घनश्याम भुसाललाई धक्का : तिलोत्तमाका मेयर, उपमेयरसहितका जनप्रतिनिधि ओली पक्षमा लागे – Nepal Press

घनश्याम भुसाललाई धक्का : तिलोत्तमाका मेयर, उपमेयरसहितका जनप्रतिनिधि ओली पक्षमा लागे

बुटवल । प्रचण्ड-माधव पक्षीय नेकपाका प्रभावशाली नेता घनश्याम भुसालका मुख्य सहयोगी मानिने रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे केपी ओली पक्षमा लागेका छन् ।

अर्थमन्त्री तथा नेकपा महासचिव विष्णु पौडेलसँगको पटक-पटकको छलफलपछि उनले आइतवारबाट घनश्याम भुसालको साथ छाडेका हुन् । भुसालको गृहनगर तिलोत्तमाका मेयर घिमिरे र उपमेयर जागेश्वरी चौधरी दुवैजना पार्टी विभाजनपछि प्रचण्ड-माधव पक्षमा थिए ।

शनिवारको बुटवलको जनसभामा भाग लिन पुगेका महासचिव पौडेलले आइतवार अपरान्ह मेयर घिमिरे र उपमेयर चौधरीको बीचमा बसेर ‘हामी सँगै थियौं र सँगै हुनेछौं’ भन्ने स्टाटससहितको फोटो फेसबुकमार्फत सार्वजनिक गरेपछि दुवै नेकपा पंक्तिमा खैलाबैला मच्चिएको थियो ।

घिमिरेनिकट स्रोतका अनुसार उनी र उपमेयरसहित नगरपालिकाका अधिकांश वडाध्यक्ष र सदस्यहरूले सल्लाह गरेर प्रचण्ड-माधव पक्ष परित्याग गर्ने निर्णय भएको हो । सो नगरपालिकामा तत्कालीन एमालेले जितेको थियो ।

पार्टी विभाजनपछि रुपन्देहीमा प्रचण्ड-माधव पक्षको अधिकांश बैठक र छलफलहरू घिमिरे नेतृत्व र उनकै होटलमा हुने गरेका थिए । त्यस्तै उपमेयर चौधरीलाई अ‍ोली पक्षले केन्द्रीय सदस्य मनोनीत गरे पनि अश्वीकार गरेकी थिइन् ।

आइतवार महासचिव बिष्णु पौडेललाई विदाइ गर्न मेयर उपमेयरसहित भैरहवा विमानस्थलमा पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर