अमेरिकी दुतावासद्वारा किशोरी फुटबल कार्यक्रम ‘वी कोच नेपाल’ सुरुआत – Nepal Press

अमेरिकी दुतावासद्वारा किशोरी फुटबल कार्यक्रम ‘वी कोच नेपाल’ सुरुआत

काठमाडौं । किशोरी सशक्तीकरणका लागि अमेरिकी दुतावासले फुटबल परियोजना संचालन गर्ने भएको छ । बुधबार आयोजित भर्चुअल कार्यक्रममा वी कोच नेपाल कार्यक्रम घोषणा गरियो ।

दुतावासको सहयोगमा वी युनाइटेड प्रोजेक्टले कार्यक्रम लन्च गरेको हो । जसअन्तर्गत धनगढी, सुर्खेत र काठमाडौंका १२ जना किशोरीलाई फुटबल प्रशिक्षक बन्नेका लागि प्रशिक्षण दिइने भएको छ ।

कार्यक्रमको भर्चुअल उद्घाटन कार्यक्रमलाई दुतावास उपप्रमुख म्यानुएल मिक्कलरले सम्बोधन गरे । खेलुकदमा महिला सहभागिताले लैंगिक समानताको गतिलाई अघि बढाउने बताए ।

‘खेलकुदमार्फत किशोरी तथा बालबालिकालाई सशक्त बनाउँदा उनीहरुले आफ्नो सम्भावनालाई पहिल्याउने, सामाजिक सीप विकास गर्ने र हार वा जित जेसुकै भएपनि एउटा असल खेलाडी हुनुको महत्वबारे जान्ने मौका पाउँछन्’ मिक्कलरले भने ।

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले फुटबललाई महिला सशक्तीकरणका लागि प्रयोग गरिने बताए । उनले परियोजनासँग मिलेर काम गर्न एन्फा इच्छुक रहेको भन्दै महिला फुटबलको भविष्य उज्वल रहेको समेत धारणा राखे ।

प्रशिक्षणमा सहभागि प्रशिक्षकले वी युनाइटेड कार्यक्रमका पूर्व सहभागिबाट परामर्श प्राप्त गर्नेछन् । १२० भन्दा बढी किशोरीलाई प्रत्यक्षरुपमा संलग्न गराएर महिला फुटबल टीम बनाउनको लागि उनीहरुलाई सहयोग समेत गरिने भएको छ ।

भर्चुअल कार्यक्रममा खेलकुद क्षेत्रका अगुवासहित खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, एन्फाका पदाधिकारी, राष्ट्रिय महिला टीमका खेलाडी र रेफ्री लगायतको सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर