गंगामायाको जीवन रक्षा र भागरथी हत्याको अनुसन्धानमा राष्ट्रपतिको पहल – Nepal Press

गंगामायाको जीवन रक्षा र भागरथी हत्याको अनुसन्धानमा राष्ट्रपतिको पहल

रासस । राष्ट्रपति विद्यादेवी भण्डारीले लामो समयदेखि अनशनमा रहेकी गंगामाया अधिकारीको जीवनरक्षा र बैतडीकी किशोरी भागरथी भट्टको हत्यासम्बन्धी घटनामा अनुसन्धान तीव्र बनाउन राष्ट्रिय मानवअधिकार आयोगलाई आग्रह गरेकी छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोगका नवनियुक्त पदाधिकारीसँग भएको छलफलमा राष्ट्रपति भण्डारीले छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनशन बसिरहेकी गंगामायाको स्वास्थ्य स्थिति जटिल बन्दै गइरहेकाले उनको जीवन रक्षाका लागि तत्काल पहल गर्न आग्रह गरेकी हुन् ।

पुस ६ गतेदेखि गंगामाया अनशन छिन् । आफूले यस विषयमा नेपाल सरकारको बारम्बार ध्यानाकर्षण गराइरहेको जानकारी पनि राष्ट्रपतिले दिइन् । गंगामायाको अहिले मुख्य दुई माग रहेका छन् । नेपाल सरकारले पाटन उच्च अदालतमा पुनरावेदन गरेको कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दालाई अघि बढाउनुपर्ने र मुद्दाको पेशी स्थगन हुन नहुने तथा हत्याका मुख्य आरोपी हाल आयरल्यान्डमा रहेका रुद्र आचार्यलाई नेपाल झिकाई कारबाही अगाडि बढाउनुपर्ने । गंगामायाको यही माग पूरा गर्नेतर्फ लाग्न राष्ट्रपतिले सुझाव पनि दिएकी छन् ।

कृष्णप्रसादको हत्या आरोपमा १३ जनाविरुद्ध चितवन जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । आरोपी भीमसेन पौडेल र पर्शुराम पौडेललाई पक्राउ गरेपछि तत्कालीन एनेकपा (माओवादी) का नेताको विरोधका कारण उनीहरुलाई धरौटीमा रिहा गरिएको थियो । सरकारले सो मुद्दा पुनरावलोकनका लागि पाटन उच्च अदालतमा दिएको निवेदन हाल विचाराधीन छ । रुद्र आचार्य हाल आयरल्याण्डमा छन् ।

नेपाल सरकारले आचार्यलाई यातना नदिने आशयसहितको पत्र बेलायत सरकारलाई लेखी नेपाल झिकाउन सक्छ, यस मामिलामा परराष्ट्र मन्त्रालय तयार रहेको देखिन्छ ।

नेपाल सरकारका तर्फबाट तत्कालीन शान्ति तथा पुनःनिर्माणमन्त्री नरहरि आचार्यले गंगामायासँग गरेको तीनबुँदे सम्झौतामा मुद्दा चलाउने, रुद्र आचार्यलाई नेपाल झिकाउने र उनको जीवन निर्वाहका लागि आर्थिक सहयोग उपलब्ध गराउने उल्लेख थियो । यसैअनुसार वर्तमान सरकार गठनपछि गंगामायाको नाममा खाता खोली रकम जम्मा गरिएकाेमा उक्त रकम ब्याजसहित हाल उहाँकै खातामा एक करोड १७ लाख रहेको छ । आफ्नै छोरा नुरप्रसादको असहमतिका कारणले उक्त रकम उनको लागि घर किन्ने कुरामा उपयोग हुनसकेको छैन ।

‘संवैधानिक अंगका रुपमा आयोगले नेपाल सरकारका सम्बन्धित मन्त्रालयसँग समन्वय गरी गंगामायालाई उहाँका मागबारे आश्वस्त पार्न भूमिका खेल्न सक्छ । ‘मुद्दा अघि बढाउने र रुद्र आचार्यलाई नेपाल झिकाउने कुरामा सरकार तयार रहेको कुरा उहाँलाई स्पष्ट रुपमा बताएर उहाँको जीवनरक्षा गर्न सकिन्छ’ राष्ट्रपतिले भनिन्, ‘अनशनकै अवस्थामा विसं २०७२ मा गंगामायाका पति नन्दप्रसाद अधिकारीको निधन भएको थियाे। नन्दप्रसादको शव अहिले पनि शिक्षण अस्पतालको शवगृहमा छ, दाहसंस्कार भएको छैन । आयोगले यसका लागि पनि भूमिका खेल्न सक्छ ।’

विसं २०७७ माघ २६ गते मानवअधिकारकर्मीको एउटा टोलीले संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र महान्यायाधिवक्ता अग्नि खरेलसँग भेट गरी सरकारी वकिल मुद्दा अघि बढाउन चनाखो रहनुपर्ने सुझाव दिएको छ, यसमा महान्यायाधिवक्ताको जवाफ सकारात्मक छ ।

भेटघाटमा बैतडीमा हालै बलात्कारपछि हिंसाको शिकार बनेकी किशोरी भट्टको मुद्दामा भइरहेको अनुसन्धानलाई तीव्र बनाउन आवश्यक सहयोग गर्न पनि राष्ट्रपतिले आयोगलाई आग्रह गरिन् । आयोगका पदाधिकारीले बैतडीमा स्थलगत अनुगमन गर्न धनगढीस्थित कार्यालयबाट आयोगको टोली खटाइएको र घटनास्थलमा पुगिसकेको जानकारी गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर