कवितामा युवा गर्जन : ओ आवाजहरु, बाहिर निस्क ! – Nepal Press

कवितामा युवा गर्जन : ओ आवाजहरु, बाहिर निस्क !

आज बिहानै फोन गरेर

जुठबहादुर दमैले भन्यो

कति सिउनु-आँशुको धागोले अर्काको मुलुक

अब सिउँछु- उध्रेको आफ्नै देशको नक्सा

अनि पूरा गर्छु

कहिल्यै नसकिएको अभावको महाआख्यान

साथी !

घर फर्कने टिकट पठाइदेऊ न

कवि राजु स्याङ्तान वसन्तपुर डबलीमा ‘गुमनाम ताराहरू’ पढिरहेका थिए । उभिएर कविता सुन्नेहरूको जमातमा थिए नागरिक अगुवा र युवा अभियन्ताहरू । लेखक नारायण वाग्ले, सञ्जीव उप्रेती, अर्चना थापा एकाग्र भई कविता सुनिरहेका थिए । ‘ऊ को हो त्यो’ भन्दै कविता प्रारम्भ गरेकी कवि अन्शु खनाल राज्य सत्तालाई प्रश्न गरिरहेकी थिइन् ।

जसको दायाँ हातमा छ तिम्रो रहरकोल पाण्डुलिपी

जसको बायाँ हातमा छ तिम्रो एक तले घरको लालजूपर्जा

ऊ को हो त्यो

आङ तताउने गरी मासमा कविता संकल्पमार्फत् कवि बच्चु हिंमासु गर्जिरहेका थिए-

अब म उठाउँछु चेतनाको कलम

त्यसको नीबले घोच्छु शासकको मुटुमा

निकालेर रगत तानाशाहको

कोर्छु भुइँमान्छेले गाउने गीतको धुन

यसपटक मेरो हात लर्बराउने छैन।

दृश्य थियो वसन्तपुर डबलीमा आयोजित युवा कविहरूको कवितावाचन । अन्य कवितावाचन कार्यक्रमभन्दा भिन्न थियो यो । अरु बेला अग्रजहरू कविता पढ्थे, युवाहरू सुन्थे । तर, यसपाली युवाहरूले कविता पढे, अग्रजहरूले सुने । बृहत् नागरिक आन्दोलन अन्तर्गत युवाहरूले सत्ता र शासक विरुद्धका कविताहरू पढे । प्रत्येक कविका कविताले शासकको स्वेच्छाचारितामाथि प्रश्न गर्दै नयाँ व्यवस्थाको माग गरिरहेका थिए । कवि विवश बाबुले कविता मार्फत् भन्दै थिए–

आवाजहरू, ओ आवाजहरू

अनुहारको कुन तप्काभित्र बसिरहेछौ

बाहिर निस्क

ओ आवाजहरू

बाहिर तिम्रो मुखुण्डोलाई नैतिक शिक्षा पढाउने गुरु

तिम्रै आमाको तिघ्रा कल्पिरहन्छ

युवा कविहरूका कवितामा यौनिक हिंसा र बलात्कारविरुद्धका आवाज मुखरित भएका देखिन्थे । डबलीमा ‘मलाई रातो रङ मन पर्दैन’ कवितामार्फत् कवि स्मृति रानाभाटले भनिन्–

आज त्यही छट्पटाएको छ मेरो आत्मा

जहाँ म सर्वश्व गुमाएर सक्किएको थिए

त्यहीँ नजिक पिपलको हाँगामा

झुण्डिएको छ देशको झण्डा जस्तै रातो कपडा

जसमा अझै देख्छु

मेरो शरिरबाट अन्तिम थोपा बगेको

रातो रगतको निसानी जस्तै

रगतको रातो टाटो ।

सडकमा कविता किन ?

युवाहरूकै नेतृत्वमा भएको कार्यक्रममा कवि नवीन प्यासीले भने, ‘यो प्रतिगमन विरुद्ध युवा स्रष्टाहरूको बुलन्द आवाज हो ।’ उनले प्रतिगमन अहिले मात्र नभई धेरै अघिदेखि नागरिकहरूमाथि शासकले गरिरहेको बताए ।

हिजोको जनआन्दोनमा नागरिक अगुवाहरूले जसरी नेतृत्व गरिरहेका थिए, अब अग्रगमनका निम्ति युवाहरू नै जाग्नुपर्ने उनको मत थियो । अहिले प्रेम दिवसको सप्ताह चलिरहेको बेला आफूहरू शासकको स्वेच्छाचारिताविरुद्ध सडकमा आउन बाध्य भएको उनले बताए ।

‘यो डबलीमा कोही साथीहरू डेटिङ पनि आउनुभएको छ । तर, यतिबेला हामी युवाहरू प्रतिगमनविरुद्ध सडकमा ओर्लिरहेका छौं । यो जरुरी पनि छ, प्यासीले भने ।

अर्का युवा लेखक तथा अभियन्ता सागर चन्दले युवा पुस्ताहरूको सिंगो भविष्य बाँकी भएकाले यतिबेला सडकमा आउनु अपरिहार्य भएको बताए ।

केही दिनअघि बानेश्वरको सडकबाट लेखक खगेन्द्र संग्रौलाले भनेका थिए, ‘मैले मेरो जीवन सारा सडकलाई दिइसकेँ । अब मसँग सडकलाई दिनका लागि जीवन बाँकी छैन ।’ उनको भनाइलाई उदृत गर्दै चन्दले भने, ‘त्यसोभए सडकलाई दिने जीवन बाँकी कोसँग छ त ? त्यो जीवन तपाईं हामीसँग छ । हामी जुनसुकै पेसामा भए पनि आवाज उठाऔं ।’

डबलीमा अन्शु खनाल, कपिल चौलागाईं, निर्भीकजंग रायमाझी, पवन ढुंगाना, प्रभात तिमल्सिना, प्रेमिला राई, बच्चु हिमांशु, महावीर विश्वकर्मा, रसिक राज, राजु झल्लु प्रसाद, लक्ष्मी रुम्बा, विवश बाबु, समर्पण श्री, सुनिल आङ्बो, सरस चरी, स्मृति रानाभाट लगायतका कविले कविता सुनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर