बाइडेनको कूटनीति: एशिया केन्द्रमा, दक्षिण एशिया छायाँमा – Nepal Press
टिप्पणी

बाइडेनको कूटनीति: एशिया केन्द्रमा, दक्षिण एशिया छायाँमा

४ फेब्रुअरीमा अमेरिकाको स्टेट डिपार्टमेन्टको सभाहलमा अमेरिकी स्थानीय समय अनुसार दिउँसो २ः४५ बजे नवनियुक्त राष्ट्रपति जो बाइडेनले आफ्नो पहिलो कूटनीतिक मन्तव्य दिए । दि न्यू योर्क टाइम्सका अनुसार करीब ७० हजार कर्मचारी भएको डिपार्टमेन्टमा नयाँ ब्याचमा १६५ कूटनीतिक कर्मचारी राखेर बाइडेनले आफ्नो पन्ध्र मिनेट लामो मन्तव्य राखेका थिए । ट्रम्प प्रशासनमा बन्द भएको हरेक वर्ष थपिने कूटनीतिक कर्मचारीको निरन्तरता दिंदै बाइडेनले आफ्नो मन्तव्य राखे ।

आफ्ना चुनावी सभाहरूमा अब अमेरिकाले ‘शक्तिको उदाहरणले हैन उदाहरणको शक्तिले’ काम गर्नुपर्ने कुरा गरेका बाइडेनले आफ्नो पहिलो मन्तव्यका क्रममा सोही कुरा पुष्टि गरे ।

अमेरिकी पूर्व राष्ट्रपतिहरूको पहिलो भ्रमण अमेरिकी हार्डपावरका हब मानिने पेन्टागन र सिआईए कार्यालयबाट हुन्थ्यो । बाइडेनले भने अमेरिकी कूटनीतिको हब स्टेट डिपार्टमेन्टबाट गरेर नयाँ नजिर बनाएको अमेरिकी अखबारहरूले उल्लेख गरेका छन् ।

ह्वाइट हाउसको आधिकारिक वेबसाइटमा राखिएको २५ सय २६ शब्दको पहिलो कूटनीतिक मन्तव्यमा बाइडेनले प्रष्ट भने, ‘म आज संसारलाई सुनाउन चाहन्छु । अमेरिका फर्किएको छ । आफ्नो परराष्ट्र मामिलामा कूटनीति फर्किएको छ ।’

जर्मनीबाट अमेरिकी सेनाहरू क्रमशः फिर्ता गर्ने ट्रम्प प्रशासनको निर्णय खारेजदेखि ट्रम्पले बिच्क्याएका क्यानडा, मेक्सिको, बेलायत, जर्मनी, फ्रान्स, न्याटो, जापान, दक्षिण कोरिया, अष्ट्रेलियासँग सीधा कुरा गरेपछि मन्तव्य दिएका थिए बाइडेनले । रसियासँग ट्रम्पले नवीकरण गर्न नचाहेको रणनीतिक हतियार न्यूनीकरण सन्धि (स्टार्ट) को थप पाँच वर्ष नवीकरण गरेर भाषण दिएका बाइडेनले ट्रम्पले बन्देज जस्तै गरेको शरणार्थी प्रवेशलाई वार्षिक १ लाख २५ हजार पुर्‍याउने बताए ।

शपथग्रहण गरेकै दिन ट्रम्प बाहिरिएको पेरिस सम्झौतामा पुनः प्रवेश गर्ने कागजी प्रक्रिया शुरुदेखि विश्व स्वास्थ्य संगठनसँगको पुनः सहकार्य शुरु गरेका बाइडेनको कूटनीतिक मन्तव्य ट्रम्प प्रशासनको कूटनीतिबाट पूर्ण डिपार्चरको रूपमा देखिन्छ । चुनावी प्रचारमै भन्दै आएको ‘प्रजातान्त्रिक सम्मेलन’ आफ्नै प्रशासनकालमा गर्न तयार भएको कुरा बाइडेनले पहिलो कूटनीतिक मन्तव्यमा पनि दोहो¥याए ।

तानाशाही शासन भएका देशहरूलाई अलग्याउन र कमजोर बनाउन यस्तो विश्व सम्मेलन आवश्यक भएको बाइडेनले तर्क गरेका छन् ।

बाइडेन डिप्लोमेसीः एशिया केन्द्रमा, दक्षिणएशिया छायाँमा

पपुलिस्ट राष्ट्रपति ट्रम्पको बहिर्गमनपछि आएका समन्वयकारी मानिने बाइडेनको कूटनीतिक मन्तव्यलाई विश्वले ध्यानपूर्वक सुन्यो । आफ्नो मन्तव्यको अधिकांश समय उनले एशियाली मुद्दाहरूमा केन्द्रित गरे । साउदी अरेबियाले यमनमा गरेको बीभत्स युद्धको अन्त्य हुनुपर्नेमा बाइडेनले जोड दिए । तर, इरानको सहयोग पाएका शक्तिहरूबाट साउदी अरेबियाको आकाश र जमिनमा हुने ड्रोन आक्रमणबाट साउदीलाई जोगाउन अमेरिका तयार भएको पनि बाइडेनले जोडे ।

रसियन विपक्षी नेता एलेक्सी नभाल्नीको गिरफ्तारीको मात्रै हैन म्यानमारको सैन्य कुको विरोधदेखि चीनसँग प्रतिस्पर्धा र सहकार्य दुवै गर्न तयार भएको भन्न बाइडेनले छुटाएनन् ।

चीनको ‘आर्थिक हिंसा’ देखि मानवअधिकारमाथिको ‘हमला’ विषयमा आलोचना गरेका बाइडेनले अमेरिकी इन्ट्रेस्टका विषयमा भने चीनसँग सहकार्य गर्न तयार भएको बताए ।

आफ्ना निकट मित्रहरू भन्दै नाम लिएका जापान, दक्षिण कोरिया, अष्ट्रेलियादेखि बाइडेनको कूटनीतिक राडरमा एशियाबाट इरान, साउदी अरेबिया, यमन, म्यानमार हुँदै चीन समेटिए । दक्षिणएशिया भने बाइडेनको कूटनीतिक मन्तव्यमा जोडिएन । न उनले भारत-चीन सीमा विवादको कुरा गरे, न त काश्मिर समस्यादेखि अहिले नेपालमा ज्यादै बहस भएको एमसीसी तथा इन्डोप्यासिफिक स्ट्राटेजीकै विषय जोडे ।

अमेरिकी सैन्य सहभागिता भएको अफगानिस्तानको समेत नाम नलिएका बाइडेनको कूटनीतिमा दक्षिणएशिया प्रमुखतामा नपरेको देखिन्छ ।

भारतीय मूलकी कमला ह्यारिस उपराष्ट्रपति भएको प्रशासनका राष्ट्रपति बाइडेनले भारत तथा दक्षिणएशिया आफ्नो पहिलो प्राथमिकतामा भने नभएको पहिलो कूटनीतिक मन्तव्यबाट सहजै बुझ्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर