प्रदेश १ मा पर्यटन प्रवर्द्धन गर्ने पाँच सूत्र – Nepal Press

प्रदेश १ मा पर्यटन प्रवर्द्धन गर्ने पाँच सूत्र

इटहरी । गत असोज २६ गते नेपाल पर्यटन बोर्डले प्रदेश १ को आन्तरिक पर्यटन पुनरुत्थान समितिको नेतृत्व चयन गर्यो । विराटनगरका पर्यटन व्यवसायी भविष श्रेष्ठ संयोजक चयन भए ।

धरानका व्यवसायी वासुदेव बराल र झापाका उदय श्रेष्ठ सहसंयोजक चयन भए । यससँगै श्रेष्ठ र बरालको अनलाइन र अफलाइन सक्रियता लोभलाग्दो छ ।

कोडिभ–१९ ले पर्यटन थलिएपछि प्रदेश १ को आन्तरिक पर्यटनलाई ध्यान दिएर पुनरुत्थान समितिले केही कार्यक्रम प्रस्ताव गरेको छ ।

फागुन अन्तिम हप्ता (मार्च १२ र १३)मा विराटनगरको विराट राजाको दरबारदेखि उदयपुरको रौता पोखरीसम्म दुइपांग्रे र्याली, चैत दोश्रो हप्ता (मार्च २६ र २७)मा केचनाकवलदेखि सुकेटार कार र्यालि समितिका कार्यक्रमहरुमा परेका छन । त्यस्तै नेपाली नयाँ वर्ष २०७८ का दिन धरानदेखि इटहरीको तालतलैया साइकल र्यालिको कार्यक्रम पनि बनेको छ ।

पछिल्ला दुई महिनामा प्रदेश १ का विभिन्न जिल्ला र कर्णाली र सुदुरपश्चिम प्रदेशबाहेक सबै प्रदेशका पर्यटन क्षेत्रको भ्रमणमा थिए, पुनरुत्थान समितिका पदाधिकारीहरु ।

व्यापारिक प्रयोजनको ‘बि टु बि’ भ्रमण सकाएपछि केही हप्ता अगाडि पुनरुत्थान समिति संयोजक श्रेष्ठ र सहसंयोजक बराल इटहरीमा भेटिए ।

नेपाल प्रेससँग उनीहरुले कोभिड–१९ ले थलिएको प्रदेश १ को पर्यटन उत्थान गर्न विभिन्न पाँच फर्मुला तयार हुनुपर्ने तर्क गरेका छन् । जुन यसप्रकार छ–

१. व्यावसायिक शुल्क समायोजन

अब व्यावसायीले शतप्रतिशत शुल्क लिएर हुँदैन । पहिलेकै जस्तो रुमरेट, पहिलेकै जस्तो शुल्क लिएर हुँदैन । केही कम लिन सकिन्छ । प्लेन र होटल रुम एकै हुन् । ग्राहक नआएको दिन खाली हुन्छ । महंगो शुल्कमा होटल खाली राख्नु भन्दा केही सस्तो गर्दा राम्रो हुन्छ ।

२. आन्तरिक पर्यटक केन्द्रित प्याकेज

अध्यागमन विभागको सन् २०१९ को एक तथ्यांक अनुसार त्यो वर्ष १३ लाख हाराहारी नेपालीहरु विदेश भ्रमण गर्न गए । यो संख्या भारत बाहिर जानेको हो ।

यसबाट करिब ५ लाख पर्यटकलाई प्रदेश १ मा ल्याउने प्याकेज तयार गर्नुपछ । उनीहरुले विदेशमा दैनिक ५ हजार खर्च गर्छन् भने नेपालमा २ हजार प्योकज खर्च लाग्छ ।

३. इभेन्टहरुको नियमित आयोजना

पर्यटकीय चहलपहल बढाउन विभिन्न इभेन्टहरु आवश्यक हुन्छन । यसैलाई ध्यान दिएर मोटरसाइकल, कारदेखि साइकल र्यालीका कार्यक्रमहरुको अवधारणा ल्याएका छौँ । त्यस्तै अरु मौलिक इभेन्ट पनि सञ्चालन गर्नुपर्छ ।

४. कनेक्टिभिटिमा जोड

कनेक्टिभिटिनै पर्यटनको मेरुदन्ड हो । हामीले विराटनगर–पोखरादेखि विराटनगर–भैरहवा सिधा हवाइ उडानको प्रस्ताव गरेका छौँ । विराटनगर–पोखरा उडान त कोभिड–१९ अगाडिसम्म संचालन समेत भएको थियो ।

अब पोखरासँगै अन्तर्राष्ट्रिय विमानस्थल बन्दै गरेको भैरहवासँग पनि सिधा हवाइ सम्पर्क हुन आवश्यक छ । प्रदेश १ का विराटनगर, कान्कडभित्ता र धरान समेटेर एक सुविधासम्पन्न पर्यटकीय बस चलाउन सकिन्छ ।

५. सरकारी र दलीय हौसला

सरकारले हामीलाई हिम्मत दिनुपर्यो । वातावरण दिनुपर्यो । सरकारले विभिन्न स्वरुपको छुट दिन सक्छ । जस्तै किस्ताको समयावधि लम्ब्याउन सक्छ । बिजुलीदेखि घरबहाल करहरुमा छुट दिन सक्छ ।

कोभिड–१९ ले तनाव भएको पर्यटनमा अब राजनितिक अस्थिरता र बन्दले तनाव दिन सक्ने अवस्था छ । यसलाइ रोक्न पनि सरकार र राजनितिक दलहरुले सहयोग गर्नुपर्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर