प्लिस्कोभा लगातार सातौंपल्ट अस्ट्रेलियन ओपनको तेस्रो चरणमा


काठमाडौं । छैठौं बरियताकी क्यारोलिना प्लिस्कोभा लगातार सातौं पटक अस्ट्रेलियन ओपनको तेस्रो चरणमा पुगेकी छन् । बिहीबार भएको दोस्रो चरणको खेलमा अमेरिकी खेलाडी ड्यानियल कोलिन्सलाई ७-५, ६-२ को सोझो सेटमा पराजित गर्दैं प्लिस्कोभाले तेस्रो चरणमा स्थान बनाएकी हुन् ।
पहिलो चरणमा इटालियन ज्यास्मिन पाओलिनीलाई ६-०, ६-२ को नतिजामा पराजित गरेकी प्लिस्कोभाले तेस्रो चरणमा आफ्नै देश चेक गणतन्त्रकी क्यारोलिना मुचोभासँग प्रतिस्पर्धा गर्नेछिन् ।
पहिलो चरणमा लात्भियाकी जेलेना आस्टापेन्कोलाई ७-५, ६-२ को सेटमा पराजित गरेकी मुचोभा दोस्रो चरणमा जर्मनीकी मोना बार्थेलविरुद्ध ६-४, ६-१ को सहज जित निकालेकी थिइन् ।
सन् २०१८ मा युएस ओपनबाट ग्रान्डस्लाममा डेब्यू गरेकी २४ वर्षीया मुचोभा गत सिजन अस्ट्रेलियन ओपनको दोस्रो चरणबाट बाहिरिएकी थिइन् ।
२०१२ को फ्रेन्च ओपनबाट ग्रान्डस्लाम यात्रा सुरु गरेकी प्लिस्कोभा २०१५ यता लगातार सातौं पटक तेस्रो चरणमा आइपुगेकी हुन् । २०१५ र २०१६ मा तेस्रो चरणबाट बाहिरिएकी प्लिस्कोभाले २०१७ र १८ मा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेकी थिइन् ।
२०१९ मा सेमिफाइनलसम्म पुगेकी प्लिस्कोभा २०२० मा तेस्रो चरणबाट बाहिरिनु परेको थियो ।