साविक विजेता केनिन अस्ट्रेलियन ओपनको दोस्रो चरणबाटै बाहिरिइन् – Nepal Press

साविक विजेता केनिन अस्ट्रेलियन ओपनको दोस्रो चरणबाटै बाहिरिइन्

काठमाडौं । साविक विजेता सोफिया केनिन ग्राण्डस्लाम टेनिस अस्ट्रेलियन ओपनको दोस्रो चरणबाटै बाहिरिएकी छिन् । बिहीबार बिहान भएको दोस्रो चरणको खेलमा इस्टोनियाकी काया कानेपीसँग ६–३, ६–२ को सोझो सेटमा पराजित भएपछि विश्व बरियताको चौथौ स्थानकी केनिन प्रतियोगिताबाट बाहिरिएकी हुन् ।

पहिलो खेलमा अस्ट्रेलियाकी म्याडिसन इंग्लिसर्ला ७–५, ६–४ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा आइपुगेकी केनिनले कानेपीसँग अप्रत्याशित पराजय बेहोर्नु पर्‍यो । गत सिजनको फाइनलमा स्पेनिस खेलाडी गार्बिन मुगुरुजालाई ४-६, ६-२, ६-२ को सेटमा पराजित गर्दै केनिनले करियरको पहिलो ग्रान्डस्लाम जितेकी थिइन् ।

गत सिजन फ्रेन्च ओपनको फाइनलसम्म पुगेकी केनिनले युएस ओपनको चौथो चरणबाट बाहिरिनु परेको थियो ।

साविक विजेतालाई पराजित गरेकी कानेपी विश्व बरियताको ६५औं स्थानमा छिन् । ३५ वर्षीया कानेपी २०१८ पछि पहिलो पटक अस्ट्रेलियन ओपनको तेस्रो चरणमा पुगेकी हुन् । उनले हालसम्म अस्ट्रेलियन ओपनमा तेस्रो चरणभन्दा माथिको यात्रा तय गर्न सकेकी छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *