‘काठमाडौंमा आक्रमण गर्न गिरिजाको प्रस्ताव थियो’ – Nepal Press
जनयुद्ध डायरी

‘काठमाडौंमा आक्रमण गर्न गिरिजाको प्रस्ताव थियो’

काठमाडौं । प्रचण्ड-माधवपक्षीय नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य युवराज दुलाल ‘शरद’ तत्कालिन माओवादी जनसेनाका पूर्वकमाण्डर हुन् । शान्तिप्रक्रियापछि तत्कालीन माओवादीका सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत केन्द्रीय नेताहरूको सुरक्षाको कमाण्डसमेत उनले सम्हाले ।

पछिल्लो समय उनी बागमती प्रदेशको सामाजिक विकास मन्त्री थिए । नेकपामा विवादसँगै आफ्नो समूको योजनाअनुसार दुलाल मन्त्रीबाट राजीनामा दिएर बसेका छन् ।

युद्धकालमा ब्रिगेड सहायक कमाण्डरको भूमिकामा माओवादी सशस्त्र युद्धको अन्तिम आक्रमण उनी संलग्न थिए । उनले काठमाडौं लक्षित थानकोट आक्रमणको समेत नेतृत्व गरेका थिए । तत्कालीन माओवादीले व्यवस्था नै बदल्ने भन्दै सशस्त्र युद्ध थालेको २५ वर्ष पुगिसकेको छ । सशस्त्र युद्धको २५ औं वर्षगाँठका अवसरमा नेपाल प्रेससँग तत्कालीन सैन्य कमाण्डर दुलालले आफ्नो जनयुद्ध अनुभव यसरी वर्णन गरे :

देशमा एकात्मक सामन्ती राजतन्त्रको अन्त्य गरेर गणतन्त्र ल्याउनुपर्छ र त्यसका लागि सशस्त्र दीर्घकालीन युद्ध नै आवश्यक छ भन्ने बहस चल्न थाल्दा म बालकै थिएँ । विद्यालय पढ्दै गर्दा क्रान्ति र परिवर्तनका कुराहरुले मलाई आकर्षित गरिहाल्यो ।

माओवादी जनयुद्ध शुरु हुँदा म १४ वर्षको थिएँ । अहिलेको सिन्धुपाल्चोकको चौतारा साँचोगढी नगरपालिका वडा नम्बर ७ मा रहेको सिद्धि गणेश माविमा पढ्थेँ । त्यतिबेलै अखिल क्रान्तिकारीको विद्यालय इकाइ कमिटीमा आवद्ध भएर क्रान्तिको भूमिमा पाइला टेकेको हुँ ।

विद्यालयमा जनयुद्धका भूमिगत पर्चाहरू बाँड्ने, राँके जुलुस गर्ने, भूमिगत भएका माओवादी कार्यकर्ताको रुट तय गर्ने, सेल्टर व्यवस्थापन लगायतका काम हामी गथ्र्यौं । २०५५ सालमा एसएलसी दिएपछि पार्टी संगठन र विद्यार्थी संगठनका नेताहरूको तर्फबाट जनयुद्धमा पूर्णकालीन भएर लाग्ने प्रस्ताव आयो । तर, घर-परिवारबाट भने पढाइलाई नै निरन्तरता दिनुपर्ने जोड थियो । उहाँहरु मलाई विज्ञान विषय लिएर पढ्न सुझाव दिनुभयो ।

परिवारको सुझावअनुसार म काठमाडौं पढ्न आएँ । पाटन क्याम्पसमा कर्मस पढ्ने निर्णयमा पुगेर फर्म भरियो । काठमाडौंको विद्यार्थी राजनीतिका गतिविधमा व्यस्त पनि भएँ । भूमिगत गतिविधिमा पनि उत्तिकै संलग्नता भइराख्थ्यो । प्रहरी निसानामा पर्न थालियो । बाहिर बसेर भूमिगत गतिविधि गर्दा गिरफ्तारीको खतरा पनि बढ्यो । अनि आइकमको पहिलो वर्षको परीक्षा दिएर म भूमिगत भएँ । यो २०५६ तिरको कुुरा हो ।

प्रारम्भिक सैन्य तालिम
शुरुमा भूमिगत भएर म सिन्धुपाल्चोकमै बसेँ । मलाई पार्टीले केही महिनापछि दोलखाको विद्यार्थी संगठनको कार्यवाहक अध्यक्ष बनाएर पठायो । त्यहीँ मैले प्रारम्भिक सैन्य तालिम लिएँ । विद्यार्थीको जिल्ला नेता हुँदा नै मैले ‘स्क्वाड’ को सैन्य तालिम पुरा गरेँ । पछि जनमुक्ति सेनाको शिविरको तालिम पनि सकेँ । विद्यार्थीमा काम गर्दागर्दै मलाई सेनामा काम गर्न मन लाग्यो र २०५७ देखि जनमुक्ति सेनामा प्रवेश गरेँ । त्यहाँ मलाई प्लाटुन सहायक कमाण्डर नियुक्ति गरियो । त्यसमा ४५ जना जनमुक्ति सेना रहन्थे ।

स्क्वाडमा तालिम गर्दागर्दै पनि विभिन्न फौजी कारबाहीमा मैले सहयोगी भूमिका निर्वाह गरेकै हुन्थेँ । एम्बुस राख्ने काममा हामी खटिन्थ्यौं । युद्धको अनुभव पनि भइराखेको हुन्थ्यो ।

कोड भाषाले झुक्याएको त्यो आक्रमण
मैले आफैले एसल्ट (युद्धमा अगाडि गएर आक्रमण गर्ने समूह) को कमाण्ड गरेर लडेको पहिलो लडाइँ चाहिँ सोलुखुम्बुको सल्लेरी कारबाही हो । जिल्ला सदरमुकाम नै कब्जा गर्ने योजना थियो । त्यतिबेला दाङको घोराही, स्याङ्जाको स्याङ्जा र सोलुखुम्बको सल्लेरी आक्रमण गर्ने पार्टीको योजना थियो । चलिरहेको शान्ति वार्ता ‘बे्रक’ गरेर त्यो फौजी कारबाही गरिएको हो । मलाई त्यो भन्दा अघिको युद्धको अनुभव हेरेर जिल्ला प्रहरी कार्यालयको मुल गेटको एसल्टको जिम्मेवारी दिइएको थियो । मैले त्यो कुशलतापूर्वक निर्वाह गरेँ ।

हामीले एकदिन अगाडि आक्रमण गर्नुपर्ने थियो । तर प्राविधिक त्रुटिले गर्दा हामी एक दिन पछाडि पर्‍यौं । नेतृत्वले पार्टी हेडक्वार्टरमा समन्वय गर्दा ल्यान्डलाइनबाट फोन गर्नुपथ्र्यो । कोड भाषा प्रयोग गरिन्थ्यो । ‘डबल वान’ भनेको त्यस्तै एउटा कोड रहेछ । जसको अर्थ ११ बजे आक्रमण गर्ने भनेको रहेछ । हाम्रो कमाण्डरले ११ गते भन्ने बुझिदिनुभए छ । १० गते ११ बजे हुनुपर्नेमा ११ गते १० बजे बुझिदिनु भएछ । त्यो बेला अहिले जस्तो सञ्चारको सुविधा थिएन । धेरै टाढा गएर, त्यो पनि सुरक्षाको सबै प्रबन्ध मिलाएर कोड भाषामा पार्टीको माथिल्लो कमााण्डसँग सम्पर्क गर्नुपर्ने अवस्था थियो ।

हामीलाई पछि थाहा भयो आजै हो आक्रमण गर्ने भन्ने । तर, हामी १० गते नै तयारी गरेर जान सकेनौं । अनि हामीले ११ गते नै १० बजे हान्नुपर्ने स्थिति बन्यो । अघिल्लो दिन नै स्याङ्जा र घोराहीमा आक्रमण भइसकेको थियो । दाङमा सेनामाथि नै आक्रमण भएको थियो । अब माओवादीले सेनामाथि नै आक्रमण गर्छन् भन्ने कुरा ‘एक्सपोज’ भइसकेको थियो र सेना सतर्क भएको थियो ।

हामीले ‘हाइ अलर्ट’ मा रहेको सल्लेरीको सेनाको व्यारेक, प्रहरी कार्यालय र सीडीओ कार्यालयमा एकैपटक घेराबन्दी गरेर आक्रमण गर्‍यौं । प्रहरी र सीडीओ कार्यालय हामीले सम्पूर्णरुपमा कब्जा गर्‍यौं । तर, सेनातर्फको लडाइँ चाहीँ सफल हुन सकेन । हामीले अघिल्लो दिन नै ‘सरप्राइज अट्याक’ गर्न पाएको भए सायद सफल भइन्थ्यो ।

हामीसँग थ्री नट थ्री मात्रै थियो । सेनासँग आधुनिक हतियार थियो । हतियारकै तालमेल पनि मिलेन । हाम्रोतर्फ सबै गरेर १४ जना साथीहरूको मृत्यु भएको थियो । प्रहरीतर्फ मेरो बिचारमा ४० जना जतिको क्षति भएजस्तो लाग्छ । सेनासँग बिहान तीन/चार बजेसम्म लडाइँ भयो तर कब्जा गर्न सकिएन । सल्लेरी आक्रमणको फौजी कमाण्डर सन्तु दराइ ‘परवाना’ हुनुहुन्थ्यो ।

मैले दुई एसल्टको नेतृत्व गरेर जिल्ला प्रहरी कार्यालयको मुल गेटबाट विजय प्राप्त नहुँदासम्म आफ्नो कमाण्ड सम्हालेँ । पार्टीले मलाई दिएको जिम्मेवारी र आफूले खेलेको भूमिका दुवैप्रति गौरव लागेको थियो ।

ती ४० भीडन्त
समग्रमा जनयुद्धका ४० वटा युद्ध मोर्चामा म सहभागि भएँ । तीमध्य पहिलो ठूलो कारबाही सोलुखुम्बुको सल्लेरी हो । त्यहाँबाट हामीले सिराहाको लहानमा कारवाही गर्‍यौं । ओखलढुंगाको रुम्जाटारको सैन्य व्यारेकमाथि हामीले आक्रमण गर्‍यौं । यस्तै, काभ्रेपलाञ्चोकको भकुण्डेबेसीमा हानियो । दोलखा सदरमुकाम चरिकोटमा रहेको कारागार कब्जा गर्ने गरी हमला गर्‍यौं । दोलखा र सिन्धुपाल्चोकको मुढेमा हामीले सेनासँग बिहान १० बजे राजमार्गमा लड्यौं । सर्लाहीको बयलबासमा मेरै कमाण्डमा दिउँसो चार बजे इलाका प्रहरी कार्यालयमाथि आक्रमण र कब्जा गर्‍यौं ।

पूर्वतिर हाम्रो सबैभन्दा ठूलो लडाई सिराहाको बन्दीपुर हो । हामीले चारवटा ब्यारेकमाथि एकै दिन आक्रमण गर्‍यौं, त्योमध्ये मुख्य लडाइँ बन्दीपुर थियो । त्यसलाई हामीले ‘अप्रेशन बिके बिशाल’ नाम दिएका थियौं । विशाल र कुमार चाहीँ पार्टीको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । उहाँहरु शहीद हुनु भएको थियो ।

त्यो पूर्वी डिभिजनको सबैभन्दा ठूलो मोर्चाबद्ध युद्ध पनि हो । त्यसको माथिल्लो कमाण्ड वर्षमान पुन ‘अनन्त’ ले गर्नु भएको थियो । म त्यतिबेला सेनाको बटालियन कमाण्डर थिएँ । एउटा बटालियनमा करिब ५ सय सेना हुन्थ्यौं ।

यो लडाइँ सोचेअनुसार राम्रो हुन सकेन । राती सेनाको नाइटभिजन आयो । माथिबाट बम खसाल्न थाल्यो । सबैतिरको आर्कमा हाम्रोतर्फ क्षति हुन थाल्यो । साथीहरू शहीद हुने क्रम बढ्यो । केही कमाण्डर कमिसार पनि शहीद भए । त्यसले गर्दा ती आर्कमा कमाण्ड भएन । सबैतिर उत्तिकै राम्रो नहुँदा घेरा कस्न सकिदैन ।

तर, मैले कमाण्ड गरेको सैनिक ब्यारेकको राजमार्ग पट्टिको मुख्य गेटको लडाइँमा चाहीँ बिहान पाँच बजेसम्म पनि मोर्चा छोडेनौं । बीचमा मैले कमाण्डर अनन्तलाई सम्पर्क गरेर ‘हाम्रो क्षेत्रबाट कब्जा गर्ने सम्भावना छ, म अगाडि बढीरहेको छु’ भने । उहाँले अगाडि बढ्न भन्नुभयो । करिब बिहान पौने पाँच बजेसम्म हामी लड्यौं तर कब्जा भएन ।

त्यहाँबाट फर्किँदा सिन्धुलीको सान्दानेमा सेनाले हामीलाई घेरा हाल्यो । त्यहाँ पनि हामी दिउँसै लडेर अगाडि बढ्यौं । त्यसपछि हामीले ‘काउन्टर’ योजना बनायौं । सेनाले पिछा गरेको गर्‍यै गर्‍यो । काभ्रेपलाञ्चोकको नार्के आइपुग्दा सेनासँग आमनेसामने भइयो । त्यहाँ हामीले सेनालाई आक्रमण गर्‍यौं र दिउँसै सेनामाथि बिजय प्राप्त गर्‍यौं । फेरि पनि हामीलाई सेनाले छोडेन । काभ्रेकै घर्तीछाप भन्ने ठाउँमा सेना आइपुग्यो । त्यहाँ पनि सेनासँग लडेर हामीले बिजय प्राप्त गर्‍यौं ।

ढाडमा गोली लागेपछि
काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा रहेको ब्यारेकमा हामीेले २०६२ माघ २४ गते आक्रमण गर्‍यौं । त्यो पनि ठूलै लडाइँ हो । त्यहाँ म गम्भीर घाइते भएँ । मलाई गोली लागेको थियो । ढाडमा लागेको गोली पेटबाट निस्केको थियो ।

पनौतीको आक्रमणमा म पाचौंपटक घाइते भएका थिएँ । त्यसअघि रुम्जाटारमा पनि मलाइ बमका छर्रा लागेका थिए । चैनपुरमा पनि बमका छर्रा लागेको थियो । एकपटक गोली लागेर हात छेडिसकेको थियो । मकवानपुरको झुरझुरेमा बम लागेर छातीमा ठूलो घाउ भएको थियो । पूर्णरुपमा निकै नभइ म पनौतीको आक्रमणका सहभागि भएको थिएँ । एउटा हात नचल्दै पनि म कारबाहीको कमाण्ड गर्न आएको थिएँ ।

आधुनिक हतियारको फायरमा हामी एकैपटक दुई जना साथी पर्‍यौैं । एकजना अभिमत भन्ने साथी हुनुहुनथ्यो । उहाँलाई गोली पनि ढाडबाट लागेर गोली पेटबाट निस्क्यो । उहाँ दुई/तीन दिनपछि बित्नुभयो । म चाहीँ भाग्यवस बाँचे ।

गोली लागेपछि शुरुमा त म हिँडेरै फर्केँ । रगत आइरहेको थियो, हातले टाल्दै हिँडे । मेडिकल पोस्टमा पुगेपछि साथीहरूले मलाई बोक्न कोसिस गर्नुभयो । तर, मेरो हाइट र तौल धेरै भएकाले उहाँहरूले बोक्न सक्नु भएन । घिसार्दै लगेर गाडीमा हाल्नुभयो । गाडीले काभ्रेको कामीडाँडा पुर्‍यायो । भोलिपल्ट गाउँलेले स्ट्रेचरमा बोकेर लानु भयो । म कहीँ हिँडे, कहीँ बोकियो ।

स्वास्थ्यकर्मीले मुखबाट कुनै पनि खानेकुरा खान मलाई दिएका थिएनन् । अवस्था गम्भीर छ भन्ने त्यहीबाटै लागेको थियो । म यो घाउका कारणले मर्न सक्छु भन्ने शंका थियो । तर, मृत्युसँग केही मतलव नै थिएन । केही डर पनि थिएन ।

भारतमा लगेर जाँच गरिसकेपछि भने खतरामुक्त देखियो । त्यहाँबाट फर्किएर आएर मैले मकवानपुर र चितवन क्षेत्रमा दुई महिनासम्म आराम गरेँ ।

फिल्मी शैलीको थानकोट आक्रमण
जनयुद्धको अन्तिम शहरी लडाइँ चाहीँ काठमाडौंको थानकोटमा हो । २०६२ साल माघ १ गते त्यहाँ आक्रमण गरेका थियौं ।

खासमा भन्ने हो भने थानकोटमा कारबाही गर्ने ठोस सपना नै मेरो हो । पार्टीमा प्रस्ताव पनि मैले गरेको हो । पार्टीले जिम्मा पनि तोकेर मलाइ नै दिएको हो । त्यतिबेला यो क्षेत्रको कमाण्ड इन्चार्ज अनन्त हुनुहुन्थ्यो । उहाँले मेरै नेतृत्वमा पठाउने भनेर निर्देशन दिनु भएको रहेछ मेरो कमिसारलाई ।

थानकोटमै आक्रमण गर्नुपर्छ भन्ने पार्टीको निर्देशन चाहीँ थिएन । जनमुक्ति सेनाले थानकोटमै आक्रमण गर्न सक्छ भन्ने पार्टीलाई विश्वास लागेको थिएन । काठमाडौं उपत्यकाभित्र कुनै पनि ठाउँमा जनताले देख्ने ठाउँमा तीस/चालीस जना जनमुक्ति सेना बर्दी लगाएर मार्चपास मात्रै गर्‍यो भने पनि त्यो ठूलो कारबाही हुन्छ भनिएको थियो ।

सागरको कमाण्डमा केही समयअघि एसटीफएम भन्ने टिम पठाइएको थियो । त्यसका ४५ जना साथीहरू गिरफ्तार परिसक्नु भएको थियो । जति मान्छे गए पनि गिरफ्तार भैहाल्ने हुनाले काठमाडौंमा कारबाही गर्न सकिदैन भन्ने पार्टीभित्र एउटा बुझाइ बनेको रहेछ । त्यस्तो अवस्थामा ड्रेस लगाएर मार्चपास मात्रै गर्न सक्यो भने पनि ठूलो धक्का हुन्छ भनेर पार्टीले भनेको थियो ।

मलाई चाहीं युनिफर्म नै लगाएर काठमाडौं आक्रमण गर्न सकिन्छ भन्ने आत्मविश्वास थियो । पहिले नेताहरूले अब हामी थानकोट आक्रमण गर्छौं भन्थे । जनार्दन शर्माले पश्चिममा भाषण गर्दा थानकोटमा आक्रमण गर्छौ भन्ने पनि हामीले सुनेका थियौं । त्यहाँबाट मेरो दिमागमा थानकोट बसेको थियो ।

तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले प्रचण्डसँग काठमाडौं उपत्यकामा एउटा थानकोट जस्तै अर्को लडाइँ आक्रमण गर्नुपर्‍यो भन्ने प्रस्ताव गर्नुभएको रहेछ ।

थानकोट आक्रमण गर्न मसहित २२ जना सैनिक हामीले छान्यौं । इलाका प्रहरी कार्यालय भएकाले इन्सपेक्टरको कमाण्डमा ४५ जनाको फोर्स त्यहाँ बस्थ्यो । हामी प्रहरी भन्दा फौजी तालिम र हतियारको हिसाबले बलिया भएकाले २२ जनाको मात्रै टिम बनायौं । दुई जना प्रहरी बराबर हामी एकजनाले सक्छौं भन्ने योजना हाम्रो थियो ।

हाम्रो दुईवटा सपना थियो । एउटा दिउँसो आक्रमण गर्ने । अर्को, जनमुक्ति सेनाको ड्रेसमै आक्रमण गर्ने । हामीले दिउँसो ४ बजेर ४० मिनेटको समय निर्धारण गर्‍यौं । हामीले भित्र सेनाको ड्रेस लगायौं । अन्तिम बेलामा खोल्ने भनेर बाहिर चाहीं सिभिल ज्याकेट लगायौं ।

तीन/चार जनाको समूह बनाएर थानकोटमा आइयो । काठमाडौंको कारवाही १० मिनेटमा सम्पन्न गर्ने हाम्रो लक्ष्य थियो । १० मिनेटभन्दा बढी बसियो भने हामी घेरबन्दीमा पथ्र्यौं । किनभने नजिकै नेपाली सेना र सशस्त्रका ब्यारेक थिए ।

त्यतिबेला शाही नेपाली सेनाले आतंककारीहरूले काठमाडौंभित्र कुनै गतिविधि गरे भने ५ मिनेटभित्र नियन्त्रणमा लिइसक्छ भनेर घोषणा गरेको थियो । हामीले सेनाको ५ मिनेटलाई च्यालेन्ज दिा पनि त्यो १० मिनेट राखेका थियौं । पाँच मिनेट होइन १० मिनेटमै पनि तिमीहरू सक्दैनौं भन्ने एउटा सन्देश हामीले दिनु थियो ।

हामीले समयमै कारबाही गर्‍यौं । सात मिनेटमै हाम्रो लडाइँ सकियो । केहीबेर प्रहरीले बन्दुक पड्काए । हाम्रो एक जना साथीको तिघ्रामा गोली पनि लाग्यो । आवश्यक हुँदा २२ जना नै शहीद हुन तयार हुनुपर्छ भन्ने संकल्प चाहीं हाम्रो टिममा थियो । तर हाम्रा १ जना मान्छेको पनि मृत्यु भएन । २२ जना नै सकुसल फर्कियौं ।

७ मिनेटको लडाइँमा उनीहरुतर्फ ११ जना प्रहरीको क्षति भयो । चौकी पूर्णरुपमा हामीले कब्जा गर्‍यौं । त्यहाँबाट २४ थान हतियार कब्जा गर्‍यौं । त्यहाँ तीन मिनेट जति नाराबाजी पनि गर्‍यौं ।

सर्वसाधारण शुरुको केही समय त फिल्म शुटिङ हो कि भनेर हेर्न थाले । पछि मैले कासन गरे- यो लडाइँ हो, गोली चलिरहेको छ । तपाईंहरू बाहिर ननिस्कनुहोस् ।

त्यसपछि मान्छेहरु घरभित्र गए । एकदमै फिल्मी शैली जस्तो लाग्छ त्यो आक्रमण । नाटकीय शैलीमा हामीले कारबाही गरेको हो । १० मिनेट भित्र हामीले लडाइँ जितेर हतियारसहित त्यहाँबाट लाग्यौं ।

आक्रमणपछि काठमाडौं एकदमै आतङ्कित थियो । भयभित थियो । पाँच मिनेटभित्रै नियन्त्रणमा लिन्छौं भनेका सेनाहरू बाहिर निस्कन सकेनन् । प्रहरी बाहिर निस्कन सकेन । एक स्टेपबाट अर्को स्टेपमा निस्कनलाई उनीहरूले निकै हिसाब गर्न थाले । उनीहरू आफैंदेखि आफै डराउने अवस्था बन्यो । सेनाले ‘मुभ’ गर्न सकेन ।

हाम्रो थानकोट बिजयले पार्टीभित्र उत्साह आयो । कालीबहादुर खामले फोन गरेर बधाइ दिनुभयो । अनन्तले फोन गरेर बधाइ दिनुभयो । बादलको पनि बधाइ सन्देश आयो । उहाँ पूर्वी कमाण्डको इन्चार्ज हुनुहुन्थ्यो । अध्यक्ष प्रचण्डले पनि बधाइ सन्देश पठाउनुभयो ।

गिरिजाको प्रस्तावपछि अन्तिम लडाईं
म सहभागि भएको अन्तिम लडाइँ चाहीं सिन्धुपाल्चोकको चौतारा हो । यो चाहीं २०६२ को चैत १० गतेको लडाइँ हो ।

त्यो गर्ने कि नगर्ने भन्ने द्विविधाबीच भएको थियो । तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले प्रचण्डसँग काठमाडौं उपत्यकामा एउटा थानकोट जस्तै अर्को लडाइँ आक्रमण गर्नुपर्‍यो भन्ने प्रस्ताव गर्नुभएको रहेछ ।

हतारमा चौतारा कारबाही हामीले गर्‍यौं । त्यहाँ पनि रातभर लडियो, तर कब्जा भएन । किनभने राम्रो तयारी थिएन । हौसला मात्रै बढी थियो । बाहिर जनआन्दोलन बढेको थियो ।

मलाई नै पार्टीले त्यसको जिम्मेवारी दिएको थियो । साँखुदेखि मुलपानी, थली, चाँगुनारायणतिर भएका सबै प्रहरी ब्यारेक हामीले सर्भे गरेका थियौं । पछि उहाँहरूले काठमाडौंभित्र आक्रमण गर्दा राजाले जनआन्दोलन गर्न आएका सबैमाथि आक्रमण गर्न सक्छन्, त्यसैले नगर्ने भन्ने कुरा आयो । हामीले सर्वे गरेर सम्पूर्ण तयारी गरिसकेपछि तपाईंहरु बाहिर आउनुपर्‍यो भन्ने कुरा भयो । हामी त्यहाँबाट निस्कदा चौतारा आक्रमण गर्ने योजना बनिसकेको रहेछ । चौतारा कारबाही हतारमा गरियो । त्यो जनुयुद्धको अन्तिम कारबाही थियो नेपालकै ।

हतारमा चौतारा कारबाही हामीले गर्‍यौं । त्यहाँ पनि रातभर लडियो, तर कब्जा भएन । किनभने राम्रो तयारी थिएन । हौसला मात्रै बढी थियो । बाहिर जनआन्दोलन बढेको थियो । सात दलसँग हाम्रो सहकार्य बढेको थियो । अहिले समीक्षा गर्दा त्यो कारबाही नगरिएको भए पनि हुन्थ्यो भन्ने लाग्छ ।

त्यहाँ हाम्रोतर्फ चारजना शहीद हुनुभएको थियो । कमाण्डर कालीबहादुर खाम ‘विविध’ हुनुहुन्थ्यो । म त्यतिबेला ब्रिगेड सहायक कमाण्डर थिएँ । गृहजिल्ला भएकाले त्यहाँको आक्रमणको सबैभन्दा जटिल क्षेत्रको जिम्मा मलाई दिइएको थियो ।

प्रतिक्रिया

2 thoughts on “‘काठमाडौंमा आक्रमण गर्न गिरिजाको प्रस्ताव थियो’

  1. ए बिचरा!! ठुलै बहादुरी पो देखाएछौ। आफ्नै दाजुभाइ सग लडेर । ताकत भएको भए भारत सग लड्थ्यौ नि।

Leave a Reply to अशोक भट्टराई Cancel reply

Your email address will not be published. Required fields are marked *