बिर्सनलायक बन्यो रामकुमारीको एनिभर्सरी, भ्यालेन्टाइन के होला ? – Nepal Press

बिर्सनलायक बन्यो रामकुमारीको एनिभर्सरी, भ्यालेन्टाइन के होला ?

काठमाडौं । आजै आफ्नो ११औं वैवाहिक वार्षिकोत्सव मनाइरहेकी नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्री राज्यविरुद्ध कसुर गरेको आरोपमा बिहान पक्राउ परेकी छिन् । एनिभर्सरीकै दिन गम्भीर आरोपसहित प्रहरीबाट पक्राउ पर्नु उनका निम्ति दुखद संयोग हो ।

आज बिहान झाँक्रीले आफ्नो विवाहका तस्वीरहरु सेयर गर्दै श्रीमान्सँग शुभकामना साटेकी थिइन् । उनले करिब सात बजेतिर फेसबुकमा लेखेकी छिन्, ‘आज माघ २९ । सोचेजस्तो हुन्न जीवन भन्ने थाहा छ । तिमी आयौ जिन्दगीमा यसै आहा छ । हाम्रो वैवाहिक जीवनको ११ वर्षको यात्रामा प्रिय श्रीमान्लाई हेप्पी एनिभर्सरी ।’

रामकुमारीको विवाह २०६६ साल माघ २९ गते धनकुटाका पशुपतिबाबु पुरीसँग भएको हो । पशुपति सरकारी जागिरे हुन् । करिब पाँच वर्षको प्रेमपछि उनीहरुले विवाह गरेका थिए । अहिले उनीहरुका एक छोरा छन् । शंखमूलमा उनीहरुको आफ्नै घर छ ।

सम्भवतः आज एनिभर्सरी स्टाटस लेख्दासम्म झाँक्रीले आफू पक्राउ पर्ने कुराको छनक पाइसकेकी थिइन् । उनलाई महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले फोन गरेर सोधपुछका लागि डाकेका थिए । उनी चाहिं पक्राउ पुर्जी पाए मात्रै जाने अडानमा थिइन् । झाँक्री यत्तिकै उपस्थिति नहुने भएपछि महाशाखाले उनलाई पक्राउ गर्न बिहानै टोली परिचालन गर्यो ।

बिहान करिब १० बजे सादा पोशाकमा केही प्रहरी शंखमूलस्थित झाँक्री निवासमा पुगेका थिए । तर, झाँक्री बाहिर निस्किन मानिनन् । बरु उनले केही पत्रकारहरुलाई निवासभित्र बोलाएर अन्तरवार्ता दिइन् । राज्य नियमसंगत तरिकाले आए आफू गिरफ्तारी दिन तयार रहेको उनले बताइन् ।

झाँक्रीले भनेकी थिइन्, ‘म कानूनी राज्यमा विश्वास गर्ने मान्छे हुँ, यदि पक्राउ पुर्जीसहित आएको खण्डमा म जानुपर्छ ।’

झाँक्री निवासमा प्रहरी पुगेको समाचार फैलिएसँगै प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरु त्यहाँ भेला हुन थाले । उनीहरुले झाँक्रीको समर्थन र प्रधानमन्त्री केपी ओलीको विरोधमा नारावाजी सुरु गरे । प्रधानमन्त्री विरुद्धको उग्र नारावाजी र प्रहरीको तैनाथी गर्दा झडपको सम्भावना देखिएकाे थियो । तर, प्रहरीले संयम देखायो । झाँक्रीको माग बमोजिम उनलाई पक्राउ पुर्जी थमाइयो । त्यसपछि बल्ल झाँक्री निवास बाहिर निस्किइन् ।

बाहिर निस्केर उनले ह्यान्ड माइकमार्फत समर्थकलाई छोटो सम्वोधन गरिन् । आफूले पक्राउ पुर्जी पाएको जानकारी दिंदै गिरफ्तारी दिन तयार रहेको बताइन् । त्यसपछि भीड छिचोल्दै प्रहरीले उनलाई भ्यानमा हालेर लग्यो । कार्यकर्ताहरु भने बानेश्वरतिर आएर प्रदर्शन गर्न थाले ।

झाँक्रीलाई थमाइएको पक्राउ पुर्जीमा ‘राज्यविरुद्धको कसुर अन्तर्गत दफा ५८ को असुर अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नुपरेको’ उल्लेख छ । राज्य विरुद्धको कसुर आफैंमा गम्भीर आरोप हो । याे दफाअनुसार कसुर प्रमाणित भए झाँक्रीलाई ७ वर्ष कैद, ७० हजार जरिवाना वा दुवै सजाय हुनसक्छ ।

झाँक्री पक्राउको विषयमा प्रचण्ड–नेपाल समूहले औपचारिक प्रतिक्रिया दिइसकेको छैन । तर, नेपाल प्रेससँगको कुराकानीमा प्रवक्ता नारायणकाजी श्रेष्ठले उनलाई विनाशर्त रिहा गर्न माग गरेका छन् । यदि प्रहरीले आज झाँक्रीलाई रिहा नगरे नेकपाले कडा प्रतिक्रिया जनाउन सक्नेछ ।

झाँक्रीविरुद्ध प्रहरीले लिएको एक्सनलाई धेरैले ‘अतिरञ्जित’ ठानेका छन् । यद्यपि, प्रहरीसँग उनीविरुद्ध मुद्दा चलाउने आधार नभएको होइन ।

नेपालको मुलुकी अपराध संहिताको दफा ५८ काे २ मा भनिएको छ, ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन नहुने’ उल्लेख छ ।

गोरखामा आयोजित एक कार्यक्रममा झाँक्रीले राष्ट्रपतिलाई व्यक्तिगतरुपमा लाञ्छित गर्ने गरी अभिव्यक्ति दिएकी थिइन् । उनले राष्ट्रपतिलाई ‘शीतलनिवासबाट निस्केर कोटेश्वर वा त्यो नभए बालकोट आउन’ चेतावनी दिएकी थिइन् । यस्तो अभिव्यक्तिले राष्ट्रपतिको चरित्रहत्या भएको भन्दै ओली समर्थित अनेमसंघले उनीमाथि कारबाहीका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत दिएको थियो । प्रधानमन्त्री ओलीकै प्रत्यक्ष निर्देशनमा झाँक्रीलाई पक्राउ गरेको आरोप प्रचण्ड–नेपाल समूहको छ ।

हिजो मात्रै प्रचण्ड–माधव समूहको जनसभामा झाँक्री दबंग स्टाइलमा प्रस्तुत भएकी थिइन् । उनले भाषण गर्न जाने क्रममा शरीरमा लगाएको ‘प्रतिगमन मुर्दावाद’ लेखिएको कालो कपडा खोलेर फुत्त दर्शकमा फाल्दै नाटकीय इन्ट्री गरेकी थिइन् । साथै भाषण गर्ने बेलामा उनले मुखमा लगाएको कालो टेप खोल्दै भनेकी थिइन्, ‘हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ ।’ तर, त्यसको भोलिपल्टै उनी जथाभावी बोलेकै कारण प्रहरीको पाहुना हुन जानु परेको छ ।

झाँक्रीले राष्ट्रपतिविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर नेकपाको इतर समूह मात्र नभएर तटस्थ नागरिकहरुले पनि उनको आलोचना गरेका थिए । उनले एकल महिलाको समेत अपमान हुने गरी बोलेको भनेर महिलावादीहरुले पनि विरोध गरेका थिए । तर, आज पक्राउ परेपछि भने सामाजिक सञ्जालमा उनीप्रति सहानुभूति देखिएको छ । झाँक्रीलाई पक्राउ गरेर प्रहरीले उनलाई अनावश्यक चर्चामा ल्याएको टिप्पणी पनि धेरैले गरेका छन् ।

यदि सडक आन्दोलनबाट चर्को दबाब नपरेको खण्डमा वा ‘माथिबाट’ आदेश आएको खण्डमा प्रहरीले झाँक्रीविरुद्ध कठोर एक्सन लिन सक्छ । वैवाहिक वार्षिकोत्सव त उनको खल्लो भयो नै अब आउन लागेको भ्यालेन्टाइन पनि उनले श्रीमान्सँग मनाउन पाउने/नपाउने अन्योल बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर