अरुको साथ नपाएपछि प्रचण्ड-माधव पक्ष एक्लै आन्दोलनमा – Nepal Press

अरुको साथ नपाएपछि प्रचण्ड-माधव पक्ष एक्लै आन्दोलनमा

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षले फागुन ७ पछि संयुक्त आन्दोलन गर्ने भनी दाबी गरेको भए पनि त्यसो नहुने भएको छ ।

प्रचण्ड-माधव पक्षले आइतबार एक्लै आन्दोलनमा जाने गरी चौथो चरणको संघर्षका कार्यक्रम घोषणा गरेबाट पनि संयुक्त संघर्ष गर्ने प्रचण्ड-माधव पक्षको चाहना पूरा नभएको देखिएको छ। केन्द्रीय संघर्ष समितिले पेरिसडाँडामा पत्रकारसम्मेलन गर्दै फागुन ५-२१ सम्मको कार्यक्रम घोषणा गरेको हो ।

तर, अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरूले यसअघि भने फागुन पहिलो सातादेखि संयुक्त आन्दोलन गर्ने दाबी गरेका थिए।

२२ माघमा आयोजना गरेको आम हड्ताल सफल पार्न ललितपुरका सडकमा निस्केका प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै संयुक्त आन्दोलनका लागि राजनीतिक दलहरू, नागरिक समाज र अन्य पक्षसँग कुरा भइरहेको बताएका थिए।

‘हामी माघ २८ गते विशाल प्रदर्शन गर्दैछौं, त्यसपछि पनि प्रतिगमन सच्चिएन भने फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुन्छ,’ प्रचण्डको दाबी थियो, ‘त्यसपछि केपी ओलीको आयु सकिन्छ ।’

जनता समाजवादीका नेता बाबुराम भट्टराईलगायतले संयुक्त आन्दोलन गनुपर्ने बताइरहे पनि प्रमुख विपक्षी नेपाली कांग्रेसले भने संयुक्त आन्दोलन गर्न इन्कार गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले संयुक्त आन्दोलनको साटो आफ्नै एजेन्डा लिएर सडकमा जाने बताइरहेका छन्।

संयुक्त आन्दोलन गर्ने आफूहरूको प्रयत्न असफल भएको घोषणा भने २८ माघमा काठमाडौंमा आयोजना गरेको विरोध सभामा प्रवक्ता नारायणकाजी श्रेष्ठले गरेका थिए।

‘आन्दोलनलाई संयुक्तरूपमा अघि बढाउन चाहन्थ्यौं,’ संयुक्त संघर्ष समितिका संयोजक समेत रहेका उनले भनेका थिए, ‘हामी कांग्रेस, जसपासँग संयुक्त कार्यक्रम गर्न चाहन्थ्यौं । त्यो अहिले भएको छैन तर हामी छलफलमा छौं ।’

संयुक्त आन्दोलन नभए पनि अहिले देशै आन्दोलित भइरहेको उनको तर्क थियो । ‘सरकारी गुटबाहेक सिंगो देश अहिले आन्दोलनमा छ’ उनको दाबी थियो, ‘संयुक्त आन्दोलन नभए पनि अहिले सिंगो देश आन्दोलनमा छ ।’

चौथो चरणमा लचिलो कार्यक्रम

सरकारविरुद्ध आमहड्तालसम्म उत्रिएको प्रचण्ड-माधव पक्षले चौथो चरणमा भने लचक कार्यक्रम घोषणा गरेको छ।

फागुन ६ गते प्रतिनिधिसभा विघटन, महंगी र भ्रष्टाचारको विरोधमा काठमाडौंको टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर विरोध कार्यक्रम तय गरेको छ।

अलि ठूलो कार्यक्रमका रूपमा फागुन १२ गते चितवन, फागुन २१ गते दाङ, जनकपुर, नेपालगञ्ज, लगायतका शहरहरूमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम राखिएको छ। त्यसबाहेकका धेरै कार्यक्रम प्रदेश, जिल्ला, पालिका र वडाकेन्द्रित छन् ।

फागुन ५ गते देखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्लास्तरीय विरोध प्रदर्शन, सभा लगायतको विरोध कार्यक्रम राखिएको छ।

फागुन ७ गते देशव्यापी रुपमा सबै पालिकाका वडाहरूमा वडा स्तरीय विरोध कार्यक्रम गरिने भएको छ। त्यस्तै फागुन ८ गते काठमाडौंमा नागरिक समाजसँग वृहत् अन्तरक्रिया कार्यक्रम हुने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *