कोरोना महामारी र विश्वव्यापीकरणबीच अन्तरसम्बन्धको खोजी – Nepal Press

कोरोना महामारी र विश्वव्यापीकरणबीच अन्तरसम्बन्धको खोजी

सन् २०२० विश्व इतिहासमा एक उल्लेखनीय वर्ष बन्यो, तर सकारात्मक कारणले पक्कै होइन । डिसेम्बर २०१९ मा चीनको वुहानमा उत्पन्न कोरोना (कोभिड–१९) महामारीको प्रकोपसँगै अहिले विश्वभर २० लाखभन्दा बढी व्यक्तिको मृत्यु भयो । शारीरिक, सामाजिक, मानसिक, भावनात्मक रूपमा यसले विनाशकारी परिणाम निम्त्याएको छ ।

कोरोनाबाट १० करोडभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । यसका गम्भीर प्रभावहरूको नियन्त्रण र सुरक्षा सम्बन्धी नियमहरूका कारण विश्वका आधाभन्दा बढी मानिस महिनौंसम्म घरभित्रै बन्द थिए । कुनै पनि जीवित व्यक्तिले यसभन्दा पहिले यस्तो व्यापक र गम्भीर कुराको सामना कहिल्यै गर्नु परेको थिएन । यस्तो किन भइरहेको छ भनेर आत्मपरीक्षण गर्नु महत्वपूर्ण छ । यसको एउटा उत्तर भने अहिलेको संसारको एक मुख्य आयाम हुनसक्छ– विश्वव्यापीकरण ।

आजको संसार ‘ग्लोबल भिलेज’ भनेर चिनिने कारण पनि विश्वव्यापीकरण हो । यो शायद भाइरसलाई थप फैलाउने कारण बनेको छ । विश्वव्यापीकरणका लागि मानिस, सामान, सेवा, जानकारी र धेरै अन्य तत्वहरूको गतिशीलता जरूरी छ । यो आधुनिक विचार जस्तो देखिए तापनि परापूर्वकालदेखि नै चलिआएको चलन हो ।

रेकर्ड गरिएको समयको शुरूदेखि धेरैले आफ्नो राजनीतिक शक्ति विस्तार गर्न, आफ्नो जीवनस्तर बढाउन वा तिर्खा र जिज्ञासा मेटाउनको लागि यात्रा गर्थे । यी व्यक्तिहरूले चार प्रमुख सामग्री (व्यक्ति, विचार, वस्तु र पूँजी) को विनिमय गर्थे । आज ‘विश्वव्यापीकरण’ शब्दलाई विश्व अर्थव्यवस्था, संस्कृति र जनसंख्याको परस्पर निर्भरता वर्णन गर्न प्रयोग गरिन्छ ।

सजिलो यात्रा, वल्र्डवाइड वेब, शीतयुद्धको अन्त्य, व्यापार सम्झौता र नयाँ, द्रुत विकास भइरहेको अर्थतन्त्रहरू सबैले एक यस्तो प्रणाली सिर्जना गरेका छन् जुन अब विश्वको अर्को छेउमा के भइरहेको छ भन्ने कुरामा पहिलेभन्दा बढी निर्भर छ । विश्वव्यापीकरणलाई आतंकको स्रोतको रूपमा पनि हेरिएको छ । यो विवाद सबैभन्दा पहिला ९÷११ को घटनाबाट शुरु भएको हो, जसले यस संसारको इतिहासमा सबैभन्दा भ्रष्ट र घातक आतंकवादी हमलालाई संकेत गर्दछ ।

धेरैले यसको जिम्मेवार विश्वव्यापीकरणलाई मान्छन् । सानो संख्यामा अफगानिस्तान, जर्मनीमा बसेर अमेरिकाको ट्विन टावर भत्काउन योजना बनाएर त्यसलाई परिणाम दिनु शायद विश्वव्यापीकरणकै एक प्रतिफल हो । सामान्यतया विश्वका आकाशमा प्रतिदिन एक लाखभन्दा बढी व्यावसायिक उडान हुन्छन् । कोभिडले धेरै महिनासम्म यो संख्या शून्यमा थियो, जतिबेला अत्यन्त आवश्यक वायुसेवा मात्र उडे । यसको कारण कोरोनाभाइरस श्वासप्रश्वासका थोपाहरूबाट फैलनु हो, जसले गर्दा क्वारेन्टाइन र सामाजिक दूरीका लागि नियमहरू बनाइएको थियो ।

ठूलो भीडले संक्रमणको दर बढाउन सहयोग पुर्‍याउँछ । कोरोनाका कारण मानिसहरूलाई हिंडडुल गर्न प्रतिबन्ध थियो, बोर्डरहरू बन्द थिए र सबै कुराले मूलतः प्रभावहरूको सामना गरिरहेको देखिन्थ्यो । व्यक्तिको आमजीवनदेखि व्यवसाय सबैमा यसको प्रभाव प¥यो । कोरोनाको प्रभावबाट कोही वञ्चित हुन सकेन ।

बीबीसीमा प्रकाशित ‘विल कोरोनाभाइरस रिभर्स ग्लोबलाइजेशन ?’ शीर्षकको लेखमा युरोपियन बैंक फर रिकन्स्ट्रक्सन एन्ड डेभलपमेन्टकी प्रमुख अर्थशास्त्री प्राध्यापक बिटा जवोर्सिकलाई उद्धृत गरिएको छ । उनी भन्छिन्, ‘विगत १७ वर्षमा विश्वव्यापी अर्थतन्त्रमा गहिरो परिवर्तन आएको छ । यदि हामीले २००३ म फर्केर हे¥यौं भने सार्सको महामारी हुँदा चीनले चार प्रतिशत विश्वव्यापी उत्पादनको हिस्सा ओगटेको थियो । अहिले त्या चार गुणा बढी छ । यसको मतलब चीनमा जे भइरहेको छ त्यसले धेरै ठूलो हदसम्म विश्वमा असर गर्छ ।’

जोन्टी ब्लूमद्वारा लिखित उक्त लेखमा लन्डन बिजनेस स्कूलका अर्थशास्त्री प्रोफेसर रिचर्ड पोर्टस्ले भनेका छन्, ‘व्यापारलाई हेरौं । एकपटक (कोरोनाभाइरसका कारण) आपूर्ति शृंखलाहरू अवरुद्ध भएपछि मानिसले वैकल्पिक आपूर्तिकर्ताहरू महँगो भए तापनि घर र देशमै खोज्न थाले । यदि मानिसहरूले घरेलु आपूर्तिकर्ता भेट्टाए भने जोखिमहरूका कारण उनीहरू सँगै रहनेछन् ।’ कतिका लागि यो राम्रो खबर हो तर सबैका लागि त्यस्तो छैन । खासगरी पश्चिमी अर्थव्यवस्थाहरूका लागि जो विश्वव्यापीकरणमा निर्भर रहेका छन् ।

एक लोकप्रिय इतिहासकार र दार्शनिक नोआह हरारीको विश्वास ठीक यसको विपरीत देखिन्छ । टाइम म्यागजिनद्वारा प्रकाशित ‘इन द ब्याटल अगेन्स्ट कोरोनाभाइरस, ह्युमानिटी ल्याक्स लिडरसिप’ शीर्षकको आफ्नो लेखमा उनले महामारीको लागि विश्वव्यापीकरण जिम्मेवार नरहेको बताएका छन् । उनी विश्वास गर्छन् कि बिफर र फ्लू जस्ता महामारीले विश्वव्यापीकरण अगाडि नै ठूलो असर पारिसकेका थिए र एच्आईभी-एड्स र इबोला भाइरस जस्ता रोगहरू आएका भए पनि महामारीको कारण जनसंख्याको समानुपातिक मानव जीवनको क्षति यस शताब्दीमा धेरै सानो छ भन्ने कुरामा हरारी जोड दिन्छन् ।

उनी भन्छन्, ‘यो युगमा रोगको विरुद्ध मानिसको सबैभन्दा राम्रो प्रतिरोध भनेको जानकारी हो, अलगाववाद होइन, जुन कुरामा म सहमत छु । महामारी विरुद्धको युद्धमा सधैं मानवताले जित्छ, किनभने रोगजनक ब्याक्टेरिया अन्धा उत्परिवर्तन माथि निर्भर रहेका हुन्छन् भने डाक्टरहरूले विज्ञानको आधारमा ती रोगका उपचार खोज्छन् । यस संकटको घडीमा महत्वपूर्ण संघर्ष मानवता आफैंभित्र हुन्छ । यदि यो महामारीले मानिसहरूमध्ये अधिक मतभेद र अविश्वास ल्याउँछ भने यो भाइरसको सबैभन्दा ठूलो विजय हुनेछ । जब मानिस बीच झैझगडा र मतभेद बढी हुन्छ, तब भाइरस पनि दोब्बर हुन्छ ।’

यसको विपरीत, यदि महामारीको परिणामस्वरूप विश्वव्यापी सहयोग बढ्छ भने यो कोरोनाभाइरस मात्र नभई भविष्यका सबै रोगहरूका विरुद्धमा मानवताको ठूलो विजय हुनेछ ।

हाल सालैका घटनाहरूको गहन विश्लेषणबाट देखा परेको बुँदाले विश्वव्यापीकरणलाई सही प्रसंग र अर्थमा लिनुपर्दछ भनेर देखाउँछ । अहिले सबैभन्दा ठूलो खतरा भनेको सबैभन्दा शक्तिशाली र ठूला राष्ट्रहरूबाट आउन सक्ने संकुचित सोच हो । यस महामारीको शुरुआत नै गोपनीयताबाट भएको हो, यसको उत्पत्तिको स्रोत लुकाउने प्रयास गरियो । कति ‘हाइपर नेशनालिज्म’ को खेल खेलियो । त्यसैले, विश्वव्यापीकरणको सबैभन्दा ठूलो खतरा भनेको निहित स्वार्थ, संकुचित विचारधारा र राजनीतिक उच्च वर्गमा दीर्घकालीन दृष्टिकोणको अभाव हुनु हो ।

विद्वानहरूले पनि यो महामारीको उदय सूचनाको प्रवाहमा दमन भएको कारणले भएको तथ्यलाई बेवास्ता गरेका छन् । यदि पर्याप्त जानकारी समयमै प्रदान गरिएको भए शायद उपयुक्त उपाय र सजकताहरू अपनाउन सकिन्थ्यो होला । यो आरोपबाट विश्व स्वास्थ्य संगठन पनि मुक्त हुन सक्दैन । अर्को उदाहरण पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पको रवैयाले देखाउँछ । उनले जानकारी पाएर पनि विश्व स्वास्थ्य संगठनबाट अमेरिकालाई ब्याक आउट गराएका थिए । यो शायद विषयको गम्भीरतालाई महसूस गर्न नसक्नुको परिणाम हो ।

विश्वव्यापीकरण भनेको एक समावेशी शब्द हो, जसभित्र धेरै पक्ष हुन्छन् । यसमा सूचना र विचारहरूको स्वतन्त्र प्रवाह पनि समावेश हुनुपर्दछ । तर कोरोनाभाइरस महामारीले सहजपूर्वक यो प्रमाणित गर्छ कि साँच्चिकै भने त्यस्तो भएको छैन । विश्वले बेलैमा सूचना प्रवाह पाएको भए शायद कोरोनालाई नियन्त्रणमा ल्याउन सकिन्थ्यो । यदि सबैले सही समयमा सही कदम उठाएको भए हामी यस्तो संकटको घडीमा हुँदैनथ्यौं होला । त्यसैले विश्वव्यापीकरणलाई आर्थिक र यात्रा पक्षमा मात्र केन्द्रित गरी सूचना प्रवाहलाई बहिष्कार गरेर हेर्न मिल्दैन ।

यदि वास्तवमै विश्वव्यापीकरण मानिसहरूले जे भन्छन् त्यही हो भने, के डब्ल्यूएचओका निरीक्षकहरू असहिष्णुता र बढ्दो प्रतिरोध विरुद्ध लडिरहेका हुन्थे ? यदि ‘ग्लोबल अर्डर’ वास्तवमै खुला छ भने, राष्ट्रपति ट्रम्प दोषारोपण खेलमा जानुको सट्टा बढी परोपकारी हुने थिएनन् ?

यहाँ सबैभन्दा ठूलो शिकार भनेको खुला संवाद र अनुसन्धानको प्रवाह भएको छ । यदि गहिराइका साथ कुनै छानबिन हुँदैन भने उद्देश्यपूर्ण र उपयुक्त हिसाबमा केही विश्लेषण गर्न सकिंदैन । विश्वव्यापीकरण मानसिक पक्ष विनाको भौतिक अवधारणा मात्र हुन सक्दैन । वर्तमानमा मानवले आफ्नो सोच, कार्य, तर्क, व्यवहार, संचार जानकारी आदानप्रदान एकभन्दा बढी विचारका ‘प्रिज्म’ हरूसँग गर्नुपर्दछ । व्यक्तिगत रूपमा म युवल नूह हर्रारीको धारणासँग सहमत छु– तपाईं आफ्नो सिमाना स्थायी रूपमा बन्द गरेर आफूलाई सुरक्षित राख्न सक्नुहुन्न, किनकि यसले यस संसारको अन्य पाटोमा ठूलो असर गर्छ । हो, यस्ता महामारी घातक र दुखद छन्, तर मानव जीवनमा आज विश्वव्यापीकरणले धेरै सकारात्मक योगदान पनि पुर्‍याएको छ, जसले गर्दा धेरै कुराहरू आज विश्वव्यापीकरणमै निर्भर छन् ।

महामारीकै सन्दर्भमा पनि यो परिप्रेक्ष्यको कुरा हो ः हुन त मृत्यु र संक्रमणको संख्याले आजको विश्वको यही मूल पक्षतर्फ औंल्याउँछ । यद्यपि, म यस धारणामा विश्वास राख्छु कि विश्वव्यापीकरणलाई गलत आरोप लगाइएको छ । २०२० धेरै कारणले याद राखिनेछ, तर यसमा दोष विश्वव्यापीकरणको हो भन्ने कुरा म मान्दिनँ । यो एक अपरिहार्य पक्ष हो, जुन आजका संसारका लागि अभिन्न छ । जे भए पनि, हामी यससँगै बाँच्नुपर्ने हुन्छ ! शायद यो सत्य पनि होला कि कोरोनाभाइरस आगो जसरी फैलिनु पछाडि धेरै तत्वका गतिशीलता छन् । तर, रिसर्च र विज्ञानका आधारमा बनेको खोप विस्तारै संसारको जुन भागमा पनि उपलब्ध हुन्छ होला । यसरी खोप सबैको पहुँचमा पुग्न सक्छ, र नेपालमै पनि खोप अनुदानस्वरुप प्राप्त भइसकेको छ । यसरी खोप विस्तारै विश्वव्यापी रूपमा सुलभ हुने देखिन्छ ।

तसर्थ, यसबाट हामीले के बुझ्न सक्छौं भने महामारीको नियन्त्रणमा पनि विश्वव्यापीकरणले महत्वपूर्ण भूमिका खेल्छ । यस अपरिहार्य चीजका साथ आजको विश्वका अनेकौं मुद्दाको सामना गर्न हामीले विश्वव्यापीकरणलाई आफ्नो पक्षमा ल्याउन सक्नुपर्छ । यसको विपरीत धेरै विभेद हुनुको बावजूद पनि विश्वव्यापीकरणले आफ्नो औचित्य उचित रूपमा जनाएको छ । यसको पक्ष र विपक्षमा धेरै धारणा छन्, तर मेरो विचारमा यसको सकारात्मक पक्षहरू नकारात्मक पक्ष माथि हावी हुन पुग्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर