लुम्बिनीमा पर्यटकीय चहलपहल बढ्यो, विदेशी पर्यटक तान्न चुनौती – Nepal Press

लुम्बिनीमा पर्यटकीय चहलपहल बढ्यो, विदेशी पर्यटक तान्न चुनौती

रुपन्देही । कोभिड महामारीपछि सुनसान बनेको गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा पछिल्लो दुई महिनायता आन्तरिक पर्यटकको संख्या बढ्न थालेको छ ।

गत चैत महिनादेखि बन्द रहेको लुम्बिनी क्षेत्र नौ महिनापछि खुलेको हो । मंसिर ३ गते मायादेवी परिसर खुल्ला गरेको लुम्बिनी विकास कोषले २१ गतेदेखि मायादेवी मन्दिर खुला गरेपछि यस क्षेत्रको चहलपहल बिस्तारै बढ्न थालेको हो ।

नौ महिनासम्म बन्द रहेको यो क्षेत्रमा अहिले बौद्धमार्गी मात्र नभएर आन्तरिक पर्यटक बढ्न थालेको लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले जानकारी दिए ।

अहिले पर्यटक घुम्न आउने सिजन भएपछि लुम्बिनीमा आउने विदेशी पर्यटक आउन पाएका छैनन् । वैदेशिक उडान रोकिनु र स्थलमार्ग हुँदै आउनेहरु पनि भारतबाटै आउन नपाएका कारण विदेशी पर्यटकको संख्य शून्यजस्तै रहेको बस्नेतले बताए ।

तर पछिल्लो २ महिनामा आन्तरिक पर्यटकको संख्याले क्रमशः लुम्बिनीको मुहार उज्यालो बन्दै गएको छ ।

सूचना अधिकारी बस्नेतका अनुसार मायादेवी मन्दिर परिसर खोलिएपछि दैनिक एक हजार आन्तरिक पर्यटक लुम्बिनी आइरहेका छन्’ अहिले पर्यटक आउने सिजन हो, बिगतका वर्षको त अहिले तुलना गर्न भएन विदेशी पर्यटक आउने बाटो नै रोकिएको छ तर आन्तरिक पर्यटकको संख्या बढिरहेको छ यसले गर्दा लुम्बिनीको मुहार उज्यालो बन्दै गइरहेको छ’ उनले भने ।

कोभिडले गर्दा करिब ९ महिना लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटकीय आवागमन शून्य रह्यो । त्यसो त महामारीअघि पनि लुम्बिनीमा बाह्य पर्यटकहरु लोभलाग्ने गरी आएका थिएनन् । अहिले कोभिड संक्रमणमा केही कमी आएका कारण पनि आन्तरिक पर्यटकको संख्या बढेको लुम्बिनी विकास कोषले जनाएको छ ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले कोरोना महामारीले विश्वलाई थला पारेको अवस्थामा बुद्धको ध्यान अनि दर्शनले नागरिकको नैराश्यतालाई हटाउनसकेको बताउँछन् ।

’महामारीको समयमा हामीले बाहिरको पर्यटक ल्याउनसक्ने अवस्था रहेन तर आन्तरिक पर्यटकको उपस्थितिले हामीलाई ऊजा दिएको छ अब यसलाई मुख्य योजना बनाउनुपर्दछ, हामी आन्तरिक पर्यटकको प्रवद्र्धनलाई प्राथमिकतामा राखेर जाने योजनमा छाै‌’– उनले भने ।

विश्वव्यापी रुपमा शुरु भएको कोरोनाविरुद्धको भ्याक्सिनको सन्देशले राम्रो सन्देश गएको र सबै पक्ष मिलेर नेपालमा कोरोनाबाट सुरक्षित रहन सकिन्छ भन्ने सन्देश सबैको सहकार्यमा दिन सक्नुपर्ने उनले बताए ।

अबको पर्यटनलाई आन्तरिक पर्यटनले सम्हाल्नेगरी अगाडि बढाउनुपर्ने उनले बताए । आन्तरिक पर्यटनलाई मूल धार बनाएर खस्केको पर्यटनलाई बिस्तारै उठाउन सकिने उपाध्यक्ष मैत्तेयको सुझाव छ ।

यस्तो छ तथ्यांक

विकास कोषका अनुसार २०१२ देखि २०१९ को अन्तिमसम्म १० लाख ४८ हजार ८१५ जना बाह्य (भारतबाहेकका) पर्यटकहरु बुद्ध जन्मस्थल लुम्बिनी आएका थिए । हिसाब गर्दा ती आठ वर्षमा दैनिक औषत ३ सय ६४ जना पासपोर्टधारी अर्थात् भारतीय र आन्तरिकबाहेकका पर्यटक लुम्बिनी आएका थिए ।

सन् २०१८ मा प्रकाशित एक शोधले लुम्बिनी आएका पर्यटकमध्ये ३० प्रतिशतले मात्रै लुम्बिनीमा कम्तीमा एक रात बिताउने गरेको तथ्य फेला पारेको थियो । हिसाब गरौँ–दैनिक एक सय ९ जना विदेशी पर्यटकले लुम्बिनीमा रात बिताउने गरेका छन् !

जबकि, यिनै पर्यटकहरुलाई लक्षित गरेर लुम्बिनीमा खोलिएका होटलहरुमा एक दिनमै ३ हजार जनाभन्दा बढीले बास बस्न पुग्ने क्षमता रहेको सिद्धार्थ होटल एशोसिएसन लुम्बिनीका अध्यक्ष मिथुनमान श्रेष्ठ बताउँछन् । यीमध्ये धेरैले कोभिडका कारण खर्च धान्न नसकेर बन्द पनि गरिरहेका छन् ।

किन टिक्दैनन् पर्यटक

कोरोना महामारी अगाडि पनि स्थलमार्गबाट मुलुकमै सबैभन्दा धेरै पर्यटक आउने रुपन्देहीको बेलहिया नाका हो तर यही नाकाबाट भित्रिएकै दिन बाहिरिने पर्यटकको संख्या ठूलै रहेको अध्यागमन कार्यालयले बताउँदै आएको छ ।

भारतीय पक्षले निर्माण गरेको बौद्ध सर्किटको ढाँचाका कारण त्यस्तो भइरहेको कतिपयको तर्क छ । अध्यागमन कार्यालय बेलहियाको तथ्यांक अनुसार गतवर्ष श्रीलङ्काबाट मात्र करिब ६० हजार पर्यटक सो नाका हुँदै नेपाल प्रवेश गरे ।

तर सोही कार्यालयको अभिलेखमा उनीहरूको नेपाल बसाइ भने औसतमा केही घण्टा मात्र देखियो । यो नाका हुँदै बर्सेनि सबैभन्दा बढी पर्यटक श्रीलङ्काबाट आउने गर्छन् । त्यसपछि म्यानमार, थाइल्यान्ड, भियतनाम आदि देशबाट आउने गरेको पाइएको छ ।

बेलहिया नाकाबाट गतवर्ष भारतीयबाहेक झन्डै एक लाख ७० हजार पर्यटक नेपाल भित्रिएका थिए । तर जुन देशबाट आए पनि उनीहरूको बसाइ एक वा दुई दिनभन्दा बढी हुने गरेको छैन ।

अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरिराज खनालका अनुसार गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणकै लागि आउने उनीहरू भारतकै पथप्रदर्शकको योजनामा भित्रिने गर्दछन् ।

‘उनीहरूले बौद्ध सर्किटलाई एउटा प्याकेजको रूपमा लिएर आउने रहेछन् । भारतको बनारस आउने र बोधगया हुँदै कुशीनगर भएर लुम्बिनी भ्रमण गरेर श्रावस्ती भएर बाहिरिने गरेका छन्’ –उनले भने ।

भारतीय पथप्रदर्शकले लुम्बिनीका अन्य गुम्बामा पर्यटकलाई नलग्ने भएकाले उनीहरुको नेपाल बसाइ अत्यन्तै छोटो भएको संस्कृतिविद् गितु गिरीले बताए । गिरीका अनुसार नेपालमा बसाइ लम्ब्याउने खालको सोंच नै नहुनु अर्को ठूलो समस्या हो ।

लुम्बिनी विकास कोषका योजना प्रमुख ईं सरोजकुमार भट्टराईले पर्यटकको बसाइ लम्ब्याउनका लागि कोषले विभिन्न कार्यक्रम गरेको दाबी गरे । अहिले केही सुधार अवश्य भएको छ तर पर्यटकको बसाइ लम्ब्याउने कुरामा नगरपालिका, होटल व्यवसायी आदि विभिन्न स्थानीय साझेदारको पनि भूमिका हुनुपर्छ’–उनले भने ।

कोरोना संक्रमणमा सुनसान रहेपनि त्यो भन्दा पहिलेको तथ्यांकलाई हेर्दा यहाँ घुम्न आउने स्वदेशी र विदेशी पर्यटकको सङ्ख्या प्रत्येक वर्ष बढेको देखिन्छ ।

लुम्बिनी विकास कोषका अनुसार सन् २०१८ मा १६ लाखभन्दा धेरै आएका थिए । त्यसअघि ०१७ मा १५ लाख ३४ हजार र ०१६ मा १२ लाख ८५ हजार पर्यटक आएका थिए । यो तथ्याङ्क मायादेवी मन्दिर प्रवेश गर्नेको मात्र हो । सन् २०१९ को नोभेम्बरसम्म करिब १४ लाख पर्यटक लुम्बिनी घुम्न आएका छन् ।

लुम्बिनी विकास कोषको तीन वर्ग माइल क्षेत्रभित्र बुद्धसँग सम्बन्धित पुरातात्विक स्थल छन् । केन्द्रीय नहरको दायाँबायाँ विभिन्न मुलुकका बिहार छन् । छरिएर रहेकाले सबै बिहारमा पुग्न निजी सवारी साधन रिजर्भ गर्नुपर्छ । पैदल घुम्न समय लाग्छ । जसले गर्दा मायादेवी मन्दिर घुमेपछि पर्यटक फर्किन थाल्छन् ।

छिमेकी जिल्लामा रहेका पुरातात्विक स्थल घुम्नका लागि यातायातका साधन छैनन् । प्रत्येक वर्ष कुरा उठ्ने बुद्ध सर्किट निर्माणमा चासो दिइएको छैन । टुर प्याकेजको पनि अभाव छ ।

समय नकटेपछि पर्यटक फर्किने गरेको व्यवसायीले बताएका छन् । यहाँ आएका पर्यटकलाई कहाँ लैजाने ? कता घुमाउने ? उनीहरूलाई भुलाउने कार्यक्रम नै छैन’– सिद्धार्थ होटल एसोसिएसन लुम्बिनीका अध्यक्ष मिथुनमान श्रेष्ठले भने–पर्यटक आउँछन् । मायादेवी मन्दिर घुमेर फर्किन्छन् ।’

यहाँबाट कपिलवस्तु, रूपन्देहीको देवदह, पश्चिम नवलपरासीको रामग्रामलगायत बुद्ध सर्किटमा पर्ने स्थलसम्म पुग्नका लागि भौतिक पूर्वाधार तयार छैन । कोष मातहतको केस्ट नेपालले गतवर्ष गरेको सर्वेक्षण अनुसार लुम्बिनीमा आएका कुल पर्यटकमध्ये पाँच प्रतिशत पनि टिक्दैनन् । युनेस्को अन्तर्गत जापान फाउन्डिङ ट्रस्ट प्रोजेक्ट (जेफिट) ले ६ वर्षअघि गरेको ‘भिजिटर सर्भे एन्ड अब्जरभेसन’का अनुसार लुम्बिनीमा अधिकांश पर्यटकको बसाइ अवधि ३० मिनेटभन्दा कम पाइएको थियो ।

‘अहिले पनि बसाइ अवधि लम्बिन सकेको छैन’–कोषका योजना प्रमुख भट्टराईले भने–“निजी क्षेत्रसँग सहकार्य गरेर सरकारले यहाँ पर्यटक भुलाउने कार्यक्रम ल्याउन जरुरी छ ।’ आगामी दिनमा नेपाली पर्यटन व्यवसायी तथा ट्राभल एजेन्सीले लुम्बिनीबाट भ्रमण प्याकेजको सुरुआत गर्न जरुरी रहेको भट्टराईले बताए ।

‘आगामी दिनमा बसाइ अवधि बढ्ने सम्भावना भने छ’– उनले भने– ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका साथै बुद्ध सर्किटमा रहेका अन्य स्थलमा सहजै पुग्ने भौतिक पूर्वाधार निर्माण भइरहेका छन्, ती पूरा भएपछि अवधि लम्बिन्छ ।’ कोष परिसरमा भारत सरकारबाट उपहार स्वरूप एक अर्ब रुपियाँ लगानीमा निर्माण हुने भनिएको ‘लाइट एन्ड साउन्ड सो’ र ‘उ थान्त अडिटोरियम हल’ अलपत्र छन् ।

लुम्बिनी आउने पर्यटकलाई लक्षित गरेर होटल व्यवसाय क्षेत्रमा लगानी बढेको छ । पर्यटन व्यवसायीहरुका अनुसार रुपन्देहीमा पछिल्लो १० वर्षमा

बुद्धजन्मस्थल लुम्बिनीको देश विदेशमा प्रचार गर्दै हिंड्ने सामाजिक अभियान्ता चेतन पन्तले लुम्बिनी प्रदेशको बुद्ध जन्मस्थल लुम्बिनीसंगै अन्य पर्यटकीयस्थलहरुको अन्य प्रदेशसंग कनेक्टिभिटीमा जोड दिंदै स्वदेश साथै तत्काल भारतमा पनि यस क्षेत्रको छुट्टै किसिमले प्रचार प्रसार गर्दै भारतमा चलिए ‘लुम्बिनी’ कार्यक्रम सुरु गर्नुपर्ने बताए ।

कोरोना महामारीलाई सचेतना अपनाउँदै बिस्तारै यो क्षेत्रको विकासका लागि बाह्य पर्यटकहरुलाई पनि आउने वातावरण मिलाउनुपर्ने उनको भनाइ छ ।

विमानस्थलको प्रभाव

बुद्धजन्मस्थल लुम्बिनीको नजिकै भैरहवामा निर्माणको अन्तिम चरणमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल देखेर अर्बौंका होटेल खोल्ने व्यवसायीहरु महामारीभन्दा अगाडिदेखि नै पर्यटकहरु रात कटाउन नआएर हैरान थिए ।

तर अिले विमानस्थलको निर्माण प्रगतिलाई हेरेर पनि धेरै व्यवसायीहरुले सन्तोष मान्न थालेका छन् । विमानस्थलको ९४ प्रतिशत निर्माणको काम सकिएर दोस्रो चरणको काम अगाडि बढेको छ ।

यस्तो छ पर्यटन व्यवसायीको माग

धार्मिक, सांस्कृतिक, प्राकृतिक, शाहसिक र मनोरञ्जनात्मक पर्यटन गर्न चाहने नेपाली र बिदेशी दुबैखाले पर्यटकका लागी लुम्बिनी प्रदेश उत्कृष्ट रहेको नेपाल टुरिजम बोर्ड लुम्बिनी प्रदेशका प्रमुख तथा प्रबन्धक लिलाबहादुर बानियाले बताएका छन् ।

नेपाल टुरिजम बोर्डले सबै प्रदेशमा बोर्डको प्रादेशिक कार्यालय खोल्ने निर्णय गरे संगै लुम्बिनी प्रदेशको जिम्मेवारी पाएका बोर्डका प्रबन्धक रहेका बानियाले पर्यटन व्यबसायीहरुसंगको छलफलमा पर्यटनका लागि लुम्बिनी प्रदेश उत्कृष्ट गन्तव्य रहेको भन्दै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम सकिएर अन्तर्राष्ट्रिय उडान सुरु हुनेबित्तिकै पर्यटनमा यो क्षेत्रको महत्व अझै बढ्ने बताए ।

पर्यटनका हरेक गतिविधि यहाँ छ, होटल रेष्टुरा, यातायात बाटो लगायतका पूर्वाधार समेत राम्रो छ, त्यसैले पर्यटनमा उत्कृष्ट गन्तव्य छ लुम्बिनी प्रदेश अब यसलाई प्रबद्र्धन गर्नुपर्छ, बानियाले भने ।

अन्तर्राष्ट्रिय उडान सुरु भएसंगै यहाबाट चीनको मानसरोबर साथै भैरहवाबाट हुम्ला, जोमसोम, पूर्वमा बिराटनगर, जानकीनगर जनकपुर, मध्यपश्चिमको नेपालगन्ज, जुम्ला र मुगुु, सुदुरपश्चिमको धनगढीसम्म आन्तरिक बिमान सेवा सुरु हुनसक्ने र त्यस्ले आन्तरिक एवं बाह्य पर्यटनलाई बढावा दिने उनले बताए ।

लुम्बिनी प्रदेशमा पर्यटकलाई मनपर्ने पर्यटनका सबै क्षेत्र छन्, अब त्यसको ब्राण्डिंग, मार्केटिंग गर्न जरुरी छ, उनले भने ।

सिद्धार्थ होटल संघका उपाध्यक्ष किशोर जोशीले निजी क्षेत्रसंग सहकार्य गरी लुम्बिनी प्रदेशमा पर्यटनका गतिविधि अघि बढाउनुपर्नेमा जोड दिदै टुरीजम बोर्डको लुम्बिनी प्रादेशिक कार्यालय सञ्चालन हुनु निकै सकारात्मक भएको बताए ।

सिद्धार्थ होटल संघले बिगतमा पनि यस क्षेत्रको पर्यटन प्रबद्र्धनका लागि टुरीजम बोर्डसंग सहकार्य गर्दै काम गरेको र सहकार्य निरन्तर हुने जोशीले बताए ।

सिद्धार्थ होटल संघका बरिष्ठ उपाध्यक्ष बिष्णु गौतमले प्रादेशिक कार्यालय स्थापना संगै कोरोनाका कारण बन्द रहेको नेपाल भारत सीमा नाकाहरु खोल्न पहल गरी स्वास्थ्य सतर्कता अपनाई भारतिय पर्यटक भित्रयाउने तर्फ पर्यटन बोर्ड प्रादेशिक कार्यालयको भूमिका प्रभावकारी हुने बताए ।

पर्यटन व्यबसायी निर्मल श्रेष्ठले कोरोना भाइरसका कारण अस्तव्यस्त भएको पर्यटन क्षेत्रलाई उकास्ने र पर्यटन पुनरउत्थानमा ध्यान दिदै पर्यटकिय गतिबिधी अघि बढाउन, नया गन्तव्यस्थल पहिचान गर्न, आन्तरिक पर्यटक बढी भन्दा बढी भित्रयाउन मुल्य कायम गरी एकरुपको पर्यटन प्याकेज बनाउने, पर्यटन क्षेत्रमा लागेकाहलाई तालिम प्रदान, प्रचार प्रसारमा अघि बढनुपर्ने बताए ।

यस क्षेत्रमा आउने पर्यटकहरुको बसाई अबधि बढाउने कार्यक्रम प्योकजमा आफुहरुको ध्यान केन्द्रित रहने नेपाल टुरीजम बोर्डका अधिकृत सागर श्रेष्ठले बताए ।

लुम्बिनी प्रदेशमा बुद्धजन्मस्थल लुम्बिनी, पबित्रस्थल रामग्राम, नजिकै त्रिवेणी धाम, ऋषिकेश मन्दिर, पाल्पा भैरब, पाल्पा भगवतिस्थान, बर्दिया र बाके निकुञ्ज, पाल्पा रानी महल, सिस्ने हिमाल, रेसुंगा, पदयात्राका लागि पहाडी क्षेत्र, क्यासिनो लगायतका इन्टरटेनमेन्ट गेमिंगका लागि भैरहवा, नेपालगन्ज शहर छन जहा पर्यटककीय सुबिधाका सामान्य होटलदेखि पाच तारे होटलसम्मको सुबिधा रहेका छन् भने शाहसिक खेल प्याराग्लाईडिंग, जिपलाईन लगायतका पूर्वाधारहरु पनि यहाँ तयार भैरहेका छन् ।

लुम्बिनी क्षेत्रलाई खुला गर्नका लागि यहाँका पर्यटन व्यवसायी, स्थानीय संघसंस्थाले यसअघिका पर्यटनमन्त्री योगेश भट्टराईलाई ज्ञापनपत्र बुझाएर सहज बनाउन माग गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.