लाइन मिलेपछि रामचन्द्र-गगन फेरि एक ठाउँ, महाधिवेशनसम्म गठजोडको चर्चा – Nepal Press

लाइन मिलेपछि रामचन्द्र-गगन फेरि एक ठाउँ, महाधिवेशनसम्म गठजोडको चर्चा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र संसद पुनस्र्थापनाको विषयलाई लिएर सुषुप्त खालको मानसिक विभाजन छ । यो विभाजनले पार्टीभित्रको गुटगत राजनीतिलाई पनि प्रभावित बनाएको छ, र केही नेता आफ्नो क्याम्पबाट यताउता लस्किन थालेका छन् । अहिले वरिष्ठ नेता रामचन्द्र पौडेल र युवा नेता गगन थापाबीच देखिएको निकटता कांग्रेसभित्र चर्चाको विषय बनेको छ ।

कांग्रेसको १३औं महाधिवेशनमा नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला चुनावी मैदानमा थिए । दोस्रो चरणमा भिडेका थिए, देउवा र पौडेल ।

महामन्त्रीमा देउवा पक्षबाट अर्जुननरसिंह केसी, पौडेल पक्षबाट डा.शशांक कोइराला र सिटौला पक्षबाट गगन थापाले प्रतिस्पर्धा गरेका थिए । महाधिवेशनका लागि केही दिन बाँकी रहँदासम्म पौडेल पक्षको रणनीति निर्माणमा खटिएका थिए युवा नेता गगन । अन्तिम समयमा ‘पदाधिकारी’ लड्ने निर्णयमा साथ नपाएपछि सिटौला समूहमा मिसिएर थापा महामन्त्रीको उम्मेदवार बने । सभापतिमा सिटौलाले ३२४ मत ल्याउँदा महामन्त्रीमा थापाले ५८४ मत ल्याए ।

कांग्रेसका वरिष्ठ नेता पौडेल र युवा नेता थापाबीच पार्टीका आन्तरिक विषयमा लामो समय चलेको सहकार्य १३औं महाधिवेशनमा टुटेको थियो । यतिबेला संसद विघटनविरुद्धको आन्दोलनमा उभिएका दुवै नेताबीच पुनः तालमेल मिल्न थालेको छ । कतिपयले उनीहरू तत्कालका लागि मात्रै सँगै चर्चा गर्छन् भने कतिपयले महाधिवेशनसम्मै सहकार्यको सम्भावना देख्छन् ।

कांग्रेसको चौधौं महाधिवेशन घोषित मिति फागुन ७ मा उद्घाटन नहुने निश्चित भए पनि संवैधानिक कारणले २०७८ भदौसम्म भइसक्नुपर्नेछ । सो महाधिवेशनको समीकरण अहिलेसम्म प्रष्ट भइसकेको छैन ।

सहकार्यको पृष्ठभूमि

वरिष्ठ नेता पौडेल र युवा नेता थापा पहिले पनि निकट थिए । २०६२ सालमा राजतन्त्रविरुद्धको आन्दोलन उत्कर्षमा छँदा राजद्रोहको मुद्दा खेपिरहेका थिए गगनले । पोखरामा नेविसंघको महाधिवेशन हुँदैथियो । अघिल्लो दिन थुनाबाट छुटेर पोखरा पुगेका उनलाई विद्यार्थीहरूले भव्य स्वागत गरे ।

नेविसंघ अध्यक्षको बलिया प्रत्यासी थिए गगन । तर तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला नेविसंघ अध्यक्षमा केशव सिंहलाई नै दोहोर्‍याउने पक्षमा थिए । नेता पौडेलको समर्थन गगनलाई थियो । गगनलाई अध्यक्ष बनाउने पौडेलको प्रयास सफल भएन, तर त्यसले उनीहरूबीच विश्वासको वातावरण बन्यो ।

२०६४ मा चितवनमा सम्पन्न नेविसंघ महाधिवेशनले गगन समर्थित उम्मेदवार प्रदीप पौडेललाई अध्यक्ष चयन गर्‍यो । काठमाडौं फर्किएर गगन पार्टी राजनीतिमा केन्द्रित भए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा युवालाई स्थान दिनुपर्ने आवाज कांग्रेसमा चर्को स्वरले उठ्यो । प्रत्यक्ष टिकट दिलाउन नसके पनि पौडेलकै प्रस्तावमा गगन समानुपातिक सभासद बन्न सफल भए । गगनको राजनीतिक जीवनमा निर्णायक यो उपलब्धिको श्रेय पनि पौडेलले पाए ।

‘गगनजीलाई सभासद बनाउन रामचन्द्र दाइले गिरिजाबाबुलाई समेत कन्भिन्स गर्नुभएको थियो । सभासद भएपछि नै गगनजीको राजनीति अझ उकालोतर्फ लाग्यो’, गगनका एक समकक्षी नेताले भने ।

सभासद भइसकेपछि गुन तिर्ने पालो गगनको थियो । पौडेललाई संविधानसभामा दलको नेतामा निर्वाचित गराउन गगन कस्सिएर लागे । पौडेल कांग्रेस संसदीय दलको नेता बन्न सफल पनि भए । त्यसयता संविधान निर्माणदेखि पार्टीभित्र विचार निर्माण समेतमा पौडेल र गगनको गठजोड बन्यो । गगनको अगुवाइमा भएका वैचारिक लेखन र बहसहरूमा पौडेल समेतको विचार प्रवर्द्धन गरिए ।

‘पार्टीभित्र वैचारिक र व्यावहारिक दुवै कुरामा उहाँहरूबीच सहकार्य थियो । रामचन्द्र दाइको धारणालाई समर्थन हुने गरी गगनजीले धेरैपटक कार्यक्रमहरू सञ्चालन गराउनुभएको छ’, एक नेताले भने ।

१२औं महाधिवेशनपछि पौडेल पार्टीको उपसभापति बन्दा गगन सर्वाधिक मतसहित केन्द्रीय सदस्य बनेका थिए । नीति तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखका रूपमा पौडेलले थालेको देशव्यापी अभियानमा गगनले राम्रै साथ दिएका थिए ।

१३औं महाधिवेशनको पूर्वसन्ध्यामा तत्कालीन सभापति सुशील कोइराला सभापतिमा दोहोरिन इच्छुक देखिए । तर गगनले स्पष्टरूपमा ‘सभापतिले खुला हृदयले रामचन्द्र पौडेललाई सभापतिका रूपमा अगाडि सार्नुपर्ने’ धारणा राखे । कांग्रेसको नेतृत्वका लागि पौडेल उपयुक्त छन् भन्नेमा गगन जति विश्वस्त थिए त्यति नै आफू पदाधिकारीमा चुनाव लड्नैपर्ने दबाबमा थिए । पौडेलकै टिमबाट पदाधिकारीमा निर्वाचन लड्न गगनले अन्तिमसम्म प्रयास गरेका हुन् । तर १३औं महाधिवेशनमा पौडेलले वचन दिए पनि गगनले पदाधिकारीमा लड्न ठाउँ पाएनन् ।

गगनसहितका युवाहरूको टिमले पौडेलको चुनावी अभियान र घोषणापत्रसमेत लेखिसकेको थियो । तर पौडेल र गगन एकै टिममा चुनाव लड्ने स्थिति भएन । पौडेलले महामन्त्रीका रूपमा डा.शशांक कोइराला रोजे, गगनले सभापतिका रूपमा कृष्ण सिटौला । त्यसयता पौडेल र गगनबीच दूरी बढेको थियो ।

अहिले संसद विघटनको मुद्दामा सभापति देउवा पक्ष नरम देखिंदा पौडेल र गगन कडा विरोधमा छन् । केपी ओलीले चालेको कदम एकप्रकारले पौडेल र गगनलाई फेरि जोड्ने सुपरग्लु बनेको छ । उनीहरू आन्दोलनका धेरै कार्यक्रममा एकसाथ देखिएका छन् ।

हालै सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित सभामा गगन स्वयंले संसद पुनस्र्थापना विरुद्ध पौडेलले लिएको अडानमा आफ्नो साथ रहेको बताएका थिए ।

‘निर्वाचन हुँदा रामचन्द्र पौडेलले पनि तनहुँमा जित्नुहुन्छ । सांसद भएर आएपछि प्रधानमन्त्री पनि बन्नुहोला । तर उहाँले तत्कालको लाभ नहेरेर संविधान र लोकतन्त्र जोगाउने पक्षमा अडान लिनुभयो । त्यहीकारण हामी एकठाउँमा छौं’, सभामा गगनले पौडेलको प्रशंसा गर्दै भनेका थिए ।

पौडल र सिटौला मिलाउने गगनको प्रयास

गगनले ‘आवश्यक परे सभापति लड्न तयार रहेको’ समेत बताउने गरेका छन् । यद्यपि उनी आफैं चाहिं कांग्रेसको पुरानो संस्थापनलाई एकैठाउँमा ल्याउने प्रयासमा छन् ।

सभापतिमा दाबी गरिरहेका अधिकांश नेताले गगनको साथ चाहेका छन् । गगन भने छुट्टाछुट्टै प्रतिस्पर्धा गरेर पार्टीमा परिवर्तन सम्भव नहुने भएकोले संस्थापनइतर पक्षबाट एकमात्रै उम्मेदवार बनाउन सक्रिय छन् ।

‘रामचन्द्र र कृष्ण सिटौलाबीचको असमझदारीका कारण नेतृत्व शेरबहादुरमा पुगेको हो । त्यो असमझदारी हटाउने र सबैलाई मिलाउने भूमिका खेल्न उहाँ सक्रिय हुनुहुन्छ’, गगन निकट नेताले भने । पौडेल र सिटौलाबीच सहकार्य सम्भव देखेका गगन हाल आफ्नो भूमिका त्यसतर्फ केन्द्रित गरिरहेका छन् ।

अघिल्लो महाधिवेशनमा कमजोर गुटको उम्मेदवार बनेकाले गगन महामन्त्रीमा पराजित भएका थिए । आगामी महाधिवेशनमा फेरि त्यो गल्ती दोहोर्‍याउन गगन चाहँदैनन् । त्यसैले उनी पौडेल-सिटौलालाई मिलाएर देउवालाई चुनौती दिने बलियो गुट निर्माणको चक्करमा छन् । र, त्यो गुटबाट आफू महामन्त्रीको उम्मेदवार बन्ने ध्याउन्न छ ।

सभापतिका आकांक्षी अन्य नेताले पनि गगनलाई आफूतिर तान्न चाहेका छन् । सभापतिमा दाबी गरिरहेका नेता डा.शेखर कोइरालाले त सार्वजनिक रूपमा गगनलाई महामन्त्री प्रस्ताव गरिसकेका छन् । गगनले भने सभापतिमा कसलाई समर्थन गर्ने भन्ने निर्णय लिइसकेका छैनन् । तर विगतको लामो सहकार्यको पृष्ठभूमि र संसद विघटनको विषयमा मिलेको लाइनले पौडेल र गगनलाई महाधिवेशनसम्म जोड्न सक्ने देखिन्छ । पौडेलले गत वर्ष सार्वजनिक रूपमै ‘गगन–प्रदीपलगायतका युवाहरू आफूसँगै रहने’ दाबी गरेका थिए ।

‘दुवैजना अबको महाधिवेशनमा लड्नैपर्ने भन्दा जित्नैपर्ने बाध्यतामा हुनुहुन्छ । यो बाध्यता र संसद पुनस्र्थापनाको पक्षमा उहाँहरूले लिएको अडानले नै महाधिवेशनमा दुवैलाई एकठाउँ ल्याउने सम्भावना छ’, दुवै नेताका निकटस्थहरूको समान बुझाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर