सुकेको फेवातालमा नागरिक समाजको डोजर ! – Nepal Press

सुकेको फेवातालमा नागरिक समाजको डोजर !

‘सही समय छ, गेग्य्रान झिकेर तालको सौन्दर्य र आयु बचाऊ’

पोखरा । फेवातालको ड्याम मर्मत गर्न भन्दै अहिले एक मिटर पानी घटाइएको छ । फेवातालबाट एक मिटर पानी घटाउँदा करिब ५ लाख ८० हजार लिटर पानी बगेर गएको छ ।

तालको बाँध तथा नहर मर्मत गर्ने भन्दै जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, कास्कीले गत शुक्रबारदेखि पानी घटाउन सुरु गरेको हो । २ करोड रुपैयाँमा मर्मत हुन लागेको बाँध करिब एक महिनामा मात्रै मर्मत कार्य पूरा हुने डिभिजन कार्यालयले जनाएको छ ।

सुरुमा २ मिटर पानी घटाइने भनिए पनि पर्यटक तथा सरोकारवाला निकायको विरोधमा एक मिटर पानी मात्रै घटाइएको थियो । ठूलो मात्रामा पानी घटेका कारण अहिले तालको आधा भाग बगरमा परिणत भएको छ ।

बाँध, नहर मर्मत पूरा भइसकेपछि पनि ताल पुरानै स्वरुपमा फर्किन केही समय लाग्ने डिभिजन कार्यालय बताउँछ ।

ताल पुरानै स्वरुपमा फर्किन केही समय लाग्छ । बाँध मर्मत एक महिनामै सकिन्छ । त्यसपछि तालको नाममा पर्यटकहरुले सुकेको फेवाताल हेर्दै बस्ने हो त ? सरोकारवाला भन्छन्–तालमा थुप्रै माटो र गेग्य्रान भरिएको छ । ताल सुकेको मौका पारेर माटो निकालेर सुन्दरता र आयु दुवै बढाउन सकिन्छ ।’

विभिन्न प्रतिवेदन अनुसार तालमा वर्षेनि १ लाख ४२ हजार टन गेग्य्रान थुप्रिने गरेको तथ्यांक छ । प्रतिवेदनअनुसार त्यसरी तालमा वर्षेनि थुप्रिने गेग्य्रानकै कारण ताल ४० देखि ५० वर्षको अवधिमै ५० प्रतिशत पुरिएको तथ्य देखाएका छन् । प्रतिवेदनहरुमा गेग्य्रानलाई व्यवस्थापन गर्न नसक्ने हो भने दुई सय वर्षमै तालको अस्तित्व नामेट हुने चेतावनीसमेत विज्ञले दिइसकेका छन् ।

यसअघि पनि तालमा थुप्रिएका ढुंगामाटो (गेग्य्रान) निकाल्न सरोकारवाला निकायले पटकपटक पोखरा महानगरलाई सुझाउँदै आएका थिए । थुप्रिएको गेग्य्रान निकाल्न महानगरले चासो नदेखाएको भने होइन । गत वर्ष महानगरले करिब २८ हजार घनमिटर माटो फेवातालबाट निकाल्यो । तर, उक्त काम अहिले रोकिएको छ ।

तालमा गेग्य्रान रोक्न महानगरले प्रदेशसँगको सहकार्यमा तालका मुहान खोलामा सिल्ट्रेसन ड्याम पनि बनाएको छ । विभिन्न ५ ठाउँमा बनेका ती ड्यामबाट महानगरले वार्षिक ५ लाख मेट्रिक टन गेग्य्रान निकाल्ने र त्यसलाई बेचेर आम्दानी गर्नेसमेत योजना बनाएको छ ।

तालमा नागरिक समाजको डोजर

ताल सरोकारवालाले सम्बन्धित निकायलाई ध्यानाकर्षण मात्रै गरिराखेका छैनन्, शनिबार तालमा डोजरै लिएर पुगेका छन् । पोखरा उपत्यका बृहत् सरसफाइ अभियान चलाइरहेको नागरिक समाज, कास्कीले गेग्य्रान निकाल्न महानगरकै स्वीकृतिमा शनिबार तालमै पुगेर डोजर चलाएको हो ।

‘पानी सुकेको बेला तालको सफाइ गर्ने ठूलो मौका मिलेको छ । योबेला पनि हामीले तालबाट ढुंगा, माटो र फोहोर निकाल्न सकेनौं भने धेरै पछि पर्छौ’ नागरिक समाज, कास्कीका अगुवा रामबहादुर पौडेलले नेपाल प्रेससँग भने, ‘फेवातालमा डोजर लगेको महानगर र प्रदेशलाई सकारात्मक सन्देश दिनका लागि मात्रै हो, सांकेतिक दबाब दिएका हौं ।’

पोखरा बृहत् सरसफाइ अन्तर्गत फेवाताल सरसफाइ अभियान चलिरहेको छ । सोही अभियान अन्तर्गत आफूहरुले गाईघाटमा डोजर चलाएरै केही माटो र फोहोर पन्छाएको पौडेल जनाउँछन् । ‘कोमागाने पार्कमा ठूलो ठाउँ खाली छ । त्यो ठाउँमा तालबाट निकालेको गेग्य्रान व्यवस्थापन गर्न सकिन्छ’ उनले भने ।

तालको पानी घटेको समयमा त्यहाँ थुप्रिएको गेग्य्रान हटाएर तालको आयु बढाउन पोखरा पर्यटन परिषदले पनि पोखरा महानगरलाई ध्यानाकर्षण गरेको छ । परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले फेवाताल मुहानबाट बगेर आउने गेग्य्रानले तालको सौन्दर्य र आयु दुवै घटाएकाले महानगरले ढिलाइ गर्न नहुने बताउँछन् ।

‘तालको सिरान र मुहानबाट आएको गेग्य्रानले तालको आयु घट्दै गएको छ । फेवाताल पोखराको गहना पनि हो । तालको सौन्दर्यकरणमा ध्यान दिंदै यसको दीर्घकालीन संरक्षण र सम्बर्धनमा ध्यान दिन जरुरी छ’ उनले भने, ‘अहिले सही समय हो जनस्तरबाट पनि तालमा देखिएको माटो फाल्नुपर्छ भनिरहेका छन् ।’

पोखरा महानगरले पनि तालको गेग्य्रान निकाल्नेबारे आफूहरुले ‘सोचिरहेको’ जनाएको छ ।

‘अहिले सबैतिरबाट फेवातालको ढुंगामाटो निकाल्नुपर्छ भन्ने कुरा आइरहेको छ । हामी पनि त्यसबारे सोचिरहेका छौं । केही साथीहरुले निकाल्न पनि सुरु गरिसक्नु भो’ महानगर प्रमुख मानबहादुर जिसीले नेपाल प्रेससँग भने, ‘महानगर पनि चाँडै त्यहाँ थुप्रिएका ढुंगा, माटो निकाल्नुपर्छ भन्ने पक्षमा छ ।’

फेवातालमा २०१८ सालमा भारतीय सहयोग मिसनको सहयोगमा पहिलो पटक ४६ फिट बाँध निर्माण गरिएको थियो । बाँध बाँधेर कुल १५ हजार रोपनी क्षेत्रफलमा सिंचाइका लागि नहर निर्माण गरिएको थियो । पछि उक्त बाँध २०३१ सालमा बाँध फुटेर गएको थियो ।

पछि २०३४ कात्तिक १८ गते पुनः नयाँ बाँधको शिलान्यास गरिएको थियो । उक्त बाँध संयुक्त राष्ट्रसंघको सहयोगमा निर्माण गरिएको हो । उक्त बाँध निर्माण कार्य २०३५ सालमा आएर सम्पन्न भएको थियो । ३५ सालमा बाँध निर्माण भएयता हालसम्मकै सबैभन्दा ठूलो मर्मतसम्भार गर्न लागिएको हो ।

पोखरा महानगरले प्रधानमन्त्री कार्यालयलाई बुझाएको पछिल्लो रिपोर्टमा फेवातालको क्षेत्रफल १० हजार रोपनी छ । तर, पनि तालको सीमांकन र नक्सांकनमा विवाद हुँदै आएकाले पछिल्लो पटक समिति नै गठन गरेर तालको पुनः सीमांकन, नक्सांकन भइरहेको छ । समितिले तालको सीमांकन सकिएर नक्सांकन भइरहेको र चाँडै तथ्यांक सार्वजनिक गर्ने जनाएको छ ।

यो पनि पढ्नुहोस् ।

जब फेवाताल सुक्यो !

फेवातालबाट बग्यो झन्डै ६ करोड लिटर पानी !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.