सुदूरपश्चिमले गण्डकीलाई ‘क्यु’मा राखेर पर्यटक दिने ! – Nepal Press

सुदूरपश्चिमले गण्डकीलाई ‘क्यु’मा राखेर पर्यटक दिने !

पोखरा । सुदूरपश्चिम प्रदेशको गौरीफन्टा र गड्डाचौकी नाकाबाट ठूलो मात्रामा भारतीय पर्यटक नेपाल भित्रन्छन् । ती पर्यटक एक दिनमात्रै पनि सुदूरपश्चिममा भुल्ने हो भने प्रदेशले पर्यटनमा कोल्टे फेरिसक्थ्यो । तर, त्यहाँबाट भित्रिएका पर्यटक प्रायः पोखरा हुँदै पूर्व ताक्ने गरेका छन् ।

भारतको दिल्ली राज्य, उत्तराखण्ड, हरियाना, नैनीताल लगायत ठाउँबाट एकदमै नजिकको प्रदेश पर्ने भएपनि त्यसको फाइदा सुदूरपश्चिमले उठाउन नसकेका त्यहाँका पर्यटन व्यवसायी स्वयं स्वीकार्छन् ।

पोखराका पर्यटन व्यवसायी तथा सरोकारवाला निकायसँग सुदूरपश्चिम प्रदेशका व्यवसायीले भने, ‘धार्मिक र प्राकृतिक रुपमा धनी भएर पनि हामीले चाहेजति पर्यटक ल्याउन सकेनौं । यसमा सरकारसँगै हामी व्यवसायीको पनि गल्ति छ । गण्डकी प्रदेशसँग सिक्न चाहन्छौं ।’

सुदूरपश्चिमको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईको आयोजनाको आयोजनामा नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा) समूह शनिबार पोखरा आइपुगेको हो ।

कार्यक्रममा नाट्टामा आबद्ध पर्यटन व्यवसायीले पर्यटनमा गण्डकी प्रदेशभन्दा पछाडि रहे पनि आफूहरुले ५ वर्षभित्र गण्डकीलाई पर्यटक दिन सक्ने दाबी गरेको छन् ।

‘प्रकृतिले हामीलाई धेरै दिएको छ । तर, हामीले प्रयोग गर्न सकेका छैनौं,’ नाट्टा सुदूरपश्चिम अध्यक्ष मायाप्रसाद भट्टले भने, ‘अब विस्तारै पूर्वाधार बन्दैछन् । अब भने ५ वर्षमा ‘क्यु’मा राखेर पोखरालाई पर्यटक दिन सक्छौं ।’ उनले सुदूरपश्चिमा पूर्वाधार बन्नुका साथै विभिन्न स्थानीय तहहरुले पनि पर्यटन प्रर्वधनका लागि व्यवसायीलाई सघाउने वचन दिएको जानकारी दिए ।

सोमबारबार धनगढीबाट अन्तर प्रादेशिक समन्वयात्मक भ्रमण यात्रा सुरु गरेका उनीहरु बिहीबार पोखराका व्यवसायीसँग समन्वय खोज्न आइपुगेका हुन् । एक हप्ते भ्रमणमा निस्किएका व्यवसायी सौराहा बन्दीपुर हुँदै पोखरा आइपुगेका हुन् । उनीहरुले पोखरासँग आफूहरुले पनि पर्यटनमा समन्वय गर्न चाहेको बताए ।

‘सुदूरपश्चिमलाई चर्चित कैलाश मानसरोवरको गेट वेका रुपमा अघि बढाइरहेका छौं । यसै पनि हाम्रो प्रदेशमा भिजिटरको कमी हुँदैन,’ नाट्टा सुदूरपश्चिम अध्यक्ष भट्टले भने, ‘यसका लागि हामी गण्डकी प्रदेशका पर्यटन व्यवसायी साथीहरुसँग सकारात्मक समन्वय चाहन्छौं ।’

भ्रमण कार्यक्रमका संयोजक तथा नाट्टा सुदूरपश्चिम महासचिव पदमविक्रमसिंहले कोभिड महामारीका कारण बाह्य पर्यटक आउन नसक्ने अवस्थामा आफूहरुले आन्तरिक पर्यटकको साथ खोजिरहेको बताए ।

उनले भने, ‘कोभिडका कारण अझै नाकाहरु पूरै खुल्न सकेका छैनन् । अन्तर्राष्ट्रिय पर्यटक आउने सम्भावना छैन । यस्तोबेला पर्यटन व्यवसायलाई उकास्ने भनेकै आन्तरिक पर्यटनले हो ।’

सुदूरपश्चिमको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई प्रमुख भोजराज पाठकले कोभिड १९ का कारण थला परेको पर्यटन व्यवसायलाई उकास्न अन्तरप्रदेशीय भ्रमण तथा छलफलमा निस्कको बताए । उनले अन्य प्रदेशको पर्यटन रणनीति बुझ्ने र सुदूरपश्चिम प्रदेशको पनि प्रचारप्रसार गर्नेगरी भ्रमणमा निस्किएको प्रष्ट्याए ।

नेपाल खुलेको सन्देश बाँड्नुपर्छ !

सन् २०१९ लाई आन्तरिक भ्रमण वर्षका रुपमा मनाएको गण्डकी प्रदेशले सन् २०२० मा सरकारले मनाउने लक्ष्य लिएको नेपाल भ्रमण वर्षलाई सघाउने योजनामा थियो । तर, वर्षको सुरुआतमै विश्वव्यापी महामारीका रुपमा कोरोना भाइरस फैलिएपछि भने योजनामात्रै तुहिएन, व्यवसाय नै ठप्प हुन पुग्यो ।

नेपालमा कोरोना भाइरस महामारी मत्थर नभइसके पनि लकडाउन खुलिसकेको छ । तर, लकडाउन खुलेपनि पर्यटन व्यवसाय पुरानै लयमा फर्किन सकेको छैन । त्यसमाथि पर्यटनमा ठूलो लगानी भएको पोखराको पर्यटन अहिले नाजुक अवस्थामा पुगिसकेको पर्यटन व्यवसायी स्वयं बताउन थालिसकेका छन् ।

पोखराको पर्यटनलाई पुनः पुरानै लयमा फर्काउन र व्यवसायको पलायनलाई रोक्न चाँडै नेपालको अन्तर्राष्ट्रि उडान खुला गर्न कार्यक्रममा पोखरेली पर्यटन व्यवसायीले भनाइ राखेका छन् ।

उनीहरुले कोभिडपछि पर्यटकले शान्त, एकान्त र जंगलको खोजिमा रहेको र त्यसका लागि नेपाल नै उत्तम गन्तव्य हुने दाबी गरे ।

‘छिटोभन्दा छिटो अन्तर्राष्ट्रिय बजारमा नेपाल पर्यटकका लागि खुलिसकेको सन्देश दिनुपर्छ,’ नाट्टा गण्डकीका अध्यक्ष शोभाकान्त सिग्देलले भने, ‘भोभिडपछि पर्यटकले आयसोलेटेड हुने ठाउँ खोजिरहेकाले त्यसमा नेपालले सजिलै प्रतिस्पर्धा गर्न सक्छ ।’

पोखरा टुरिजम काउन्सिलका अध्यक्ष गोपी भट्टराईले मापदण्ड पूरा गरेर सबै सीमा नाकाहरु निर्बाध खोल्नुपर्ने माग राखे । ‘राज्यले पर्यटकका लागि पोलिसी बनाइरहेको छ ।

तर, त्यो पोलिसी कति पर्यटकमैत्री छ त्यसमा पनि ध्यान दिन जरुरी छ,’ उनले भने, ‘घुम्न आएको मान्छे रिफ्रेस हुन आउने हो । १० दिन क्वारेन्टिन बस्न आउने होइन ।’

भट्टराईले अब पर्यटकका लािग प्रवर्धन शैलीमा पनि नवीन प्रयोग ल्याउनुपर्ने बताए । उनले प्रचारप्रसारमा पुरानै शैली प्रयोग गर्दा पनि पर्यटकलाई अरुचि जाग्ने बताए ।

उनले भने, ‘अब डिजिटल प्रचारप्रसारमा पनि चेन्ज ल्याउनुपर्छ । पुरानै शैलीमा अल्झिएर अहिलेको पुस्तालाई आकर्षित गर्न सकिँदैन ।’ उनले अहिले पर्यटन व्यवसाय सतप्रतिशत रिस्कमा रहेको बताए ।

आन्तरिक पर्यटन पुनुरुत्थान समिति, गण्डकी संयोजक अग्नी कँडेलले कोभिड १९ का कारण सम्पूर्ण पर्यटन व्यवसायी मारमा रहेको र यस्तोबेला सरकारले न्यानो हात दिनुपर्ने बताए । उनले विदेशी पर्यटकलाईमात्रै बढावा दिँदा पनि महामारीमा थप्प हुनुपरेको आत्मसमीक्षा गरे ।

‘पर्यटक भनेका विदेशीमात्रै भनेर बस्यौं । अहिले महामारीकाबेला पर्यटक आउन छाडेपछि हामी सुक्यौं,’ कँडेलले भने, ‘अब आन्तरिक पर्यटकलाई पनि मजबुत बनाउने गरी पहल थाल्यौं । सुरुआत ग¥यौं भने यसरी महामारीकोबेला खुम्चेर बस्नुपर्दैन । आन्तरिक पर्यटकलाई पनि पर्यटक मान्यौं भने सधैं ऊर्जा र चलायमान भइरहन सजिलो हुन्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर