कांग्रेसका युवाको प्रश्न- ओलीलाई वैधानिक बनाउने कि देउवालाई ? – Nepal Press

कांग्रेसका युवाको प्रश्न- ओलीलाई वैधानिक बनाउने कि देउवालाई ?

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भन्दाभन्दै कांग्रेस आफैं असंवैधानिक बन्ने खतरा रहेको औल्याएका छन् ।

काठमाडौंमा आयोजित “वर्तमान संकट र कांग्रेसको युवा आवाज” विषयक अन्तरक्रियामा बोल्ने अधिकांश वक्ताहरुले पार्टी विधान र पद्दति अनुसार चल्नुपर्नेमा जोड दिए ।

कांग्रेस नेता नवीन्द्रराज जोशीको संयोजनमा अनानगरस्थित युनियन हाउसमा कांग्रेसका ७० भन्दा बढी युवा नेताहरु उपस्थित थिए । भेलामा प्रतिनिधिसभा विघटनपछिको अवस्था र कांग्रेसले लिनुपर्ने बाटोका बारेमा छलफल भएको थियो ।

छलफलमा भाग लिँदै पूर्व सभासद रामहरी खतिवडाले कांग्रेसका शीर्ष नेता र केन्द्रीय समितिमा रहेका युवा नेताको भूमिकाको आलोचना गरे । उनले फागुन ७ मा तय भएको पार्टीको महाधिवेशन हुने नहुने १० दिन अगाडिसम्म तय नगरिनु दुर्भाग्यपूर्ण रहेको बताए ।

‘युवा भनिने साथीहरु बाहिर त क्रान्तिकारी कुरा गर्नुहुन्छ तर नेताको अगाडि लुरुक्क पर्नुहुन्छ । कांग्रेसको महाधिवेशन हुँदैछ कि छैन, निर्णय आउनुपर्दैन ?’, खतिवडाले प्रश्न गरे ।

विघटित प्रतिनिधिसभाका सदस्य प्रकाश स्नेहीले केपी ओलीको कदम असंवैधानिक भए पनि सभापति शेरबहादुर देउवाकै कदमलाई संवैधानिक भन्न नसकिने बताए ।

महाधिवेशन समयमै नहुँदा विधानको उल्लंघन भएको स्मरण गराउँदै स्नेहीले पार्टी विधानतः नचल्दा अरुलाई प्रश्न गर्न पनि समस्या परेको बताए । उनले १ सेकेण्डका लागि भएपनि संसद पुनःस्थापनाका लागि कांग्रेसले आन्दोलन गर्नुपर्नेमा जोड दिए ।

कांग्रेस युवा नेता विमल संग्रौलाले देशलाई संविधान र पार्टीलाई विधान अनुसार चलाउने नेतृत्वको खाँचो परेको बताए । ‘ओलीले संविधान मिच्दा असंवैधानिक भनेकै छौं तर कांग्रेसले आफ्नै विधान मिचेको छ । चार वर्षमा हुनुपर्ने महाधिवेशन ५ वर्षमा नहुँदा पनि सबै चुपचाप किन ? पार्टीभित्र र बाहिर दुवैतिर आन्दोलन जरुरी छ,’ संग्रौलाले भने ।

भेलामा नेविसंघ पूर्व अध्यक्षसमेत रहेका पूर्व सभासद रञ्जित कर्णले देशमा पनि प्रतिपक्षको भूमिका कमजोर भएको र पार्टीभित्र पनि प्रतिपक्षको भूमिका कमजोर भएको टिप्पणी गरे । बागमती प्रदेशकी सांसद बिजुला बर्माले कांग्रेस नेतृत्वको अलमलले गर्दा नेकपाभन्दा पहिले कांग्रेस नै फुट्ने हो कि भन्ने चिन्ता बढेको बताइन् ।

नेविसंघ पूर्व सहमहामन्त्री उमा शिवाकोटीले कम्युनिष्टका कारण भन्दा कांग्रेसको कमजोरीका कारण संविधान संकटमा परेको दावी गरिन् । नेविसंघ महामन्त्री दीपक भट्टराईले संविधान जोगाउन सरकारलाई आन्दोलनको खोपबाट संसद पुनःस्थापनाको भ्याक्सिन लगाउनुपर्ने बताए ।

नेविसंघ अध्यक्ष राजीव ढुंगानाले महाधिवेशन सकिएको भोलीपल्टैदेखि महाधिवेशन लाग्ने प्रवृत्तिले पार्टी कमजोर भएको बताए । उनले महाधिवेशनपछि निर्वाचित नेतृत्वलाई काम गर्न दिइनुपर्ने उल्लेख गरे ।

भेलामा कांग्रेस युवा नेताहरु बिनोद कायस्थ, सुवास पोखरेल, रमेश महत, टेकराज पौडेल,मनोजमणि आचार्य, भूपेन्द्रजंग शाही, कुन्दनराज काफ्ले, बद्री अर्याल, प्रतिमा गौतम, प्रमोदहरी गुराँगाई, डिल्लीराम सुवेदी, सुरज काफ्ले , भोला नेपाल, पवन नेपाली लगायतले पार्टीले लिनुपर्ने कार्यदिशाबारे धारणा राखेका थिए ।

छलफलबाट प्राप्त सुझावले कांग्रेसलाई सशक्त र संगठित बनाउन मद्दत पुग्ने कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको भनाई थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर