नारायणकाजीको स्पष्टीकरण-पशुपतिनाथबारे हाम्रा नेताको भनाइ तोडमोड गरियो (भिडियो) – Nepal Press

नारायणकाजीको स्पष्टीकरण-पशुपतिनाथबारे हाम्रा नेताको भनाइ तोडमोड गरियो (भिडियो)

काठमाडौं । प्रचण्ड-माधव पक्षीय नेकपाले पशुपतिनाथ र हिन्दू धर्मका विषयमा आफ्ना नेताहरुको भनाइलाई बंग्याइएको भन्दै आपत्ति जनाएको छ । सो पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतवार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा पशुपतिनाथ र जनताको धार्मिक आस्थाप्रति सम्मान रहेको बताए ।

श्रेष्ठले भने, ‘पशुपतिनाथ विश्वभरिका हिन्दूहरूको आराध्यदेव र आस्थाको केन्द्र हो । त्यसको हामी सम्मान गर्छौं र जनताको धार्मिक आस्थाको पनि सम्मान गर्छौं । हाम्रा नेताहरूको प्रस्तुतिलाई गलत ढंगले तोडमोड गरेर धर्म र पशुपतिनाथजस्तो धार्मिक संस्थालाई संकीर्ण राजनीतिक स्वार्थका लागि उपयोग र तुच्छ स्वार्थका लागि दुरुपयोग नगर्न अनुरोध छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि पशुपतिनाथमा पुगेर पूजा अर्चना गरी सुनको जलहरी लगाउने घोषणा गरेपछि प्रचण्ड-माधव पक्षले ओलीले धर्मनिरपेक्षता त्यागेको आरोप लगाएको थियो । माघ २८ गतेको काठमाडौंकाे आमसभामा अधिकांश वक्ताले ओलीको पशुपतिनाथ भ्रमणबारे कडा टिप्पणी गरेका थिए ।

रघुजी पन्तले २०५८ मा राजा वीरेन्द्रले पशुपतिमा क्षमापूजा गर्दा वंशनाश भएको प्रसंग निकाल्दै ‘ओलीको के हुने हो ?’ भनी प्रश्न गरेका थिए । विश्व हिन्दू महासंघलगायतका संस्थाले नेताहरूको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै हिन्दू धर्म र पशुपतिनाथको अपमान गर्नेलाई बहिस्कार गर्न आह्वान गरेकै बेला प्रवक्ता श्रेष्ठले यस्तो स्पष्टीकरण दिएका हुन् ।

संघर्षका कार्यक्रम घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारको प्रश्न सकिएपछि उनले आफैं समय लिएर पशुपतिनाथबारे स्पष्टीकरण दिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर