मरिचमानको पालामा ‘पत्ता लागेको’ पेट्रोल खानी अझै अलपत्र: न संरक्षण, न उत्खनन् ! – Nepal Press

मरिचमानको पालामा ‘पत्ता लागेको’ पेट्रोल खानी अझै अलपत्र: न संरक्षण, न उत्खनन् !

३९ वर्ष पुरानो योजना अझै अलपत्र

विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको भाउन्ने–कानेपोखरी खण्डको जंगलमा ‘पेट्रोल खानी जाने बाटो’ लेखिएको ठूलो बोर्ड छ ।

वनभित्रको बाटाे छिचोल्दै करिब ७ किलोमिटर दक्षिण पसेपछि बस्ती बीचमा ठूलाे झाडी भेटिन्छ । जहाँ पाँच बिघा क्षेत्रमा घेराबार पनि गरिएको छ । दुई पटक विस्तृत अन्वेषण भइसके पनि त्यहाँबाट पेट्रोल निस्कने/ननिस्कने अत्तोपत्तो छैन ।

बेलवारी नगरपालिका–८, राधानगरमा पर्ने त्यो ठाउँ उद्योग मन्त्रालयको संरक्षणमा छ । मन्त्रालयले दुई जना हेरालु पनि खटाएको छ । तेल खानी रहेको भनिएको क्षेत्रमा भग्नावशेष भन्न मिल्ने पाँचवटा गोदाम छन् । इटालीको सेल कम्पनीले ड्रिल गरेको ठाउँलाई भने प्लाष्टर गरेर सुरक्षित राखिएको छ ।

हेरालु राखेर मन्त्रालयले झाडी क्षेत्रको संरक्षण गर्दै आए पनि खानीको विस्तृत अन्वेषण प्रतिवेदन सार्वजनिक गरिएकाे छैन । फलतः उत्खनन्को काम पनि अघि बढ्न सकेको छैन । खानी क्षेत्र झाडीमा परिणत भएको छ । स्थानीयले गाईबाख्रा चरनका रूपमा झाडीलाई प्रयोग गर्दै आएका छन् ।

खानी रहेको भनिएको क्षेत्रमा रहेका पाँच वटा गोदाम भत्केका छन् भने एउटा गोदाम लथालिङ्ग अवस्थामा रहेको छ । तत्कालीन समयमा इटालीको सेल कम्पनीले ३५२० मिटर गहिरो ड्रिल गरेको स्थललाई अहिले पनि प्लाटर गरेर सुरक्षित रूपमा राखिएको छ ।

मरिचमान सिंहकै पालामा खानीको अन्वेषण

मरिचमान सिंह श्रेष्ठ प्रधानमन्त्री भएको समयमै राधानगरमा पेट्रोल खानी रहेको बताएपछि सो क्षेत्रलाई नेपाल सरकारले संरक्षण गरेको थियो । २०४५ सालमा भारतले नाकाबन्दी लगाएपछि पेट्रोलियम पदार्थको अन्वेषणमा नेपालको ध्यान तानिएको हो ।

इटालियन सेल नेपाल नामक कम्पनीले विराटनगर आसपासमा अन्वेषण गर्दै राधानगरमा ३५२० मिटर गहिरो ड्रिल समेत गरेको थियो । त्यति गहिराइमा पुग्दा पनि तेल नभेटिएको बताउँदै कम्पनी अन्वेषणबाट पछाडि हटेको थियो ।
तर, भारतको दबाबमा उक्त कम्पनी पछाडि हटेको आरोप लाग्दै आएको छ ।

नेपालमा तेल निकालियो भने आफ्नो इन्धन भण्डार सुक्ने डर भारतलाई रहेकाले काम अगाडि नबढेको जानकारहरूको दाबी छ । राधानगरमा पेट्रोल खोज्न त्यतिबेला खनिएको खाडल अहिले पनि देख्न सकिन्छ ।

अध्ययन प्रतिवेदन नै गायव

प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा भएकै बेला देशका विभिन्न ठाउँमा चिनियाँ टोलीले अन्वेषण गर्ने क्रममा राधानगरमा पनि अन्वेषणको कार्य भएको थियो ।

पेट्रोल अन्वेषण र उत्खनन् गर्ने विश्वकै अग्रणी संस्था एनसीपीसीले फेरि सम्भावित ठाउँहरूको अध्ययन र अन्वेषण गरेको थियो । यसअघि वैशाख २०७३ मा चिनियाँ टोलीले नेपालमा पेट्रोलियम उत्खनन्को सम्भावनाबारे प्रारम्भिक अध्ययन गरेको थियो ।

चैत २०७२ मा तत्कालीन प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा द्विपक्षीय सम्झौता भएको थियो । त्यसैमा टेकेर चिनियाँ टोलीले वैशाख २०७३ मा नेपाल आएर सम्भावित क्षेत्रका चट्टानलगायत नमूना चीन लगेको थियो । त्यसको रिपोर्ट आएको एक वर्षभन्दा बढी भइसक्दा पनि सरकारले विस्तृत अन्वेषणका बारेमा कुनै जानकारी सार्वजनिक गरेको छैन ।
सो समयमा चिनियाँ विज्ञसहितको टोलीले कोशी नदी आसपास र चुरे क्षेत्रका चट्टानहरूको अध्ययन अन्वेषण गरेको थियो । स्थानीय रविन थापाका अनुसार चिनियाँ विज्ञसहितको टोलीले नेपालमा रहेका दुई ठूला खानीमध्ये एक राधानगर रहेको निष्कर्ष निकालेको थियो तर सरकारले अहिलेसम्म सो विषयमा कुनै कुरा बाहिर ल्याएको छैन ।

थापा भन्छन्, ‘खानीको कुरा गरेर मात्र सरकार बस्न मिल्दैन, यदि छ भने सरकारले त्यसको उत्खनन् प्रक्रिया अगाडि बढाओस् होइन भने यो क्षेत्रलाई बेवारिसे अवस्थामा छाडनु भन्दा अन्य कामको लागि प्रयोगमा ल्याउनुपर्छ । खानीको विषयलाई सरकारले गुमनाम बनाउन मिल्दैन ।’

भारत र पाकिस्तानका चुरे पर्वत क्षेत्रमै खानी संचालन

नेपालका जुन भूभागमा पेट्रोलियम पदार्थ रहेको अनुमान छ, भारत र पाकिस्तानका त्यस्तै शृंखलामा डिजल र पेट्रोलका खानी भेटिएका छन् । पाकिस्तानले चुरे पर्वत शृंखलामा पर्ने पोटवार बेसिनमा इन्धन उत्खनन् गरिरहेको छ । भारतले चुरे शृंखलाभन्दा मुनिका विभिन्न क्षेत्रबाट पेट्रोलियम पदार्थ निकालिरहेको छ । अहिले दैलेखको पादुका क्षेत्रमा कच्चा तेल निस्किएर बगिरहेको छ । काठमाडौंलगायत धेरै क्षेत्रमा पनि प्राकृतिक ग्यास निस्किरहेको छ ।

३९ वर्षे पुरानो योजना

करिब ३९ वर्षअघि तराईका अधिकांश क्षेत्रमा पेट्रोलियम पदार्थ निकाल्न सकिने पत्ता लागेको थियो । खानी तथा भूगर्भ विभागमा सोही प्रयोजनका लागि अन्वेषण परियोजना नै सञ्चालनमा छ ।

तर, अहिलेसम्मको अध्ययन प्रतिफलविहीन देखिंदै आएको छ । विभिन्न वैज्ञानिक आधारलाई पछ्याएर विभागले भौगर्भिक ‘एक्स रे’ लगायत अध्ययन सकेको छ । सोहीअनुसार सम्भावित भूभागलाई १० वटा ब्लकमा विभाजन गरिएको छ ।
ती ब्लकहरूमा पेट्रोलियम पदार्थको अन्वेषण र उत्खनन्का लागि विभागले छुट्टाछुट्टै विदेशी कम्पनीलाई अनुमति दिएको थियो । तर, सम्झौता अनुसार ती कम्पनीले अन्वेषण र उत्खनन् नगरेकाले गत वर्ष सरकारले सम्झौता खारेज गरेको थियो ।

१, २, ४, ६ र ७ नम्बर ब्लकमा केरिन इनर्जीले अनुमति पाएको थियो । उक्त कम्पनीसँगको सम्झौता रद्द भइसकेको छ । ब्लक नम्बर ३ र ५ मा टेक्साना, ८ र ९ मा ईएबी तथा १० मा बीबीबीले अनुमति पाएका थिए । ती सबै रद्द भइसकेका छन् ।

अलमलमा स्थानीय सरकार

बेलवारी नगरपालिकाको ८ नं वडामा पर्ने राधानगरमा रहेको भनिएको खानीको विषयमा नगरपालिका पनि अलमलको अवस्थामा रहेको छ । खानी भए÷नभएको बारेमा सरकारले प्रष्ट नगर्दा आफूहरू पनि अलमलको अवस्थामा रहेको मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।

पटक–पटक खानी क्षेत्रमा अन्वेषणको काम भएको छ, खानी भए÷नभएको विषयमा कतै जानकारी छैन, यस्तो अवस्थामा हामी पनि अलमलमा परेका छौं’ उनले भने । उनले खानी भए÷नभएको गुमनाम विषयलाई सरकारले अब चाँडै अन्त्य गर्नुपर्ने बताए ।

सरकारसँग खानी रहे/नरहेको विषयमा चाँडै कुरा गरेर निष्कर्ष निकाल्ने तयारीमा रहेको भन्दै मेयर सुवेदीले भने ‘यदि संघीय सरकारले आधिकारिक रूपमा जानकारी गराउँदैन भने सरकारको जवाफ पर्खेर हामी बस्दैनौं, खानी क्षेत्र चालु आर्थिक वर्षभित्र सदुपयोग गर्ने गरी काम अगाडि बढाउँछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर