ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव प्रक्रियामा लैजान सिनेटको अनुमति – Nepal Press

ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव प्रक्रियामा लैजान सिनेटको अनुमति

एजेन्सी । अमेरिकी सिनेटले निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दर्ता गरिएको महाभियोग प्रक्रिया संवैधानिक भएको निष्कर्ष निकाल्दै यसलाई प्रक्रियामा लैजान अनुमति दिएको छ ।

ट्रम्पका प्रतिरक्षा टिमले भने ह्वाइट हाउस छाडिसकेपछि महाभियोग सामना गर्नु नपर्ने तर्क गरेको छ ।

सिनेटमा ५६-४४ को बहुमतले ट्रम्पविरुद्धको अभियोग प्रस्ताव प्रक्रियामा लैजान मिल्ने गरी निर्णयमा पुगेको हो । केही रिपब्लिकनले प्रस्ताव फिर्ता हुनुपर्ने जोड गरेका थिए ।

पछिल्लो महिना अमेरिकी कंग्रेसको मुख्यालय क्यापिटल हिलमा भएको सांघातिक आक्रमणको मुख्य जिम्मेवार ट्रम्पलाई देखाइएको छ । जनवरी ६ मा ट्रम्पले गरेको भाषणको भिडियो र उनका केही समर्थकले क्यापिटल हिलमा देखाएको उग्र व्यवहारको प्रमाण पेश गरी डेमोक्रेटिक सिनेटरले मंगलबार महाभियोगबारे छलफलको सुरुआत गरेका थिए ।

‘यो एक उच्च अपराध र दुष्कर्म हो’ मेरिल्याण्डका सिनेटर जेमी रस्किनलले भने, ‘यदि यो महाभियोगका लागि उपयुक्त अपराध होइन भने मेरो भन्नु केही छैन ।’

ट्रम्पका वकिलले भने एक पूर्व राष्ट्रपतिमाथि महाभियोगको प्रक्रिया सुरु गर्नु असंवैधानिक हुने र डेमोक्रेट सिनेटरहरु राजनीतिक पूर्वाग्रहका कारण यस्तो निर्णय गरिरहेको आरोप लगाएका छन् ।

५६-४४ को अर्थ के हो भने, ६ जना रिपब्लिकन सिनेटरले महाभियोगको पक्षमा मतदान गरेका छन् । आफ्ना पार्टीका पूर्व राष्ट्रपतिमाथिको महाभियोग प्रमाणित हुन नदिन अहिले पनि अधिकांश रिपब्लिकन सिनेटरहरु एकसाथ छन् ।

डेमोक्रेट र रिपब्लिकनहरु समान ५०-५० को आँकडामा रहेको अमेरिकी सिनेटमा ट्रम्पलाई दोषी ठहर्‍याउन कम्तीमा दुई तिहाइ मतको आवश्यकता पर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर