देशभरका सीमानाकाको हालखबर: आंशिक खुले, आवतजावतमा आ–आफ्नै मापदण्ड – Nepal Press

देशभरका सीमानाकाको हालखबर: आंशिक खुले, आवतजावतमा आ–आफ्नै मापदण्ड

काठमाडौं । सरकारले कोरोना संक्रमणका कारण लकडाउनपछि बन्द गरेका नाका खोल्ने निर्णय गरेसँगै कतिपय व्यापारिक नाका तथा सीमा क्षेत्रमा चहलपहल बढेको छ । कतिपय नाका भने अझै राम्रोसित सञ्चालनमा आउन सकेका छैनन् ।

सरकारले माघ १६ गते थप १६ नाका खुलाउने निर्णय गरेको थियो । त्यसअघि नै भारत र चीनसँग सीमा जोडिएका १४ नाका खोल्ने निर्णय भइसकेको थियो । गत चैत १० गतेदेखि बन्द भएका सीमा नाकामध्ये भारततर्फका १३ र चीनतर्फको एक नाका गत साउन २६ मा खुला गरिएको थियो ।

सरकारले खुलेका नाकाबाट नेपालीले निर्बाध र विदेशी नागरिकले सशर्त आवागमन गर्न पाउने निर्णय गरेको हो । विदेशीको हकमा भिसा अवधि र कोभिड परीक्षणको तीन दिनभित्रको नेगेटिभ रिपोर्ट भएका, नेपालमा कार्यरत भएको कागजात खुल्ने, कूटनीतिक नियोग र नेपाल सरकारले अनुमति दिएका विदेशीलाई मात्रै स्थलमार्गबाट प्रवेश दिने सरकारी निर्णय छ ।

भारतसँग सीमा जोडिएका कतिपय नाकाबाट आवतजावतसँगै व्यापारिक कारोबार भइरहेको छ भने कतिपयमा समस्या छ । सरकारले खुलाउने निर्णय गरेका ३० नाकाको स्थितिबारे नेपाल प्रेसका ब्युरो प्रमुखहरुले खोजी गरेका छन् ।

प्रस्तुत छ, प्रदेश नम्बर १ बाट ध्रुव भट्टराई, प्रदेश नम्बर दुईबाट सन्तोष यादव, गण्डकी प्रदेशबाट विकास रोका मगर, लुम्बिनी प्रदेशबाट रामप्रसाद आचार्य र सुदूरपश्चिम प्रदेशबाट भानुभक्त आचार्यले सीमानाकाको स्थिति र समस्याबारे तयार पारेको रिपोर्टमा आधारित यो सामग्री:

लुम्बिनी प्रदेशः चहलपहल बढ्यो, लक्ष्यभन्दा बढी राजस्व संकलन

कोरोना कहरसँगै बन्द भएका भारतसँग सीमा जोडिएका सीमानाकाहरू खुकुलिन थालेको छ । यससँगै सीमा क्षेत्रमा चहलपहल बढेको छ । अहिले नेपाल र भारतमा कोरोनाविरुद्धको खोप अभियान चलिरहेको र संक्रमणको दर पनि घट्दै गएकाले सीमा क्षेत्रमा विशेष स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर नाका खुकुलो पारिएको छ ।

लकडाउन शुरू भएको केही समयपछि भारतमा अलपत्र परेका नेपालीलाई नेपाल भित्र्याउन र भारतीय नागरिकलाई भारत छिराउन प्रदेशका दुई मुख्य नाका छुट्याइएको थियो । त्यसबेला रूपन्देहीको भैरहवा (सुनौली) र बाँकेको जमुनाह नाकाबाट स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर नेपालीलाई ल्याउने र भारतीय नागरिकलाई पठाउने गरिएको थियो । केही समयपछि कपिलवस्तुको कृष्णनगर नाकालाई पनि यसै रूपमा प्रयोग गरिएको थियो ।

रूपन्देहीमा ६० किलोमिटर खुला सीमा छ । रूपन्देहीको भैरहवा नाका वीरगन्जपछिको दोस्रो ठूलो नाकाको रूपमा परिचित छ । सरकारले यी क्षेत्रमा कडाइ गरे पनि लामो सीमा क्षेत्र खुला भएका कारण स्थानीयको आउजाउ भने रोकिएको थिएन ।

रूपन्देहीका प्रहरी प्रमुख एसपी प्रविन पोखरेल प्रहरीको सीमित संख्याले खुला सीमाबाट हुने आवतजावत रोक्न नसकिने बताउँछन् ।

जिल्ला प्रशासन कार्यालय, रूपन्देहीका सीसीएमसी संयोजक तथा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरे अहिलेको निर्णयले बेलहिया नाकाबाट स्वास्थ्य जाँच गरेर आउन–जानका लागि सहज बनाएको बताउँछन् ।

भैरहवामा लक्ष्यभन्दा बढी राजस्व संकलन

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले मालबाहक सामान आयात–निर्यातका लागि कोरोना संक्रमणकालमा पनि भैरहवाले निरन्तरता दिएको बताए । उनले सीमा क्षेत्रमा अहिलेको निर्णयले चहलपहल बढाए भए पनि अस्थायी पैठारीलाई भने स्वीकृति नदिएको बताए ।

अहिलेको निर्णयले सीमामा सुरक्षा मापदण्ड अपनाएर, स्वास्थ्य कार्यालयले चेकजाँच गरेर नागरिकलाई यताउता गराउँछ । भन्सारमा निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन भएको र अघिल्लो वर्षमा जस्तै काम सुचारु भएको पनि बताए ।

कोरोना संक्रमणका बाबजूद अहिले आयात राम्रो भएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत पूर्णप्रसाद लम्साल बताउँछन् ।

गत आर्थिक वर्ष (२०७६ साउन–पुस) को ६ महिनामा ५४ अर्ब ८१ करोड ७ लाख ४८ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा जम्मा ४५ अर्ब ४६ करोड ३६ लाख ७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । यो लक्ष्यको ८२.९५ प्रतिशत थियो । अर्थात् गत वर्षको सहज अवस्थामा पनि लक्ष्य अनुसार राजस्व संकलन भएको थिएन ।

जमुनाह नाकामा पनि चहलपहल बढ्यो, लक्षभन्दा दुई अर्ब बढी राजस्व संकलन

बाँकेको जमुनाह नाकामा पनि चहलपहल बढेको छ । कोरोनाकालमा मालसामान आयात निर्यातका लागि खुला गरिएको यो नाकामा पछिल्लो निर्णयले नागरिकलाई आउन–जान सहज भएको छ ।

चालु आर्थिक वर्षको पुस महिनासम्मको ६ महिना अवधिमा नेपालगञ्ज भन्सार कार्यालयमा ७ अर्ब, ५८ करोड ८६ लाख ३५ हजार रुपैयाँ राजस्व असुली लक्ष्य लिएकोमा ९ अर्ब ९० करोड, ७६ लाख ५६ हजार असुली भएको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले जानकारी दिएका छन् ।

उनका अनुसार यो अवधिमा नेपालगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा २ अर्ब ३१ करोड ९० लाख २१ हजार बढी राजस्व असुली गरेको हो । भारतबाट अवैध रूपमा भित्रिने मालसामान रोक्न नेपालगञ्जस्थित नेपाल–भारत जमुनाह नाकामा कडाइ गरिएपछि राजस्व असुली थप उत्साहजनक भएको छ ।

कपिलवस्तुका नाका पनि सामान्य स्थितिमा

लकडाउनपछि सुनसान जस्तै बनेका कपिलवस्तु जिल्लामा रहेका कृष्णनगर र मर्यादपुर (सुठौली) नाकामा अहिले चहलपहल बढ्न थालेको छ । कपिलवस्तुमा यीसँगै चार साना नाका छन् । लकडाउनपछि केही समय बन्द भएको केही समयपछि कृष्णनगरबाट मालसमान आवतजावतका लागि खुला गरिएको थियो भने सर्वसाधारणलाई पनि रेकर्ड राखेर आवतजावत गर्न दिइएको थियो ।

अहिले सरकारले खुकुलो बनाएको ३० वटा नाकामा कपिलवस्तुको कृष्णनगर र मर्यादपुर पनि परेका छन् । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले सरकारको पछिल्लो निर्णयले जिल्लाका दुई वटा नाकाबाट स्वास्थ्य सुरक्षा सतर्कताका साथ नेपाल भारतका नागरिकलाई आउजाउ गर्न सहज भएको बताए ।

भारतको सिद्धार्थनगरसँग जोडिएको ९३ किलोमिटर सीमा क्षेत्र कपिलवस्तुमा रहेकाले दुई वटा सीमामा मात्र कडाइ गरेर नियन्त्रण गर्न नसकिने पौडेलले बताए ।

खुल्यो कोइलाबास

दाङको कोइलाबास नाका खुला गर्ने सरकारी निर्णयले स्थानीय खुशी भएका छन् । सरकारले बन्द भएको करिब १० महिनापछि कोइलाबास नाका खुला गर्ने निर्णय गरेको हो ।

लामो समयसम्म नाका बन्द हुँदा जीवन कष्टकर भएर र खुलेसँगै दैनिकी सहज भएको स्थानीय खालिक सिद्धिकीले बताए ।

नाका खुला गरी व्यवस्थित र सहज बनाउन स्थानीयहरूले माग गर्दै आइरहेका थिए । यता सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासका प्रमुख माधव ढुङ्गेलले भारतको बालापुरमा आश्रित कोइलाबासका स्थानीयले नाका बन्दका कारण निकै पीडा खेप्नुपरेको बताए ।

दाङका जिल्ला प्रमुख अधिकारी जयनारायण आचार्यले स्थानीय पालिकालाई कोइलाबास नाकामा तुरुन्तै हेल्थ डेस्क स्थापना गर्न निर्देशन दिएको बताए ।

महेशपुर नाकामा अझै असहज

सरकारले खुकुलो बनाएका ३० वटा नाकामा पश्चिम नवलपरासीको महेशपुर पनि हो । तर अन्य जिल्लामा जस्तो यहाँ सहजता नभएको जिल्ला प्रशासन कार्यालयको भनाइ छ । लामो समय बन्द रहेको महेशपुर नाका पछिल्लो निर्णयबाट पनि खुल्न नसकेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जोरसिंह माझीले जानकारी दिए ।

भारतको उत्तरप्रदेश र बिहारको गरी साढे २७ किलोमिटर सीमा क्षेत्र रहेको यो जिल्लामा रहेको महेशपुर नाकामा जिल्ला सीसीएमसीले तय गरेका नागरिकलाई मात्र उताबाट आउन दिइएको अन्यलाई रोकेको उनले बताए ।

बर्दियाको सुरजपुरमा हेल्थ डेस्क स्थापना

लुम्बिनी प्रदेशको पश्चिमी जिल्ला बर्दियामा रहेको सुरजपुरसहित दुई नाका लकडाउनसँगै बन्द भएका थिए । भारतको बहराइज जिल्लासँग ८३ किलोमिटर सीमा जोडिएको यो जिल्लामा रहेको सुरजपुर नाका संचालनका लागि हेल्थ डेस्क राखी तयारी गरिएको र केही दिनमा संचालन तयारी गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी नारायण ढकालले जानकारी दिए ।

गण्डकी प्रदेशः आंशिक खुल्यो त्रिवेणी नाका, छैन स्वास्थ्य मापदण्ड !

मन्त्रिपरिषद्ले दोस्रो चरणमा खुला गर्ने निर्णय गरेको नाकामा गण्डकीको त्रिवेणी नाका पनि परेको छ । यो गण्डकी प्रदेशसँग जोडिएको एकमात्र भारतीय नाका पनि हो । जुन सोमबारदेखि खुलेको छ । नाका खुलेसँगै सीमा क्षेत्रमा चहलपहल बढेको छ । यद्यपि, उक्त नाका सहज रुपमा सञ्चालनमा भने आउन सकेको छैन ।

आयात-निर्यात हुने सामानलाई ‘क्वारेन्टिन’ मा राख्ने ठाउँको नाका पूर्ण रुपमा सञ्चालन हुन नसकेको छोटी भन्सार कार्यालयले जनाएको छ ।

प्रतिदिन ६ लाख रुपैयाँसम्म राजश्व संकलन हुने गरेको नाका बन्द भएसँगै राजश्व संकलन पनि शून्यमा झरेको त्रिवेणीस्थित छोटी भन्सारका नायब सुब्बा विजय शाही बताए ।

जिल्ला प्रशासन कार्यालय नवलपुरका सिडिओ मनमाया भट्टराई पंगेनीले नाका खुले पनि हेल्थ डेस्क, कर्मचारीलगायत अझै उपलब्ध हुन नसकेकाले पूर्ण रुपमा भने सञ्चालनमा नआइसकेको र तत्काल आवश्यक सामान उपलब्ध गराउन प्रदेश र केन्द्रीय सरकारसँग माग गरिसकिएको बताइन् ।

‘मन्त्रालयले केही मापदण्ड तोकेको छ । नाका खोल्ने तिनै मापदण्डको आधारमा हो । तर, यस विषयमा सुरुमा सरोकारवालासँग छलफल गरेरै नाका खुला ग¥यौं,’ सिडिओ पंगेनीले भनिन्, ‘नाका खुलेपनि आवश्यक जनशक्ति र हेल्थ डेस्क नभएकाले अझै पूरा रुपमा खोल्न सकेका छैनौं ।’

पंगेनीले नाका बन्द हुँदा त्यहाँबाट हुने आयात निर्यातहरु सबै भैरहवा नाकाबाटै भएको बताइन् । उनले भनिन्, ‘नाका बन्दकै समयमा गण्डकी नदीमाथि बनिरहेको नहर बनाउन भने नेपाल र भारत पक्ष दुवैको सहमतिमा सामान ढुवानी गर्ने सहमतिसहित काम भइरहेको थियो । त्यसबाहेक अन्य कामका लागि नाका सिल्ड नै थियो ।’

गण्डक नदीलाई आधार मानेर छुट्याइएको त्रिवेणी नाकाको पश्चिमी भागमामात्रै नवलपुरको भागमा पर्ने र सम्बन्धित पक्षसँग छलफल भइरहेको सिडिओ पंगेनीको भनाइ छ । नाकासँग जोडिएका चितवन, बारा, मकवानपुर, पर्सा र भारतले पूर्वी भागको सञ्चालनको जिम्मा रहेको उनले बताइन् ।

‘नयाँ प्रजातिको कोभिड प्रभावित भएका देशबाट आउन नाकामा गृहमन्त्रालयले विशेष नीति बनाएको छ । तर, त्रिवेणी नाका भारत र नेपालबाटमात्रै आउजाउ गर्ने भएकाले त्यस्तो समस्या हुँदैन,’ पंगेनीले भनिन्, ‘स्वास्थ्य डेस्क, पूर्वाधार, कर्मचारी यथासिघ्र व्यवस्था गर्न गण्डकी प्रदेश र नेपाल सरकारलाई खबर गरिसकेका छौं ।’

नाका बन्द भएर आयात निर्यात रोकिएपछि स्थानीय आत्मनिर्भर बनेको सिडिओ पंगेनीको दाबी छ ।

कोरोना महामारी रोक्न सरकारले गरेको लकडाउनसँगै बन्द रहेको नाकामा अपराधिक क्रियाकलापमा पनि न्यून भएको सिडिओ पंगेनीको दाबी छ ।

लकडाउनकै समयमा पनि सम्भावित अपराधिक क्रियाकलापलाई रोक्न चितवन, बारा, मकवानपुर र पर्सासँग संयुक्त बैठक बसेर त्यसबारे छलफल पनि गरेको उनले सुनाइन् ।

सुदूरपश्चिम प्रदेशः अझै भएन सहज आवागमन, भारतीय पक्षको आनाकानी

सुदूरपश्चिमका भारतसँग जोडिएका नाकाहरू पनि खुलेका छन् ।

जिल्ला प्रशासन कार्यालय बैतडीले भारतीय निकायलाई नाका खोल्ने विषयमा पत्र पठाएको थियो ।

बैतडी र दार्चुला दुवै ठाउँका नाका भारतीय पक्षले खोलिसकेको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोख्रेलले पूर्ण रूपमा सीमा सुचारु नभए पनि मानिसको आवतवात आंशिक रूपमा भइरहेको बताए ।

गौरिफन्टा र गड्डाचौकीमा पनि समस्या

सरकारले कैलालीको गौरिफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका भने यस अघि नै खुलिसकेको जनाएको थियो । तर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भने अझैसम्म नाका नखुलेको जनाएको छ ।

‘नाका खुलेको छैन’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले भने, ‘अहिले सीमित सवारी साधनबाहेक आवतजावत सहज भएको छैन ।’

जिल्ला प्रशासन कार्यालय कैलालीले पनि नाका खुलाउने विषयमा त्यस्तो निर्देशन नआएको जनाएको छ ।

‘विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको सुरक्षा तथा क्वारेन्टिन सम्बन्धी आदेश आएको हो’ कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले भने, ‘यसमा नेपालबाट सहजरुपले भारत जान दिने व्यवस्था उल्लेख छैन ।’

प्रदेश– १ः नाका खुकुले भएपछि स्थानीय र व्यापारी खुसी

प्रदेश– १ का भारतसंग सीमा जोडिएका नाका खुकुलो बनाइएको छ । तुलनात्मक रुपमा भारतको बिहार र पश्चिम बंगाल राज्यसंग सीमा जोडिएका नाका बढी खुकुलो बनाइएको हो ।

ईलामको पशुपतिनगर, झापाको काँकडभिट्टा तथा खजुरगाछी, मोरङको रानीमा कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को वेबसाईटमा राखिएको अनलाईन फारम भरेर सीमा नाकाबाट आवागमन गर्न पाउने व्यवस्था मिलाइएको छ । जसकारण ती नाकामा आवतजावत सहज भएको छ ।

अनलाईन फारम भरेपछि प्राप्त हुने बारकोडसहितको रसिद देखाएर सम्बन्धित भन्सारबाट आमनागरिकले आवागमन गर्न पाउने छन् । नाकाको आवागमनमा सर्तसहित भारततर्फ जाने व्यवस्था मिलाइएको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जानकारी दिए ।

नेपालबाट भारततर्फ जान समस्या नरहे पनि भारत वा अन्य देशबाट आउँदा भने स्वास्थ्य परीक्षणको रिर्पाटलाई अनिवार्य गरिएको प्रजिअ निरौलाले बताए ।

भारततर्फका धेरै नाका बन्द हुँदा सीमाका नेपालीले घरायसी सामान खरिद, नातागोता भेटघाट र खेतीपातीका लागि समेत सहज ओहोरदोहोर गर्न पाएका थिएनन् ।

प्रदेश–२ः प्रभावकारी भएन सरकारी निर्णय, नाकामा अझै समस्या

सरकारले निर्णय गरे पनि प्रदेश–२ का भारतसँग जोडिएका सीमानाका राम्रोसित खुलेको छैन ।

सरकारले प्रदेश–२ का कुनौली (सप्तरी), जटही (धनुषा), इनर्वा (धनुषा), भिट्टामोड (महोत्तरी), मलंगवा (सर्लाही), बंकुल (रौतहट), मटिअर्वा (बारा) र माडर (सिरहा) नाका खुल्ला गर्ने निर्णय गरेको छ । तर उक्त नाकामा सवारीसाधन आवतजावतमा रोक लगाइरहेको छ ।

धनुषाका एसपी प्रकाश रानाभाटले पैदल आवतजावतका लागि नाका खोलिएको बताए ।

प्रदेश २ मा ३९ वटा भन्सार नाका छन् । प्रदेश २ का ८ वटै जिल्ला भारतीय सीमासँग जोडिएको छ । भारतीय सीमा क्षेत्रसँग यस प्रदेशका ४६४ किलोमिटर सीमा जोडिएको छ ।

सवारी साधन समेत चल्नेगरी नाका नखोल्दा सिमा क्षेत्रका जनताको दैनिकी कष्टकर बनेको छ । बजारमा महंगी बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर