सरकारी वकिल नै बलात्कारीसँग मिलिन्, पीडित किशोरीलाई अदालतबाट पनि अन्याय – Nepal Press

सरकारी वकिल नै बलात्कारीसँग मिलिन्, पीडित किशोरीलाई अदालतबाट पनि अन्याय

बलात्कारीको धम्कीले पढाइ छुट्यो, परिवार नै गाउँ छाडेर विस्थापित

जनकपुरधाम । बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपश्चात् हत्या गरिएको घटनाको अनुसन्धान चलिरहेका बेला महोत्तरीकी एकजना बलात्कृत किशोरी अदालतबाट पनि न्याय नपाएर आफैंभित्र गुम्सिएर बसेकी छन् ।

बर्दिबास नगरपालिकामा पर्ने पशुपतिनगरकी एक दलित बालिका २०७३ वैशाख १८ गते घरमै बलात्कृत भएकी थिइन् । घटनाको झण्डै पाँच वर्ष बित्न लागेको छ । बलात्कृत हुँदा १३ वर्षकी बालिका अहिले १७ वर्षकी भइन् तर न्याय पाइनन् ।

दुई वर्ष बढी त जिल्ला अदालत महोत्तरीमै मुद्दा चल्यो । तर, अदालतले प्रमाण नपुगेको भन्दै आरोपी सोही ठाउँका विजयकुमार सिंहलाई रिहा गर्न आदेश दियो ।

जिल्ला अदालतबाट न्याय नपाउँदा निराश बनेकी उनी उच्च अदालत जनकपुरमा पुगेकी थिइन् । तर उच्च अदालतले पनि माघ २१ गते जिल्ला अदालतकै फैसला सदर गरिदिएको छ ।

ती बालिकाका लागि ‘नेपालको कानून दैव जानून्’ जस्तै भएको छ । आरोपीबाट पटक-पटक धम्की पाएको पीडित परिवार अदालतको आदेशमा अभियुक्त रिहा भएपछि झन् असुरक्षित बनेको छ ।

सरकारी वकिलको असहयोग र चलखेल

पीडित बालिकाले सरकारी वकिलको असहयोग र रकमको चलखेलका कारण अदालतबाट न्याय नपाएको दुःखेसो गरेकी छन् । जसले उनको पक्षमा लड्नुपर्ने हो उसैले धोखा दिएको बुझाइ पीडित बालिकाको छ ।

उनले नेपाल प्रेससँग भनिन्, सरकारी वकिल रेखा झाले मेरो मुद्दामा बहस गर्दै आएकी थिइन् । तर अन्तिम दिन उनी आइनन् । पेशी छ भनेर सरकारी वकिल झालाई फोन गर्दा म आज अदालत गएँ भने जागिर नै जान्छ भनिन् ।

आफूमाथि अत्याचार गर्ने सिंहले अदालतमा रकमको चलखेल गरेको आरोप पीडितको छ । महिला सरकारी वकिल नै बलात्कृत किशोरीको हकमा असहयोगी बनेको बुझाइ धेरैको छ ।

उनले भनिन्, घटना ढाकछोप गर्न शुरुमा मेरो परिवारलाई ८/१० लाख रूपैयाँ लिएर मिल्न दबाब दिन्थ्यो । तर मलाई न्याय चाहियो भनेर लोभमा परेनौं । अहिले अदालतलाई नै किनेपछि मैले न्याय पाउन सकिनँ ।

न्याय पाउने आशमा अदालत धाउँदा धाउँदै पीडित परिवारको लाखौं रुपैयाँ खर्च भएको छ । न्यायको लागि कहिले जलेश्वर त कहिले जनकपुर पुग्नुप¥यो । तारिख लिन जाँदा आउँदा ४/५ सय रूपैयाँ एक पटकमा खर्च हुन्थ्यो । उनका बुवाले मजदूरी गरेर कमाएको सबै पैसा सकियो तर न्याय मिलेन ।

घटना यस्तो थियो

पीडित बालिका सुकुम्बासी दलित परिवारकी हुन् । फुसको एउटा मात्र घर थियो । त्यसमै आमासँगै चार भाइबहिनी सुतेका थिए । स्थानीय विजय सिंह उनको घरमा पसे र मुखमा कपडा कोचेर बलात्कार गरे । जब उनी छटपटाइन् त्यसपछि आमाले बत्ती बालेपछि भाग्न लागेका विजय सिंहलाई चिनेकी थिइन् ।

घटनापछि फरार भएका विजयमाथि पीडित परिवारले प्रहरीमा किटानी जोहरी दर्ता गरायो । तर उनी तत्कालै पक्राउ परेनन् । ६ महिनापछि पक्राउ परेका उनी १५ महिनामै रिहा भएका थिए ।

बलात्कृत भएकी बालिका त्यतिबेला १३ वर्षकी मात्र थिइन् । अहिले १७ वर्षकी भइसकेकी छन् । त्यतिबेला स्थानीय सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन् । बलात्कार गर्ने विजय र उनका आफन्तले उल्टै धाकधम्की दिन थालेपछि उनले पढाइ पनि छाडिन् ।

पीडित बालिका अझै विस्थापित

घटनापछि पीडित बालिकालाई पटक-पटक मार्ने धम्की दिएपछि उनका बुवा जनकपुर आएर बस्न थाले । भाडामा लिएको कोठामा अहिले उनीसहित परिवार बस्छ । बुवा राजमिस्त्रीको काम गर्छन् ।

उनी भन्छिन्, म बलात्कृत भएदेखि घर बाहिर जान डर लाग्छ । अदालतले अपराधीकै पक्षमा फैसला गर्दा अहिले झन् बढी डर लाग्न थालेको छ, हामीलाई न्याय रहेनछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर