पहिलो प्रेमको पहिलो कम्पन… – Nepal Press
भ्यालेन्टाइन डे विशेष

पहिलो प्रेमको पहिलो कम्पन…

काठमाडौं । हर-कोहीका लागि मीठो र यादगार अनुभूति हो- प्रेम । त्यसमाथि जीवनको पहिलो प्रेम कसले नै भुल्न सक्छ होला र ?

कोही किशोरावस्थामा नपुग्दै त कोही कुरकुरे बैंसका बेला पहिलोपटक विपरीतलिंगीको प्रेममा परेका हुन्छन् । जतिसुकै खस्रा मानिससँग पनि ‘पहिलो प्रेम’ को अनुभव हुन्छ नै, चाहे त्यो एकतर्फी नै किन नहोस् । जीवनको पहिलो प्रेम नै अन्तिम बनेका जोडीहरु पनि कम छैनन् ।

पहिलोपटक प्रेममा परेकाहरु सबैले प्रस्ताव राख्ने हिम्मत गर्दैनन् । पछि चुक्चुकाउनुको विकल्प उनीहरुसँग हुँदैन । यसरी व्यक्त गर्न नसक्दा धेरैका प्रेमहरु ‘शहीद’ हुने गरेका छन् । आजकाल भ्यालेन्टाइन डेले यसरी प्रेम व्यक्त गर्न नसक्नेहरुका लागि एउटा साइत जुराइदिएको छ ।

भ्यालेन्टाइन डेकै रौनकमा आज हामीले समाजका विभिन्न क्षेत्रमा क्रियाशील केही व्यक्तित्वहरुसँग उनीहरुको पहिलो प्रेम अनुभव सोधेका थियौं । कसैले खुलेर त कसैले लजाउँदै हामीलाई आफ्ना अनुभवहरु यसरी सुनाएः

‘लभ गर्ने उमेर पढाइमै गयो’

शेरबहादुर पुन
चिकित्सक

मेरो ‘लभस्टोरी’ अरुको जस्तो रोमान्टिक छैन । लभ गर्ने उमेरमा अर्जुनदृष्टि पढाइमै भयो । म रातको २ बजेसम्म पढिराख्नुपर्ने, लेखिराख्नुपर्ने भएकाले कसैलाई देख्न, भेट्न र राम्ररी बोल्न पाउनु नै दुर्लभ थियाे ।

सानो उमेरमा पनि खासै कसैप्रति माया जागेन भनौं न । ख्यालै भएन । पछि पढाइ सकेर आएपछि जागिर गर्न थालेँ । अस्पतालमा पनि प्रयोगशालामै केन्द्रित भएँ । दायाँ–बायाँ ध्यान दिने कुरै थिएन । कहिलेकाहीँ त यस्तो लाग्थ्यो कि डाक्टरहरुलाई त प्रेम गर्ने छुट पनि छैन कि क्या हो ।

कोही मन पर्थेन भन्ने हुँदैन । तर डाक्टर भएपछि अप्ठयारो हुने क्या । फुर्सद नहुने । सधैं पढाइ र बिरामी भनेर बसियो । त्यसैले पनि मेरो विवाह ढिला भयो । लभ गर्ने उमेर नै मेरो त पढाइमा गयो भन्दा फरक नपर्ला । घरबाट पनि बिहेका लागि दबाब आइरह्यो । घरकाले कोही केटी मन पराएको छ भने भन्नु भनेर एक खालको दबाब आइरहन्थ्यो । मैले केही छैन भनेपछि घर–परिवार मेरो विवाह गराइदिने तरखरमा लागे । घरबाट बिहेको दबाब आएपछि परिवार र आफन्तले सुनिता पुनसँग कुरा गरेका थिए । मैले पनि भेटौं भनेपछि परिवारले आफन्तको घरमा भेट्टाइदिए ।

भेटेपछि चाहिं लभ परेको है । त्यसपछि समय–समयमा भेटघाट हुन थाल्यो । एक–अर्कालाई बुझ्दै गयौं । एक प्रकारले रिलेसनसिपमा बसियो । जे होस् तुरुन्तै बिहे नहुँदा प्रेम गर्न मौका पाइयो । उहाँ पनि स्वास्थ्यकर्मी हुनुहुन्थ्यो । छुट्टाछुट्टै अस्पतालमा काम गर्थ्याैं । एकै ठाउँमा काम गर्दा चिनेको भए त सीधै लभ पर्थ्याे होला । रिलेसनमा बसेको डेढ वर्षपछि विवाह भयो ।

हाम्रो विवाह २०७३ सालमा भएको हो । अरुको भन्दा मेरो विवाह अलि ढिलै भएको हो र हाम्रो उमेरको फरक पनि त्यस्तै ६ वर्ष जति होला । अहिले उनी र म छुट्टै काम गर्छौ । हामीलाई वास्तवमा भ्यालेन्टाइन डे मनाउने फुर्सद हुँदैन । पढ्दा–पढ्दै लेख्दालेख्दै रातिको २–३ पनि बज्छ । यतिसम्म कि कहिलेकाहीँ विवाहको एनिभर्सरी बिर्सेरै तनाव हुन्छ ।

छुट्टीको बेलामा उनलाई लिएर घुम्न निस्कन्छु । म आफैं ड्राइभ गर्छु । घुम्न जाँदा अलिकति शान्त ठाउँमा काठमाडौंबाट टाढा जान्छौं । बाहिर रमाउन मन पराउँछु उनीसँग ।

सम्झिँदा नि लाज लाग्छ

वेनिशा हमाल
अभिनेत्री

मेरो फस्ट लभ यही भन्ने छैन । मलाई कोही मन पर्‍यो भने पनि त्यो क्षणिक हुन्थ्यो । मैले कसैलाई माया गरेँ, तर अभिव्यक्ति गरिनँ । मैले त्यतिबेला उसलाई भनेको भए धोका हुने रहेछ । किनकि त्यो त मेरो असली माया होइन रहेछ ।

मैले जसलाई मन पराउँथे उ अरु कसैसँग नजिक हुँदा एकदम रिस उठ्थ्यो । एक किसिमको डाहा हुने क्या । कस्तो अचम्म । सम्झँदा नि लाज लाग्छ । अरुले जस्तै केयर गरिदिओस् भन्ने आशा हुने रहेछ ।

मलाई लाग्छ धेरैको प्रेम बाल्यकालमै शुरु हुन्छ । त्यो नै पहिलो प्रेम मान्छौं पनि । मैले देखेको धेरैको पहिलो प्रेम सफल हँदैन । मेरो पनि भएन । उमेरसँगै फरक फरक मान्छेसँग माया हुने रहेछ । पहिलो प्रेम कहिल्यै लामो समयको लागि नहुने रहेछ । तर पहिलो प्रेमबाट पाएको चोटले त मान्छे धेरै चीज गराउन बाध्य हुने रहेछ ।

आकर्षणलाई माया भन्न मिल्दैन । त्यो त क्षणिक हुन्छ । आकर्षण त धेरै मान्छेसँग हुन्छ । तर माया भनेको सीमित मान्छेहरुसँग हुन्छ । माया गर्ने भनेको पार्टनरलाई नै भन्ने पनि हुँदैन । आफ्नाे परिवारसँग वा साथीसँग हुन सक्छ ।

हरेक कुराको सेलिब्रेसन गर्ने एउटा दिन हुन्छ । मायाको सेलिब्रेसन गर्ने दिनलाई भ्यालेन्टाइन डेका रुपमा मनाइन्छ । कतिको भनाइ हुन्छ कि माया गर्न किन भ्यालेन्टाइन डे नै चाहियो ? तर त्यो दिन चाहिं मायालाई स्पेसल बनाउनका लागि हो । अरु दिन जे भए पनि त्यो दिन चाहिं आफ्नाे मान्छेलाई वा आफूलाई मन परेको मान्छेको लागि छुट्याउँ जस्तो लाग्छ ।

अहिले म आफैंसँग मायामा छु एकदमै धेरै । पुरानो प्रेमहरु केही समयका लागि मात्रै भयो । चाहे त्यो बाल्यकालको प्रेम होस् या पहिलो प्रेम ।

हाम्रो पालाको प्रेम अर्कै थियो

राजेन्द्र मल्ल
उद्योगी

हाम्रो पालामा अहिले जस्तो भ्यालेन्टाइन डे मनाउने थिएन । लभ म्यारिज गर्ने पनि चलन थिएन । मलाई लाग्छ, पहिलो त घरको डरले पनि होला । अर्को, प्रेममा परेको पनि थाहै हुँदैनथ्याे ।

मेरो त घरमा पनि प्रेम गर्न हुँदैन भन्ने थियो । त्यही डरले पनि कसैलाई मन पराएँ पनि भनिनँ । स्कूल पढ्दा त उल्कै हुन्थ्यो नि । बेलै त्यस्तो हुँदोरहेछ । अहिले यसो बुझ्छु केटाकेटीहरु खुल्लमखुला केटा–केटी लिएर हिंड्छन् । कसैसँग पनि डर लाग्दैन । कस्तो अचम्म ।

हाम्रो पालामा त माया पिरती भनेको केही समयको लागि मात्रै हुन्थ्यो । आफूले मन पराएको केटी थाहै नपाइ बिहे गरिदिन्थे । आफूले भने पनि बाउआमाले हाम्रो कुरा सुन्दैनथे । अहिले जस्तो सजिलो थिएन । त्यतिबेला लभ लेटर पठाउने चलन थियो । अहिले त सीधै कुराकानी हुन्छ ।

पहिलाको बेलाको लभ मन पर्थ्याे । अहिले बुढेसकाल लाग्यो, त्यस्तो खासै हुँदैन । अनि पहिलाको कुरा सम्झेर पनि के गर्नु । जति नै डिप लभ परे पनि आखिर घरकाले मागेर बिहे गराइदिन्थे । डेटिङ स्पट भन्ने हुँदैनथ्याे ।

उनीसँग खेलिरहन मन लाग्थ्यो

अमर न्यौपाने
लेखक

मेरो ‘फस्र्ट लभ’ अहिले पनि सम्झना छ । प्रेममा परिसकेपछि एक किसिमको फिल हुनेरहेछ क्या । म मायामा एकदम क्रेजी हुने खालको मान्छे होइन । तर शारीरिक आकर्षण र मनमा प्रेमभाव पलाउने चाहिं अलिकति बाल्यकालको उतरार्द्धमै हुनेरहेछ ।

उनीसँग भेटिरहन मन लाग्थ्यो । खेलिरहन मन लाग्थ्यो । हामी विपरीतलिंगी भएकाले भेट्न हुँदैन भन्ने खालको सोचाइ थिएन । गाउँलेले कुरा काट्छन् भन्ने डर पनि थिएन । उनको सबै कुरा राम्रो लाग्थ्यो । आँखा मन पर्थ्याे, नाक मन पर्थ्याे । सबै कुरा मन पर्थ्याे। यद्यपि, शारीरिकरुपले भन्दा भावनात्मक रुपले बढी झुकाव हुन्थ्यो ।

सानो बेला पढ्दा पल्लो कक्षामा राम्री केटी छ भने आफू नि त्यही कक्षामा पढ्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । त्यतिबेला त पानको पातमा नाम लेख्ने हुन्थ्यो । कोही केटी मन पर्यो भने भित्तामा फलानो प्लस फलानो लेखिन्थ्यो । रमाइलो हुन्छ त्यतिबेलाको प्रेम त ।

ठूलो भएपछि कसैले देख्ला कि कसैले केही भन्ला कि भन्ने हुन्छ । दुईवटा बच्चा कस्तो ढुक्कले खेलिरहेका हुन्छन् । कति प्रेमपूर्वक कुरा गरिरहेका हुन्छन् । केही डर हुँदैन । समाजको घेरा उनीहरुलाई थाहा हुँदैन । त्यतिखेर सबैभन्दा पवित्र प्रेम हुन्छ । त्यहाँ कुनै कन्डिसन हुँदैन । त्यो निस्वार्थ प्रेम हुन्छ । विस्तारै मान्छे ठूलो हुँदै जाँदा उसले समाज बुझ्छु । यो राम्रो हो, यो नराम्रो हो भनेर समाजले सिकाएको हुन्छ । अनि त्यही प्रेम पनि लुकेर गर्नुपर्ने हुन्छ ।

प्रेमभाव भन्ने कुरा जीनमै हुँदोरहेछ । म त्यसरी हेर्छु । मेरो लभ म्यारिज हो । तर, म भ्यालेन्टाइन दिनमा ‘विस’ गर्दिनँ । मलाई अहो, भ्यालेन्टाइन आयो, कसरी मनाउने भन्ने लाग्दैन । अहिले अरुले मनाइराखेकोमा खुसी नै छु । प्रेम गर्नेको लागि प्रत्येक दिन भ्यालेन्टाइन डे हो । तर पनि कुनै दिन स्पेसल रुपमा मनाउँ भन्नु पनि राम्रो हो ।

पहिलो प्रेम नै अन्तिम भयो

शेरबहादुर तामाङ
पूर्वमन्त्री

मान्छे सामाजिक प्राणी हो । उमेर पुगेपछि आफ्नो साथी खोज्छ । कुनै योजना बनाएर साथी खोज्ने भन्ने हुँदैन रहेछ । आफैं क्लीक हुन्छ । आफूलाई फिलिङ हुँदोरहेछ ।

त्यो फर्स्ट एन्ड लास्ट भयो भने राम्रो हो । क्लीक भइसकेपछि फेरि त्यसमा दरार आयो भने जीवनमा धेरै ठूलो असर पर्छ । बरबाद नै हुन्छ । हुन त फर्स्ट नै लास्ट हुने कतिपयको पछि बिग्रेको पनि छ । तर धेरै कमको मात्रै बिग्रिन्छ । अधिकांशको लभ परेर बिहे गरिसकेपछि त्यो जीवन सफल हुन्छ ।

मेरो त फर्स्ट लभ नै उषाजी हो । उहाँ पनि राजनीतिक कार्यकर्ता, म पनि । हाम्रो भेट राजनीतिक काममै भयो । प्रेम पनि राजनीति गर्ने क्रममा नै अंकुराएको हो । हामी सगंठनमा पनि सँगै थियौं । म पार्टीको जनसंगठनको महासचिव र उहाँ केन्द्रीय सदस्य हुनुहुन्थ्यो । चिनजान भएपछि विस्तारै नजिक भइयो । उहाँलाई पनि भेटौं भेटौं हुँदोरहेछ । मलाई पनि बोल्न पाए हुन्थ्यो भन्ने लाथ्यो । अनि प्रेम सम्बन्धमा पुग्यौं । त्यसपछि हामी चार वर्ष रिलेसनसिपमा बस्यौं । अनि बल्ल बिहे गरेका हौं । आज भ्यालेन्टाइन डेमा हामी सबै कार्यक्रम स्थगन गरेर सँगै निस्किएका छौं।

भ्यालेन्टाइन डेको कुरा गर्दा यो मान्छेले आफ्नो विकासक्रममा निर्माण गरेको पर्व हो । दुई बैंसालु जोडीहरुको बीचमा सम्बन्ध विकासको क्रममा एकजनाले प्राण त्यागेको भन्ने मात्र बुझेको छु । युवा पुस्ताले नयाँ जीवनसाथी चुन्ने महत्वपूर्ण पर्वको रुपमा यसलाई लिने गरिन्छ । नयाँ पुस्ताको लागि सम्बन्ध विकासको पर्वका रुपमा लिइने भएकाले यसलाई धेरै नकारात्मक हिसाबले लिइराख्न पर्दैन होला ।

मलाई त कसैले पत्याएनन्

रमेश खरेल
पूर्वप्रहरी

प्रहरीहरुले खासै भ्यालेन्टाइन डे मनाउन पाउँदैनन् । मैले त कहिल्यै भ्यालेन्टाइन डे मनाइनँ । कहिलेकाहीं साथीहरुले शुभकामना दिंदा म पनि दिन्छु । त्यत्ति हो ।

मेरो त मागी विवाह हो । मलाई लभ गर्न कसैले पत्याएनन् । त्यसैले मागी बिहे भएको हो । प्रहरी भनेर डराएर हो कि हजुर, कसैले पनि पत्याएनन् । गाउँघरमा पढ्दा पनि आफूलाई मन खाने केटी फेला नपरेरै हो कि । कसैले प्रपोज गरेनन् ।

आफूले पनि गरिएन । सीधै एरेन्ज म्यारिज भयो । मेरो विवाहलाई लिएर आफूलाई असाध्यै भाग्यमानी ठान्छु । रन्जु खरेलसँग २९ वर्षमा विवाह भएको हो । परिवारले नै केटी खोजिदिएको थियो । मलाई पनि राम्रो लाग्यो हुन्छ भन्दिएँ । उनी त्यतिबेला कलेजमा पढ्दै थिइन् । म प्रहरी निरीक्षक थिएँ ।

जागिरको क्रममा समय दिन सकिंदैनथ्यो । श्रीमतीजी रिसाउँथिन् पनि । तर हाम्रो बाध्यता हो । सधैं फिल्डमा हुन्थें । अहिले त परिवारलाई एकदमै समय दिन्छु । आज श्रीमतीसँग जनकपुरमा छु ।

अहिलेसम्म लभ परेन

सावित्रा भण्डारी
महिला फुटबलर

प्रेम जोसँग पनि हुन्छ । बाबा–आमासँग पनि हुन्छ । छोराछोरीसँग हुन्छ । मेरो विशेष लभ भन्ने छैन । मेरो भ्यालेन्टाइन भनेकै मेरो बाबाआमा हो, मेरो साथीहरु हो ।

मैले बिहानै बुबाआमासँग फोन गरेर माया साटेँ । यस्तै हो मेरो लागि भनौं न । अहिलेसम्म प्रेममा परेको छैन । हामी खेलाडी साथीहरु एक आपसमा माया सेयर गर्थ्याैं । त्यस्तो विशेष मान्छे नभएकाले आजको दिन खासै विशेष जस्तो नि लाग्दैन ।

मलाई लाग्छ कि कसैको त जीवनमा कसैसँग पनि लभ नपर्दो रहेछ । किन होला ? मैले आजसम्म मन मिल्ने मान्छे नखोजेर हो या नपाएको हो । अचम्म लाग्छ, अरुको लभ परेको छ भनेर सुन्दा । मेरो त खै कहिले फर्स्ट लभ नि परेन, लास्ट लभ नि नपर्ला जस्तो छ ।

‘मलाई चाहने धेरै थिए’

ऋषि धमला
पत्रकार

मेरो फर्स्ट लभ एलिजाजी नै हो । त्योभन्दा अघिसम्म मैले त लभ गर्ने फुर्सद नै पाइनँ । मसँग समय नै थिएन । स्कूल–कलेज पढ्दा मलाई चाहने मान्छे नभएको होइन है । चाहने मान्छे थिए । त्यो कुरा ढाँट्दिन फेरि । तर कसैलाई लभ गर्न भ्याइनँ ।

व्यस्तताले गर्दा समय दिन नसकेर होला अलिअलि पर्न लागेको लभ पनि यत्तिकै छुट्यो । ठिकै छ भनेर वास्ता गरिएन । पछि मैले आफैंले समय दिएर आफैंले प्रपोज गरेको फर्स्ट लभ एलिजा नै हो । उनीसँग मैले लभ गरेर विवाह गरेको हो ।

मैले जीवनमा कसैलाई आई लभ यू भनिनँ । किताबको पानामा लभ लेखेर दिने पनि फुर्सद भएन मलाई । रहर लाग्दा–लाग्दै लभ गर्ने उमेर गयो । १८ वर्षको उमेरदेखि पत्रकारिता गर्न थालेँ । लभ गर्ने, केटी डुलाएर डेटिङ जाने उमेर त विहान–बेलुका पढ्ने, दिउँसो काम गरेर गयो । कहाँ केटी लिएर डाँडापाखा जान पाउनु ? कहाँ रोज किनेर दिनु ? रोमान्टिक हुने अवसरै पाइन मैले त ।

मैले एजिलालाई देखिसकेपछि उहाँसगै विवाह गर्ने चाहना बढ्यो । मेरो विवाह लभ र एरेन्जको सम्मिश्रण भन्छु म । पहिले मैले उहाँलाई देखेँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा देखेको हो । अति राम्री लाग्यो । दायाँबायाँ केही नसोची सीधै गएँ र उहाँलाई भेटेँ । त्यतिबेला एलिजाजी चिया पिउँदै हुनुहुन्थ्यो । मलाई त केही डर लागेन । सीधै गएँ ।

चिया खाँदाखाँदै झन् राम्री देख्न थालेँ । कुराकानी गरेर फोन नम्बर लिएँ । अनि फोनमा कुराकानी गर्दै गयौं । त्यो बीचमा कफी खाने भेटघाट बाक्लै भयो । त्यसको एक वर्षपछि हामीले विवाह गर्याैं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर
नेपाल अपडेट ट्रेन्डिङ