देव गुरुङको तर्क-राजनीतिक सहमतिमा संसद सक्रिय बनाउन सकिन्छ


रुपन्देही । विभाजित नेकपा प्रचण्ड-माधव पक्षका नेता देव गुरुङले राजनीतिक दलको आपसी सहमतिबाट विघटित प्रतिनिधिसभालाई सक्रिय बनाउन सकिने तर्क गरेका छन् ।
शुक्रबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङ्गले न्यायालयको प्रक्रियाबाट र राजनीतिक दलको आपसी सहमतिबाट विघटित प्रतिनिधिसभालाई सक्रिय बनाउन सकिने दाबी गर्दै २०५९ मा राजा ज्ञानेन्द्रद्वारा विघटित संसद राजनीतिक सहमतिमा २०६३ मा सक्रिय बनाइएको उदाहरण पेस गरे ।
प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले राष्ट्रघात र जनघात गरेको आरोप लगाउँदै नेता गुरुङ्गले सबै देशभक्त राजनीतिक दल, नागरिक समाज, मिडियालाई एक ठाउँमा उभिन आव्हान गरेका छन् ।
‘प्रतिगामी कदम नसच्चिएमा शैन्य शक्ति आकर्षित हुने र देशमा जनविद्रोह पनि हुन सक्छ’, गुरुङको दाबी छ । प्रतिनिधिसभा विघटनसँगै नेपाललाई क्रिडास्थल बनाउ विदेशी शक्तिकेन्द्रहरू चलमलाएको बताउँदै गुरुले वैशाखमा चुनाव हुन नसक्ने ठोकुवा गरे ।