…जब शंख फुक्दै निस्कियो जीवित युवतीको ‘शवयात्रा’

काठमाडौं । शुक्रबार दिउँसो करिब साढे २ बजे । बसन्तपुर डबलीमा एकोहोरो शंखको शोकधुन सुनियो । वरिपरि हिंडिरहेका मान्छेहरू टक्क अडिए र भीड भएतिर गए ।

‘ओहो, कलिली केटी मरिछ ! कठैबरा’ भीडतिर जाँदै गरेको एक अधबैंसे महिलाले रुन्चे लवजले भनिन् । चिया पसलमा चिया उमालिरहेकादेखि बदाम बेचिरहेकाहरू पनि त्यो भीडमा मिसिएर हेर्न थाले ।

मानव साङ्लोभित्र एउटा पहेंलो कपडाले ‘लाश’ छोपिएको थियो । घेराभित्र सेतो कपडा लगाएका चार युवकले लाश अड्काइएको बाँस उठाए । अर्कोले शंख फुके । र अघि–अघि लागे । उनीहरूको पछिपछि सयौंको भीड हिंडिरहेको थियो । पछाडिबाट एक हुल महिलाहरूको नारा गुन्जियो, ‘निर्मलालाई न्याय दे, भागीरथीलाई न्याय दे ।’

अघि–अघि लास पछि–पछि नारा । नारा बलात्कारी विरुद्धको थियो, सरकार विरुद्धको थियो ।

बसन्तपुरबाट रत्नपार्क हुँदै जुलुस सिंहदरबारतर्फ अघि बढ्दै थियो । भद्रकाली आइपुगेपछि काँडेतार लगाएर प्रहरीका जमातले बाटो ब्लक गरिदिएका थिए । शंख बज्न रोकियो, चारतर्फबाट ‘लाश’ बोकिरहेका युवकहरूले भद्रकालीनेर बिसाए ।

‘लाश’ बनिरहेकी अन्शु खनाल उठेर बाहिर आइन्, वास्तविक ठानिरहेका केही मानिस चकित परे । ‘ए, मान्छे मरेको होइन रहेछ, नाटक पो रहेछ’ एक अधवैंसे मानिसले अनौठो मान्दै भने ।

खासमा के थियो त यो ?

यो आभा फर क्रियटिभिटीद्वारा गरिएको पर्फमेन्स आर्ट थियो । वसन्तपुरदेखि सिंहदरबार अघि गएर ‘लाश’ बिसाउनु सत्ताप्रतिको कटाक्ष थियो ।

‘यो लाश एउटा मान्छेको होइन, लोकतन्त्रको लाश हो । निर्मलाहरूको लाश हो, भागीरथीहरूको लाश हो,’ अभियन्ता एवम् कलाकार रसिक राजले भने ।

‘लाश’ बनेर पफर्मेन्स देखाएकी अन्शु कवि हुन्, र सक्रिय अभियन्ता पनि । दुई वर्षअघि निर्मला पन्तको न्यायका निम्ति उनी घरबाट भागी सडकमा आएर उभिन्थिन् । उनलाई लाग्थ्यो, निर्मलाले न्याय पाउनेछिन् ।

‘तर, आजसम्म न निर्मलाले न्याय पाइन् । न सरकारले लोकतन्त्रको संरक्षण गर्‍यो । त्यसकारण यो बाध्यताको बाबजुद हामीले खबरदारीका निम्ति यो पर्फमेन्स गर्‍यौं,’ अन्शु भन्छिन् ।

लोकतन्त्रको मलामी बनेर जुलुसमा हिंडिरहेका अपरिचित मानिस थिएनन्, स्रष्टाहरू थिए, नागरिक समाजका अभियन्ताहरू थिए, महिला अधिकारकर्मीहरू थिए । २ बजेअघि उनै स्रष्टाहरूले सबैखाले प्रतिगमन विरुद्ध र अग्रगमनका पक्षमा कार्यक्रम गरेका थिए । साढे ११ बजे भृकुटीमण्डपबाट सुरु गरिएको र्‍याली बसन्तपुरमा कोड सभा गरेर सकिएको थियो । र्‍यालीमा स्रष्टाहरूले जनवादी गीत गाएका थिए, कविता पढेका थिए ।

भद्रकालीमा पोखिएको महिला आक्रोश

सिंहदरबार पुग्ने भनिए पनि प्रहरीले बाटो छेकेपछि वसन्तपुरबाट सुरु भएको महिलाहरूको मार्च भद्रकालीमा रोकियो । यो मार्च मैना सुनारदेखि निर्मला पन्तसम्म, अंगिरा पासीदेखि भागीरथी भट्टसम्मका सिलसिला सदाका लागि बन्द गर्नका निम्ति महिला अभियन्ताहरूले गरेको अभियान थियो ।

भद्रकालीको कोणसभामा अभियन्ता प्रणिका कोयुले पारिजातको ‘मानुषी’ शीर्षकको कविता सुनाइन् । महिला अधिकारकर्मी हिमा विष्टले पितृसत्तात्मक सोच भएका बुढा नेताहरू सत्तामा गएको हुनाले निर्मलाहरूले न्याय नपाएको बताइन् ।

‘निर्मला सम्झना सबै हामी हौं । भागीरथी पनि हामी हौं । पटक–पटक हाम्रो बलात्कार हुन्छ । तिनै मान्छे आज सत्तामा छन् । उनीहरूलाई केही फरक पर्दैन । सत्तामा जानका लागि भोट हाम्रै चाहिन्छ,’ उनले भनिन् । विष्टले सिंहदरबारलाई गाली गर्दै अब पितृसत्तात्मक सोच भएकाहरूलाई भोट नदिने जिकिर गरिन् ।

केही दिनअघि मात्र ४० वर्ष मुनिका महिलालाई विदेश जान परिवारको सहमति र वडाको सिफारिस चाहिने नियमबारे छलफल भइरहेको कुरा सार्वजनिक भएको थियो । विष्टले उक्त प्रसंग जोड्दै भनिन्, ‘४० वर्ष तलका महिलालाई वडाको सिफारिस चाहिने रे । भोलि बच्चा जन्माउन पनि त्यही वडाको सिफारिस चाहिने होला होइन ?’

विष्टले घरघरबाट सडकमा आउन किशोरीहरूलाई आग्रह गरिन् । ‘अब सिंहदरबारले सुन्ने हो । बालुवाटारले सुन्ने हो । यो पितृसत्तात्मक सोचका नेताहरू खोक्दै खोक्दै आउँछन् र म देखाउँछु भन्छन् । देखाउँछौं त अब हामी,’ उनले भनिन् ।

अभियन्ता रजनी मिलाले अहिले महिला राष्ट्रपति भएर पनि महिलाहरूको हिंसा टुलुटुलु हेरेर बसिरहेको आरोप लगाइन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग्दै भनिन्, ‘मेरै आमा भएको भए पनि यो चरित्रलाई मान्दिनँ थिएँ । विद्यादेवी राजीनामा देऊ ।’

लेखक तथा महिला अभियन्ता अर्चना थापाले महिलाहरूलाई मिडियाहरूमा आउने स्केचले पनि कमजोर रुपमा प्रस्तुत गरेको बताइन् । उनले बलात्कारका समाचारमा राखिएका स्केचमाथि आपत्ति जनाउँदै भनिन्, ‘त्यो स्केचले महिला कमजोर हुन्, महिलामाथि बलात्कार गर्न सकिन्छ भन्ने बुझाउँछ, त्यसैले मिडियाका साथीहरूले स्केच राख्ने बेलामा ख्याल गर्नुहोला ।’ उनले केही शब्दहरूमाथि पनि प्रश्न गरिन् ।

‘लोकतन्त्रमाथि बलात्कार जस्तो शब्द आउँछ । के लोकतन्त्र महिला हो ? संविधानको चीरहरण भन्छन् । के संविधान महिला हो ? बरु भन्नै सक्नेले भनौंन, संविधानको दौरा सुरुवालको इँजार फुस्कियो भनेर,’ उनले भनिन् । थापाले हिंसालाई प्रवर्धन गर्ने दृश्य र शब्द नराख्न आग्रह गरिन् ।

महिला अधिकारकर्मी मोहना अन्सारीले सिंहदरबारलाई आवाज सुनाउनका लागि आज भद्रकालीमा उभिएको बताइन् । उनले गृहमन्त्रीले निर्मला पन्तको बलात्कारीलाई कारबाही गर्ने वचन दिएर पनि उभ्याउन नसकेको गुनासो गरिन् ।

‘गृहमन्त्रीले मलाई आएर भन्नुभएको थियो । हामीले निर्मला पन्तको बलात्कारीलाई तपाईंहरूको अगाडि ल्याउनेछौं । तर हामीले पाएनौं । आईजीपीले पनि बलात्कारीलाई छिट्टै कारबाही गर्छौं भनेका थिए । तर, हामीले देखेनौं त्यो बलात्कारीलाई । यो देशका अग्रजले बाटो बिराइसके । उहाँहरू पूँजीवादले बलात्कार बढाउँदैछ भन्नुहुन्थ्यो । तर, मैले बुझ्न नसकेको यो त समाजवादी सरकार होइन ?’ उनले भनिन् ।

कार्यक्रममा ‘तँ होस् बलात्कारी…’ जस्ता नाराका साथ महिला अभियन्ताहरूले फ्ल्यास मोब प्रस्तुत गरेका थिए । शिल्पी थिएटरका कलाकारले यौनहिंसा विरुद्धको नाटक प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

2 thoughts on “…जब शंख फुक्दै निस्कियो जीवित युवतीको ‘शवयात्रा’

  1. थाहा छैन अझ कति भोग्न पर्नी हो अझ कति निर्मलाहरु देख्न पर्नि हो😢😢😢😢😢 अब कोहिको भर परेर हुन्न आफै लागि पर्नु पर्छ्✊✊✊✊

  2. अहिलेको सरकार नक्कली समाजवादी हो।पितृसत्ता होइन पुँजीवाद हो शत्रु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि?