सुदूरपश्चिमकी उपसभामुखको स्मृति : दिउँसो विवाह भयो, साँझ भागाभाग ! – Nepal Press
जनयुद्ध विशेष

सुदूरपश्चिमकी उपसभामुखको स्मृति : दिउँसो विवाह भयो, साँझ भागाभाग !

कैलाली । मुलुकभर माओवादी सशष्त्र द्धन्द्धको सम्झनामा शनिबार ‘जनयुद्ध’ दिवस मनाइरहँदा सुदूरपश्चिम प्रदेशकी उपसभामुख निर्मला बडाल जोशीलाई ती युद्धकालिन् दिनहरूको याद आइरहन्छ ।

२०५६ साल । उनलाई धमिलो याद छ । करिब १६ वर्षकै उमेरमा उनी देश परिवर्तनमा हिँडिन् ।

‘कसरी लाग्नुभयो युद्धमा ?’ प्रसङ्ग सुरु भयो ।

‘सदरमुकाममा ठुलो बुवाको घर थियो । त्यही घरमा एउटा निजी विद्यालय थियो । त्यस विद्यालयका शिक्षकहरू तत्कालीन माओवादीमा आस्था राख्थे । प्रधानाध्यापक हुकुमसिंह कुँवर थिए’ केही बेर याद गर्दै उनले सुनाइन्, ‘त्यही विद्यालयमा बैठक बस्थे । म पनि कहिले काँहि आउजाउ गर्थे । सायद त्यही समयदेखि होला, म मानसिक रूपमा परिवर्तनको लागि सङ्घर्ष गर्न तयार भएकी ।’

दार्चुला नजिकै छ भारतको पिथौडागड । जहाँ माओवादीे चहलपहल व्यापक थियो । तत्कालीन अवस्थामा शिक्षाको स्थिति, बिद्यालय भवन र शिक्षण प्रक्रियाबारे उनलाई चित्त बुझेको थिएन । त्यही समयमा माओवादीले बुर्जुवा भन्दै शिक्षा प्रणाली परिवर्तनको कुरा गरिरहेका थिए ।

‘शिक्षाको अवस्था परिवर्तन गर्ने भन्दै सङ्घर्षमा जुटेँ’ उनले भनिन् ।

दार्चुलाको छान्ना तिंकरी माविको इकाई कमिटीको उपाध्यक्ष भएर तत्कालीन माओवादीमा आबद्ध भएकी निर्मला तीन दशक पछि सुदूरपश्चिम प्रदेशको उपसभामुख भएकी हुन ।

‘उपाध्यक्षदेखि उपसभामुखसम्मको मेरो यात्रा सहज छैन’ भनिन्, ‘म विद्यार्थीमा रहने बेलामै सङ्कटकाल लाग्यो । जिल्लामा बाक्लो सुरक्षाकर्मी परिचालित भए । त्यसपछि घर बस्ने स्थिति भएन । २०५७ सालको अन्त्यतिर सदरमुकाम छाडेँ ।’

दार्चुलाबाट बैतडी, डडेल्धुरा, कञ्चनपुर हुँदै उनी कैलाली पुगिन् । त्यो बेला राजेन्द्र विष्ट, गोकर्ण जोशी लगायतको टोली पनि सदरमुकामबाट भाग्दै तराइ झरेको थियो ।

महिला सङ्गठनको दार्चुला अध्यक्ष भएपछि उनले भूमिगत जीवन बिताउन थालिन् ।

‘जीवनमा धेरै पटक मृत्युको मुखबाट पनि भागेको छु’ उनले भनिन्, ‘मृत्यु कति भयानक हुँदो रहे छ भन्ने मैले नजिकबाट नियाल्न पाएँ ।’

०५८ साल माघको पहिलो साता, साविकको सुन्सेरा गाविसमा ५ जना युवाको घरभित्रै हत्या गरिएको थियो । माओवादी भन्दै हत्या गरिएका तीमध्ये कुनै पनि व्यक्ति माओवादी नरहेको पाइयो । त्यही घटना बुझ्न गएकी थिइन् निर्मला । तर, उनी पनि घेरामा परिन् ।

‘मलाई चारै तर्फबाट घेरिहाले ’त्यो पल सम्झँदै भनिन्, ‘आज अन्तिम दिन हो जस्तो लाग्यो । तर, राति १० बजे देखि बिहान ४ बजेसम्म भागेर ज्यान जोगाएँ ।’

युद्ध, प्रेम र विवाह
निर्मलाका श्रीमान् लक्ष्मीराज जोशी हुन् । उनी नेकपा (प्रचण्ड–नेपाल पक्ष)का सुदूरपश्चिम प्रदेश सह-इन्चार्ज पनि हुन् । उनी २०६४ सालको संविधानसभामा सदस्य निर्वाचित भएका थिए ।

उनीहरूले जनवादी विवाह गरेका हुन् । ‘हाम्रो पार्टीबाटै चिनाजानी भयो र विवाह भयो’ अलिकति लजाउँदै उनले सुनाइन् ‘ २०५९ सालमा बैतडीमा सामान्य विवाह भयो ।’

‘भिन्न–भिन्न जिम्मेवारी हुँदा भेटघाट पनि पातलो थियो ।’ उनले भनिन्,‘२-४ वर्ष लडिसक्यौँ । अझै कति लड्नु पर्ने हो थाहा थिएन । युद्ध नै संसार बनिसकेको थियो । त्यसैले त्यही संसारमा हामीले पनि संसार बसायौ ।’

‘क्रान्ति, युद्ध र सङ्घर्षको बिचमा कसरी प्रेम भयो ?’

‘प्रस्ताव राखेको एक महिनापछि पार्टीले विवाह गर्ने परम्परा रहेको थियो ।’ उनले त्यो सम्झँदै भनिन् , ‘यदि त्यो भन्दा कसैले भिन्न व्यवहार गर्‍यो भने त्यसलाई पदबाट मुक्त गरिन्थ्यो, जनताको घरमा ढुङ्गा बोक्न पठाइन्थ्यो, कारबाही हुन्थ्यो । ’

‘तपाइहरूमा कसले पहिला प्रस्ताव राख्नुभयो ?’ प्रसङ्ग थप गहिरो बन्यो ।

‘हामी दुवैले प्रस्ताव राखेनौ । बिना प्रस्ताव विवाह भएको हो।’ उनले जवाफ दिइन् ।

‘कसरी ?’

‘लेखराज भट्ट सर र खगराज भट्ट सरले तपाईँ दुवै जनाको जोडी राम्रो हुन्छ, दुवै राम्रो मान्छे भनेपछि हामी एक भएका हौँ ’उनले भनिन्, ‘ विवाहमा पार्टीले ४-५ वटा खसी काटेको थियो ।’

चरम युद्धमा विवाह रमाइलो मात्रै थिएन । त्रास र डर पनि उत्तिकै थियो ।

उनले भनिन्– जनमुक्ति सेना पनि थिए । पुरै ब्रिगेड आएको थियो । त्यही थाहा पाएर आर्मी र प्रहरीले घेरा हाले । दिउँसो विवाह भयो, साँझ त हामी भाग्न बाध्य भयौँ । विवाह भएको ४ दिन पछि बल्ल हाम्रो फेरि भेट भयो ।

उनीहरूको विवाह हुँदा नै भीडन्त भएको थियो । सबै तितरबितर भएका थिए । त्यो बेला बैतडी र दार्चुलाको एउटै जिल्ला कमान्ड थियो । दार्चुलाको इन्चार्ज जोशी थिए । दुवै जिल्लको इन्चार्ज खगराज भट्ट थिए ।

विवाह भन्दा पहिलो आफ्नो ज्यानको मात्रै ध्यान हुने गरेकामा त्यसपछि दुबैलाई दुवैको चिन्ता हुन थालेको अनुभव छ उनीसँग । युद्धमा कयौँ पटक ज्यान जोगाएकाले पनि होला कुनै न कुनै दिन त संसार छोड्नु पर्छ भन्ने परेको थियो उनलाई । तर, उनलाई विवाह पछि भर्खर झांगिँदै गरेको प्रेमले कमजोर बनाउन थालेको थियो।

कयौँ पटक मृत्युलाई पराजित गरेर आफै जित हात पारेकी निर्मलाले अब आफ्नो भन्दा बढी हेक्का जीवन साथीको राख्न थालिन् । विवाहपछि लक्ष्मी अछाम गए । त्यहाँ रहँदा ८ महिनासम्म निर्मलासँग संवाद हुन पाएन । उनले धेरैपल्ट पत्र पठाइन । तर, जवाफ समयमा आएन ।

‘मैले सबै पाएँ, सबै जिते । तर, छोरीको माया पाउन सकिँन । छोरीको मन जित्न सकिन । आँखा टम्म भए । उनले फेरि भनिन्, ‘छोरीको माया पाउन अहिले पनि म आफैँसँग युद्ध लडिरहेकी छु ।’

‘मलाई त्यसपछि झन् अत्यास लाग्न थाल्यो’ उनले भनिन्, ‘उहाँ आउने बित्तिकै हामीले सन्तानको योजना बनायौँ ।’ विवाह अघि नजिक रहेका दुवै जना विवाहपछि कार्यक्षेत्र फेरिँदा भौगोलिक दुरीले थप टाढा भए ।

युद्धमा कतिले श्रीमान् गुमाए, कतिले श्रीमती गुमाए । यी सबै दृश्य देखेकी निर्मलालाई एउटै त्रासले सताउन थाल्यो । ‘म नभए पनि जीवनभर उहाँले मेरो सन्तानमा म देख्नु हुने छ । उहाँलाई गुमाएँ भने पनि मैले उहाँको याद सन्तानलाई हेरेर मेटाउने छु’ भारी मन बनाउँदै उनले थपिन् ‘एकले अर्काको अभाव पूर्ति गर्न सन्तान जन्मायौँ ।’

छोरी त जन्मिइन तर, हुर्काउन बढाउन भने सहज थिएन । छोरीलाई सुरक्षित राख्न सानैदेखि आफन्तको जिम्मा लगाइन् । सन्तानलाई जन्म दिएर पनि आफूसँगै राख्न नपाएकोमा उनलाई साह्रै पीडा छ ।

‘मैले सबै पाएँ, सबै जिते । तर, छोरीको माया पाउन सकिँन । छोरीको मन जित्न सकिन । आँखा टम्म भए । उनले फेरि भनिन्, ‘छोरीको माया पाउन अहिले पनि म आफैँसँग युद्ध लडिरहेकी छु । यो युद्ध, त्यो युद्ध भन्दा पनि बढी सङ्घर्षपूर्ण छ ।’

व्यवस्था फेरियो अवस्था उस्तै
सङ्घीय संरचना पछि बनेका प्रदेश सरकार र प्रदेश सभा सबैका लागि नयाँ र नौलो थियो । स्थानीय निकाय स्थानीय सरकार बनिसकेको थियो । गाउँ गाउँमा सिंहदरबार छिरिसकेको थियो । उत्सव र उत्साह थियो । अधिकार माग्दै आवाज बुलन्द भएका थिए । तर, निर्मलाको मन भने पूर्णरूपमा सन्तुष्ट भएको छैन ।

‘ठूलो बलिदानबाट पाएको उपलब्धि अझै पूर्ण जस्तो लागेको छैन’ उनी भन्छिन् , ‘सबैका लागि अधिकार अझै पुगेको छैन । अझै धेरै काम गर्न बाँकी छ ।’

‘आज जनयुद्धको महत्व थप बढ्दै गएको छ । दिवस मनाउने र ती दिन सम्झनेहरूको संख्या बढिरहेको छ’ उनी भन्छिन् ‘हिजो जनयुद्धलाई तिरस्कार गर्नेहरूले पनि आज दिवस मनाइरहेका छन् यो पनि उपलब्धि हो ।’

फेरिएको राज्यव्यवस्थामा जनताका पूर्ण अधिकार सुनिश्चित हुन नसकेको उनको भनाइ छ । जुन लक्ष्य र उद्देश्यले उनी युद्धमा होमिएकी थिइन्, त्यो अनुसारको परिवर्तन अझै हुन नसकेको उनको उनलाई लाग्छ ।

‘हुन त म उपसभामुख पनि बनुँला भन्ने सोचेको थिइँन । सायद मेरो बलिदानको मूल्याङ्कन भएको होला वा त्यही बलिदानीले दिएको उपलब्धि होला’ उनी भावुक भइन् ।

जनयुद्ध स्वीकार नगर्नेहरूले पनि अहिले जनयुद्ध मनाउँदा उनी भने खुसी छिन् ।

‘आज जनयुद्धको महत्व थप बढ्दै गएको छ । दिवस मनाउने र ती दिन सम्झनेहरूको संख्या बढिरहेको छ’ उनी भन्छिन् ‘हिजो जनयुद्धलाई तिरस्कार गर्नेहरूले पनि आज दिवस मनाइरहेका छन् यो पनि उपलब्धि हो ।’

प्रतिक्रिया

One thought on “सुदूरपश्चिमकी उपसभामुखको स्मृति : दिउँसो विवाह भयो, साँझ भागाभाग !

  1. छन यस्ता धेरै कथाहरु !! हो यी सब सम्झेर इमन्दार भएर देश बनाउने बेला हो, बिदेशी गुहार्दै बिदेशिको ईशारामा घर भत्काउदै हिंड्ने र भाड्भैलो गर्ने हैन र त्येशो गर्नेलाई साथ दिने पनि हैन !! भोग्ने, कथा सुनाउने एउटा कुरा हो, त्येश्बाट सिकेर कत्ती सहि काम गरेको छ त्यो झन ठुलो महत्वको हो !!

Leave a Reply to Nagendra Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर