चिनियाँ अन्तरिक्ष यान मंगलको कक्षमा प्रवेश, सतहमा ल्यान्ड गर्ने तयारी – Nepal Press

चिनियाँ अन्तरिक्ष यान मंगलको कक्षमा प्रवेश, सतहमा ल्यान्ड गर्ने तयारी

काठमाडौं । मानवरहित चिनियाँ अन्तरिक्ष यान तियानवेन–१ सफलतापूर्वक मंगल ग्रहको कक्षमा प्रवेश गरेको छ । चिनियाँ अन्तरिक्ष नियोगले विहिबार वक्तव्य जारी गर्दै ६ महिना लामो यात्रापछि उक्त यानले रातो ग्रहको कक्षमा प्रवेश गरेको जनाएको छ ।

चीनको यो पहिलो मंगल मिसन थियो । वक्तव्यमा जनाइएअनुसार मंगलको गुरुत्व क्षेत्रभित्र प्रवेश गरेसँगैको घर्षणले रोभरको पखेटा १५ मिनेटसम्म जलेको थियो ।

आगामी तीन महिनाभित्र उक्त तियानवेन–१ रोभरले बोकिरहेको २४० किलो तौलको रोभर मंगलको उत्तरी क्षेत्र युटोपिया प्लानिटियामा अवतरणको प्रयत्न गर्नेछ ।

यदि यो प्रयास सफल भयो भने उक्त रोभरले मंगलको सतहमा ९० दिन बिताउँदै माटो र खनिजको अध्ययन गर्नेछ । सौर्यशक्ति जडान गरिएको उक्त रोभरले मंगलमा सम्भावित जीवन, पानी र हिउँको अस्तित्वको पनि खोज गर्ने जनाइएको छ ।

तियानवेन–१ को अर्थ ‘स्वर्गलाई प्रश्न’ भन्ने हुन्छ । दुई हजार वर्षअघि लेखिएको भनिएको चिनियाँ कवितामा उक्त नामाकरण गरिएको थियो । यसलाई चीनको पहिलो स्वतन्त्र अन्तरिक्ष अभियान भनिएको छ । यसअघि सन् २०११ मा चीनले रुससँग मिलेर प्रक्षेपण गरेको मंगल यान पृथ्वीको कक्षबाट बाहिर जान सकेको थिएन ।

चीनको उक्त यान यसै महिनामा मंगलमा अवतरण गर्ने तीन यानमध्ये एक हो । यसैसाता युएईको यान पनि मंगल कक्षमा पुगेको छ । आउने फेब्रुअरी १८ मा अमेरिकी अन्तरिक्ष नियोग नासाको प्रिजर्भेन्स रोभरले मंगल सतहमा अतवरण प्रयास गर्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर