विष्णु पौडेल भन्छन्- केपी ओलीले थप एक कार्यकाल मुलुकको नेतृत्व गर्नुपर्ने भयो – Nepal Press

विष्णु पौडेल भन्छन्- केपी ओलीले थप एक कार्यकाल मुलुकको नेतृत्व गर्नुपर्ने भयो

काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपी ओलीले थप एक कार्यकाल मुलुकको नेतृत्व गर्नुपर्ने अवस्था आएको बताएका छन् । आगामी चुनावबाट ओली नेतृत्वको नेकपाले बहुमत ल्याएर छोड्ने उनले दावी गरे ।

बुटबलमा आयोजित पार्टीको जनसभालाई सम्वोधन गर्दै पौडेलले भने, ‘केपी ओलीले थप एउटा कार्यकाल प्रधानमन्त्री भएर मुलुकलाई विकास र समाजवादतर्फ लैजानु हुनेछ । हामी सबैले उहाँलाई २७ गतेको निर्वाचनपछि पनि एकपटक नेतृत्व गर्न आग्रह गर्नुपर्ने स्थिति देखा परेको छ ।’

वैशाख महिनामा सम्पन्न हुने निर्वाचनबाट ओली नेतृत्वको नेकपालाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने पौडेलले दावी गरे । पार्टीको आधिकारिकता र चुनावचिन्हका बारेमा भ्रम छर्न कोशिष भइरहेको उनले बताए ।

‘यहाँहरुको आँखामा आँखामा जोडेर भन्न चाहन्छु नेकपाको वैधानिकता र चुनावचिन्ह ओलीले नेतृत्व गरेको पार्टीसँग रहनेछ, आफ्नो हातमा रहेको सुर्य चिन्ह आत्मविश्वासपूर्वक फहराउनुस,’ पौडेलले भने ।

दुनियाको कुनै तागतले चुनाव रोक्न नसक्ने भन्दै उनले जनसभाबाट फर्केपछि गाउँ–गाउँमा टोलटोलमा चुनावको तयारीमा लाग्न निर्देशन दिए ।

नेकपा विभाजन नै नभएको दावी पौडेलले गरे । केही षडयन्त्रकारी तथा विभाजनकारी स्वार्थि तत्वहरु चोइटएको उनको भनाइ छ ।

‘नेकपा विभाजित भएको छैन, विभाजित हुने छैन,’ उनले भने, ‘सच्चा र इमान्दार नेकपाका योद्धाहरुले विभाजन हुन दिने छैनन् । केही स्वार्थी तत्वहरु किनारा लाग्नेछन् ।’

ओलीले भारतीय नाकाबन्दीको सामना गर्दा जनता र प्रतिपक्षी दलले समेत साथ दिएको तर, पार्टीभित्रैकै समूहले सरकार ढाल्ने षडयन्त्र रचेको उनले आरोप लगाए ।

‘ओलीले नै संविधान निर्माणको अगूवाई गर्नुभयो, उहाँको नेतृत्वको सरकारले ऐतिहासिक र किर्तिमानी काम गरेकोछ, ’ उनले भने, ‘पार्टीभित्रका दाउपेच र षडयन्त्रका बाबजुद सरकार अगाडि बढेको छ । अब हामी राजनीतिक स्थायित्व सुनिश्चित गर्नु छ र मुलुकलाई समृद्धितर्फ लैजानुछ । ओलीको नेतृत्वमा समाजवाद स्थापना गरेरै छाड्नेछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर