जो एक्लै जीवनको रथ गुडाइरहेका छन् – Nepal Press

जो एक्लै जीवनको रथ गुडाइरहेका छन्

भनिन्छ, महिला र पुरुष एक रथका दुई पांग्रा हुन् । सम्भवतः ‘विवाह’ को मर्मले पनि यो भनाइसँग तादाम्यता राख्छ । पुरुष र महिला जब विवाह गरेर श्रीमान्–श्रीमती बन्छन्, अनि जीवनको रथ गुडाउन सहज हुने विश्वास गरिन्छ ।

विवाह एउटा सामाजिक परम्परा हो, तर यसलाई कुनै नियम–कानूनले बाध्यकारी बनाएको छैन । तपाईं २० वर्ष कटेपछि चाहेको समयमा विवाह गर्न स्वतन्त्र हुनुहुन्छ । नगर्न पनि स्वतन्त्र हुनुहुन्छ । विवाह गरेर सुखद जीवन व्यतीत गरेकाहरू धेरै छन् । अनि विवाह नगरी खुशीसाथ बाँचिरहेकाहरू पनि हाम्रै समाजभित्र छन् ।

सामान्यतया नेपाली समाजमा केटी २० वर्ष र केटा २५ वर्ष कटेपछि विवाहको चर्चा शुरू हुन्छ । पारिवारिक दबाब आउन थाल्छ । ३० वर्षको आसपासमा दबाब उत्कर्षमा पुग्छ । ३५ वर्ष कटेपछि दबाब दिनेहरू शिथिल बन्न थाल्छन् । ४० वर्ष कटेपछि विवाहको सम्भावना घटेर जान्छ । यद्यपि, ४० कटेर विवाह गर्नेहरू पनि छन् ।

जब पब्लिक फिगरको प्रसंग आउँछ, उनीहरूलाई विवाहको बेग्लै दबाब हुन्छ । विवाह गर्न ढिला भयो भने परिवार र आफन्तबाट मात्र होइन, मिडियाबाट पनि बारम्बार सवाल गरिन्छ, कहिले विवाह गर्ने ? ढिला भएन ?

यहाँ हामी केही सार्वजनिक व्यक्तित्वहरूको चर्चा गर्दैछौं, जसले लगातार विवाहको प्रश्नलाई सामना गर्दै तर विवाहलाई पन्छाउँदै एकल जीवन बाँचिरहेका छन् । यस्ता व्यक्तित्व राजनीतिदेखि कलाकारितासम्म छन् । उनीहरुमध्ये कसैले यसपालिको भ्यालेन्टाइन डेमा कोही सहयात्री भेट्लान् त ?

नारायणकाजी श्रेष्ठ
नेकपा नेता

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समूहका प्रवक्ता एवं राष्ट्रिय सभा अध्यक्ष नारायणकाजी श्रेष्ठ अहिले ६० वर्षका भए । उनले विवाह नगर्ने सार्वजनिक रूपमै घोषणा गरिसकेका छन् । व्यक्तिगत जीवनबारे त्यति खुल्न नचाहने नारायणकाजी विवाहलाई अनिवार्य सोच्दैनन् । ‘एक्लो भएर नै मैले यो किसिमको जीवन बाँच्न पाएको छु’, आफ्नो राजनीतिक व्यस्ततालाई इंगित गर्दै उनी भन्छन् ।

केही वर्षअघि एक टेलिभिजन संवादको क्रममा उनले एक्लो हुँदा आफूलाई जीवनसाथीको अभाव महसूस नभएको बताएका थिए । पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालले पनि नारायणकाजीलाई विवाहका लागि थुप्रै पहल गरे तर उनी विवाह नगर्नेमै अडिग रहे । त्यसो त केही समयदेखि उनको नाम आफ्नै स्वकीय सचिवसँग जोडिने गरेको छ । दुई महिना अगाडि एउटा लेनदेनको विवादमा मुछिंदा उनीहरूका युगल तस्वीर सामाजिक सञ्जालमा भाइरल गरिएका थिए । उनीहरूले भने आफूहरूबीच गलत सम्बन्ध नरहेको स्पष्टीकरण दिंदै आएका छन् ।

गिरिराजमणि पोखरेल
नेकपा नेता

पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेल पनि नेकपा प्रचण्ड–माधव समूहका स्थायी समिति सदस्य हुन् । उमेरले ६ दशकको यात्रामा रहेका उनी पनि अहिलेसम्म अविवाहित छन् ।

किशोरवयदेखि नै कम्युनिष्ट आन्दोलनमा होमिएका पोखरेल राजनीतिक व्यस्तताले गर्दा प्रेम–विवाहबारे सोच्न नभ्याएको बताउने गर्छन् । आफूले बिहे नगरे पनि धेरै साथीहरूको विवाह भने गराइदिएको उनको भनाइ छ ।

झण्डै दुई दशकअघि गिरिराजमणिले शहीदका बालबालिका राखेर आधारशिला कम्युन शुरू गरेका थिए । त्यहींका बालबालिका र साथीहरूलाई नै उनी आफ्नो परिवार मान्छन् । पटक–पटक मन्त्रीसमेत भइसकेका पोखरेल भन्छन्, ‘अब त उमेर पनि गइसक्यो । बिहे गर्दिनँ ।’

पम्फा भुषाल
नेकपा नेतृ

नेकपा प्रचण्ड–नेपाल समूहकै स्थायी समिति सदस्य पम्फा भुषाल अविवाहित छिन् । करिब ६० वर्ष पुग्नै लागेकी पम्फाले पनि आफ्नो सिंगो जीवन राजनीतिमै व्यतीत गरेकी छन् ।

जनमोर्चा नेपालको पहिलो अध्यक्ष बनेकी भुषालले २०३३ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीतिक करिअर अघि बढाइन् । २०३७ सालमा चौथो महाधिवेशनको सदस्यता लिएकी उनी २०५१ सालमा माओवादी केन्द्रीय सदस्य बनिन् । अहिले नेकपाको प्रभावशाली नेतामध्येकी एक उनी अब विवाह नगर्ने बताउँछिन् ।

जनयुद्धकालमा तत्कालीन माओवादीकै एक चर्चित नेतासँग पम्फाको नाम जोडिएको थियो । पार्टीले दिएको जिम्मेवारी अनुसार लखनऊमा बस्दा उनीहरूबीच निकटता बढेको चर्चा माओवादीवृत्तमा अहिले पनि हुने गर्छ । प्रचण्डले त्यो बेला पार्टीमा पेश गरेको एक प्रतिवेदनमा नै ‘२०५३ साल असारदेखि फागुन मसान्तसम्म आइपुग्दाको करिब ९ महिनामा कमरेड … र कमरेड हिमाली (पम्फा) को सम्बन्ध आश्चर्यजनक तीव्रताका साथ अघि बढेको’ उल्लेख थियो । यस मामलामा माओवादीले उनीहरूमाथि ‘सांस्कृतिक विचलन’ को आरोपमा कारबाही समेत गरेको थियो ।

तुलसी दिवस
साहित्यकार

कवि तुलसी दिवस उमेरले ८० वर्ष उकालो लागिसके । जीवनको लामो हिस्सा कविता र लोक संस्कृतिको उत्थानमा बिताएका उनले विवाह गरेनन् । उनका जीवनमा धेरै प्रेमिकाहरू आए तर, विवाह गर्ने सोच उनले कहिल्यै बनाएनन् ।

तुलसी दिवसले आफ्ना प्रेम सम्बन्धहरूका विषयमा सार्वजनिक चर्चासमेत गर्ने गरेका छन् । जीवनमा धेरै प्रेमिका आएकै कारण एउटालाई रोज्न नसक्दा आफ्नो बिहे नभएको उनी बताउँछन् ।

एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘कहिलेकाहीं त एकैपटक दुई–तीन जनासँग प्रेममा थिएँ । मैले आफ्नो प्रेमलाई कहिल्यै नकारात्मक रूपमा लिइनँ ।’

प्रेम र विवाहका विषयमा उनी भन्छन्, ‘हामी प्रेमलाई विवाहसँग जोडेर हेर्छौं । तर, त्यो गलत हो । प्रेम त कसैले कसैलाई दिने सुन्दर उपहार हो, जुन शारीरिक, जैविक वा मानसिक–आत्मिक जसरी पनि हुन सक्छ ।

कोमल ओली
गायिका, नेतृ

चर्चित लोकगायिका कोमल ओली केही समयदेखि राजनीतिमा छिन् । उनी अहिले राष्ट्रिय सभा सदस्य हुन् ।

ओलीलाई विवाहको विषयमा पत्रकारले सोध्न थालेको धेरै भयो । जवाफ दिंदा दिंदा उनी थाकिसकेकी छन् । तर, सोध्ने पत्रकार थाकेका छैनन् । अहिले पनि प्रश्न आइनै रहन्छन्, विवाह नगर्ने ? कहिले गर्ने ?

कोमल अब विवाह नगर्ने मनस्थितिमा पुगिसकेकी छन् । एउटा अन्तर्वार्तामा उनले भनेकी छन्, ‘खै, अब त के विवाह गरिएला र ? धेरै विवाहितहरूको अवस्था हेर्दा विवाह गर्ने चाहना नै हराइसकेको छ ।’

कोमल ओलीले लामो समय रेडियो नेपालमा काम गरिन् । उनी कहिलेकाहीं ठट्यौलीमा भन्ने गर्छिन्, ‘रेडियो नेपालकै व्यस्तताले मेरो विवाह भएन ।’

बेला–बेला प्रेमका अभिव्यक्तिमार्फत उनी चर्चामा आउने गर्छिन् । मूड चल्दा उनी आफ्ना विगतका प्रेम प्रसंगहरूबारे पनि खुल्छिन् ।

दीपाश्री निरौला
अभिनेत्री

हास्य–अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला ४५ वर्षकी भइन् । उनको पनि व्यथा कोमलकै जस्तै छ । दर्शक तथा शुभचिन्तकबाट प्रायः प्रश्नहरू आइरहन्छन्– बिहे कहिले गर्नुहुन्छ ?’

दीपाश्री भन्छिन्, ‘उहाँहरूले मेरो सेटलमेन्टबारे सोच्नुभएको हो । तर, विवाह भन्ने कुरा भाग्यमा भर पर्छ । कसैको भाग्यमा हुनसक्छ, कसैको नहुन सक्छ ।’

आफूले अहिलेसम्म विवाह नगरेकोमा दीपाश्रीलाई कुनै पश्चात्ताप छैन । पहिले पहिले उनलाई विवाह गर्न परिवारबाट धेरै दबाब आउँथे । अहिले त्यो बन्द भएको छ ।

‘पछि म करिअरमा केन्द्रित भएँ । दबाब आउन छाडे । म करिअरमा केन्द्रित भएको हुनाले विवाह नगर्दा पनि फरक पर्दैन’, दीपाश्री भन्छिन् ।

दीपाश्री बाँकी जीवन भाग्यलाई नै छाडिदिन्छन् । ‘बिहे हुन्छ कि हुन्न भनेर भन्न सक्दिनँ । अहिलेसम्म सोचेको छैन । भाग्यमा छ भने त भइहाल्छ’, उनी भन्छिन् ।

दीपाश्रीको नाम उनका सहकर्मी दीपकराज गिरीसँग जोडिने गरेको छ । लामो समयदेखि उनीहरू निकट छन् । हालै एउटा टिभी अन्तर्वार्तामा हास्यकलाकार जितु नेपालले उनीहरूको सम्बन्धलाई लिएर भनेका छन्, ‘उहाँहरू गाडी मजाले हाँक्ने, लाइसेन्स विनाको जोडी ।’

रामहरि खतिवडा
कांग्रेस नेता

नेपाली कांग्रेसका नेता रामहरि खतिवडा पनि उमेरले ४० पार भइसके । अघिल्लो वर्ष उनी विवाह गर्ने योजनामा थिए । तर, तयारी नपुगेर बिहे हुन नसकेको उनी बताउँछन् ।

‘विवाह त हुन्छ, तर कहिले हुन्छ थाहा छैन । विवाह गर्ने उमेर भइसक्यो’, उनले भने ।

घर र आफन्तहरूबाट पनि नियमित विवाहका निम्ति दबाब आइरहने खतिवडाको स्वीकारोक्ति छ ।

‘पहिल्यैदेखि राजनीतिमा लागियो । व्यस्तताले विवाहबारे सोचिएन । तर, अब बिहे त गर्नै पर्ने रहेछ भन्ने लाग्यो’, उनी भन्छन् । विवाहका लागि योजना बनाए पनि आफूले सोचेअनुरूपको दुलही नमिलेको खतिवडा बताउँछन् । एकताका कोमल ओली र रामहरि खतिवडाको विवाहको चर्चासमेत चलेको थियो ।

राजेशपायल राई
गायक

गायक राजेशपायल राई ४५ वर्षका भए । उनलाई पनि प्रायः एउटै प्रश्नले पछ्याइरहन्छ, ‘विवाह कहिले गर्नुहुन्छ ?’

तर, उनीसँग यसको जवाफ कहिल्यै भएन । घर परिवारबाट पनि विवाहको दबाब आइरहन्छ । उनी साइत नै नजुरेर विवाह नभएको भन्दै टारिरहन्छन् । राजेशपायल राईले सेरोगेसीमार्फत बच्चा जन्माउने चाहनासमेत राखेका छन् । पछिल्लो समय उनको नाम एक यूट्युबरसँग जोडिएको छ । यद्यपि, उनीहरू दुवैले आफूहरूबीच कुनै सम्बन्ध रहेको स्वीकारेका छैनन् ।

त्यसो त रेखा थापा र केकी अधिकारीसँग राजेशपायलको निकटतालाई लिएर पनि गसिपहरू बनेका थिए । तर, उनीहरू साथीको सम्बन्धमा नै सीमित रहे । अहिले पनि राजेशपायलले विवाहको सम्भावनालाई टारिसकेका छैनन् । तर कहिले हुन्छ भन्ने जवाफ उनीसँग छैन । यसपटकको भ्यालेन्टाइनमा पनि उनी सिंगल नै रहनेछन् ।

गरिमा साह
नेकपा नेतृ

नेकपा नेतृ एवम् पहिलो संविधानसभाकी सभासद् गरिमा साहको पनि विहे गर्ने औसत उमेर कटिसकेको छ । विषम परिस्थितिबीच बाल्यकाल गुजारेर राजनीतिमा होमिएकी साहलाई धेरैपटक विवाहको प्रस्ताव आयो । विवाह प्रस्ताव गर्ने अधिकांशको एउटै शर्त हुन्थ्यो- राजनीति छाड्नुपर्ने । तर, उनले जिन्दगानीमा विवाहभन्दा राजनीतिलाई नै प्राथमिकता दिइन् ।

राजनीतिसँगै कला/साहित्य सिर्जना गरिरहेकी कैलालीकी साहलाई विवाह नभकोमा कुनै पछुतो छैन । जीवनभर राजनीतिमा समर्पित भएर देशको सेवा गर्ने उनको सोच छ । गरिमा विवाहलाई प्राविधिक विषय मान्छिन् ।


प्रतिक्रिया

One thought on “जो एक्लै जीवनको रथ गुडाइरहेका छन्

  1. नारायणकाजी श्रेष्ठ ‘राष्ट्रिय सभा अध्यक्ष’ हाेइन

Leave a Reply to Mewahang Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर