अधिकांश भाग बगरमा परिणत भएको छ । यस सम्बन्धी समाचार नेपाल प्रेसले लगातार फलोअप गरिरहेको थियो ।

पानी घटेको समयमा तालमा थुप्रिएका गेग्य्रान, फोहोर निकाल्न उपयुक्त हुने भन्दै सरोकारवालाले माग गर्दै आएका थिए । शनिबार बिहानमात्रै पोखरा पर्यटन परिषद्ले पोखरा महानगरलाई ध्यानाकर्षण गराएको थियो ।

शनिबार बिहानमात्रै पोखरा उपत्यका सरसफाई अभियान चलाइरहेको नागरिक समाज कास्कीले तालको फोहोरमैला तथा गेग्य्रान निकाल्न भन्दै डोजर चलाएको थियो । महानगर तथा प्रदेशलाई फेवातालको संरक्षणमा ध्यान दिन सांकेतिक रुपमा दबाब दिएको बताएको थियो ।

सुरुमा २ मिटर पानी घटाइने भनिए पनि पर्यटक तथा सरोकारवाला निकायको विरोधमा एक मिटर पानीमात्रै घटाइएको थियो । ठूलो मात्रामा पानी घटेका कारण अहिले तालको आधा भाग बगरमा परिणत भएको छ । बाँध, नहर मर्मत पूरा भइसकेपछि पनि ताल पुरानै स्वरुपमा फर्किन केही समय लाग्ने डिभिजन कार्यालय जनाएको छ ।

तालका विभिन्न क्षेत्रमा थुप्रिएका गेग्रान निकाल्न बैठकले विभिन्न कार्यालयलाई कार्यक्षेत्र नै तोकेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार ड्यामसाइडस्थित बाँधदेखि फिर्केखोलासम्म पर्न ताल क्षेत्रमा जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कास्की, फिर्केखोलादेखि कोमागाने पार्कसम्म पोखरा महानगरपालिका र ताल संरक्षण तथा विकास प्राधिकरण, बाराहीघाटदेखि खहरे क्षेत्रको अन्तिम विन्दु (गैराको चौतारा) सम्म ताल संरक्षण तथा विकास प्राधिकरण पोखरा र भू तथा जलाधार व्यवस्थापन कार्यालयले काम गर्ने जिम्मा तोकिएको छ ।

फेवातालमा २०१८ सालमा भारतीय सहयोग मिसनको सहयोगमा पहिलो पटक ४६ फिट बाँध निर्माण गरिएको थियो । बाँध बाँधेर कुल १५ हजार रोपनी क्षेत्रफलमा सिंचाइका लागि नहर निमाण गरिएको थियो । पछि उक्त बाँध २०३१ सालमा बाँध फुटेर गएको थियो ।

पछि २०३४ कात्तिक १८ गते पुनः नयाँ बाँधको शिलान्यास गरिएको थियो । उक्त बाँध संयुक्त राष्ट्र संघको सहयोगमा निर्माण गरिएको हो । उक्त बाँध निर्माण कार्य २०३५ सालमा आएर सम्पन्न भएको थियो । ३५ सालमा बाँध निर्माण भएयता हालसम्मकै सबैभन्दा ठूलो मर्मतसम्भार गर्न लागिएको हो ।

पोखरा महानगरले प्रधानमन्त्री कार्यालयलाई बुझाएको पछिल्लो रिपोर्टमा फेवातालको क्षेत्रफल १० हजार रोपनी छ । तर, पनि तालको सीमांकन र नक्सांकनमा विवाद हुँदै आएकाले पछिल्लो पटक समिति नै गठन गरेर तालको पुनः सीसांकन, नक्सांकन भइरहेको छ । समितिले तालको सीमांकन सकिएर नक्सांकन भइरहेको र चाँडै तथ्यांक सार्वजनिक गर्ने जनाएको छ ।

०००

यो पनि पढ्नुहोस् ।

जब फेवाताल सुक्यो !

जब फेवाताल सुक्यो !

फेवातालबाट बग्यो ६ करोड लिटर पानी, सुख्खा तालमा बाटो खन्ने पक्राउ

सुकेको फेवातालमा नागरिक समाजको डोजर !

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर