‘कोरोनापीडित अर्थतन्त्र’ को परिदृश्यः पूँजीगत खर्च दयनीय, राजश्व लक्ष्यभन्दा कम – Nepal Press

‘कोरोनापीडित अर्थतन्त्र’ को परिदृश्यः पूँजीगत खर्च दयनीय, राजश्व लक्ष्यभन्दा कम

काठमाडौं । कोरोनाले थिलथिलो पारेको नेपालको अर्थतन्त्र पुनरुत्थानको संघर्षमा छ । पछिल्लो समय कोरोनाको महामारी शिथिल हुँदै जनजीवन सामान्य अवस्थामा फर्के पनि अर्थतन्त्रमा तत्काल ठूलै सुधारको गुञ्जायस देखिएको छैन ।

सरकारले मंगलबार सार्वजनिक गरेको अर्धवार्षिक बजेट समीक्षाले प्रमुख आर्थिक परिसूचकहरूको मिश्रित अवस्था देखाएको छ । यो अवधिमा पूँजीगत खर्चको अवस्था दयनीय छ । राजश्व संकलन लक्ष्यभन्दा कम भए पनि आयात–निर्यातको असन्तुलनमा झिनो सुधार भएको छ, जुन सकारात्मक पक्ष हो ।

आर्थिक वर्ष २०७६/७७ मा कोभिड–१९ का कारण वृद्धिदरमा संकुचन आए पनि अब कोभिडको खोप आएकाले सरकारले वृद्धिदरमा सुधार हुने अपेक्षा लिएको छ ।

बजेटको आकार लगातार कटौती

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै बजेटको आकार घटाइएको जानकारी दिए । पूँजीगत खर्च अपेक्षित नभएपछि सरकारले बजेटको आकार नै कटौती गरेको हो । यसअघिका दुई वर्षमा पनि सरकारले अर्धवार्षिक समीक्षामा यही रणनीति लिएको थियो । यसले पूँजीगत खर्च गर्न नसक्ने पुरानो रोग निर्मूल हुनुको साटो झनै चर्केर गएको देखिन्छ ।

आव २०७७/७८ का लागि सरकारले १४ खर्ब ४६ अर्बको बजेट सार्वजनिक गरेको थियो । चालु खर्च ९ खर्ब १४ अर्ब, पूँजीगत खर्च २ खर्ब ८३ अर्ब र वित्तीय व्यवस्थातर्फ १ खर्ब ४६ अर्ब रुपैयाँ खर्च हुने संशोधित अनुमान छ ।

सरकारले केही समयदेखि महत्वाकांक्षी बजेट ल्याए पनि सोही अनुरूप खर्च गर्न नसक्दा बजेटको आकार घटाउनु परेको बताउँछन् अर्थविद् डा.विमल कोइराला । चालु आवमा कोरोना–१९ को प्रभाव तथा चुनावको तयारीले पनि बजेटको आकार घटाउन मद्दत गरेको उनको भनाइ छ ।

‘सरकारले अपेक्षित रूपमा राजश्व संकलन गर्न नसक्नु, विनियोजन गरेको रकम खर्च नहुनु, वैदेशिक सहायता अपेक्षित रूपमा नआउनु, सरकारले प्राथमिकतामा राखेका कामहरू गर्न नसक्नु आदि कारणले बजेटको आकार घटाउनु परेको हो’, कोइरालाले भने ।

अर्थतन्त्रका परिसूचकको दिशा

६ महिनाको समीक्षाले आर्थिक परिसूचकहरूको मिश्रित अवस्था देखाएको छ । केही परिसूचक सकारात्मक र केही नकारात्मक दिशामा छन् ।

चालु आवमा पूँजीगत खर्चको अवस्था दयनीय छ । विनियोजित बजेटमध्ये २८.१९ प्रतिशत अर्थात् ४ खर्ब १५ अर्ब ७४ करोड ५४ लाख मात्र अहिलेसम्म खर्च भएको छ । यसमध्ये चालु खर्चमा ३६.०८ प्रतिशत (३ खर्ब ४२ अर्ब ३५ करोड ६२) भएको हो । पूँजीगत खर्च १४.४ प्रतिशत (५० अर्ब ८१ करोड ७० लाख) मात्र भएको छ । वित्तीयतर्फ १३.०६ प्रतिशत (२२ अर्ब ५७ करोड २२ लाख) खर्च भएको छ ।

चालु आवमा औसत मूल्य वृद्धिदर ३.७२ प्रतिशत रहेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा ६.८२ प्रतिशत रहेको थियो ।

चालु आवको पहिलो ६ महिनामा आयात–निर्यातको असन्तुलनमा झिनो सुधार देखिएको छ । कुल निर्यात ६.१ प्रतिशतले वृद्धि हुँदै ६० अर्ब ८० करोड पुगेको छ । अघिल्लो आवको तुलनामा भने यो वृद्धिदर न्यून हो । अघिल्लो वर्षको सोही अवधिमा निर्यात २६.१ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा ६ खर्ब ६१ अर्ब २५ करोडको वस्तु आयात भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.८ प्रतिशतको गिरावट हो । यसरी, कुल व्यापार घाटा ५.८ प्रतिशतले कम भएर ६ खर्ब ४५ करोडमा झरेको छ ।

आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनासम्मको विप्रेषण आप्रवाह (नेपाली मुद्रा) ११.१ प्रतिशतले वृद्धि भएर ४ खर्ब ९५ अर्ब ३१ करोड पुगेको छ । कोरोनाले वैदेशिक रोजगारमा गम्भीर असर परेका बेला यो वृद्धिदर सन्तोषजनक हो ।

यस अवधिमा शोधनान्तर बचत १ खर्ब २४ अर्ब ९२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर बचत निकै उच्च (२६ अर्ब ६५ करोड) थियो । समीक्षा अवधिमा चालु खाता ४९ अर्ब ५३ करोड घाटामा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो खाता ७९ अर्ब ६५ करोड घाटामा थियो ।

२०७७ पुस मसान्तसम्ममा कुल विदेशी विनिमय असार मसान्तको १४ खर्ब १ अर्ब ८४ करोडको तुलनामा ६.६ प्रतिशतले वृद्धि भई १४ खर्ब ९३ अर्ब, ७५ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले संकलन गर्ने निक्षेपमा ९.२ प्रतिशतले वृद्धि भई ४१ खर्ब ९२ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६.२ प्रतिशतले बढेको थियो ।

राजश्व संकलन लक्ष्यभन्दा कम

कोरोना संक्रमणले आर्थिक वर्ष २०७७/७८ को प्रथम ६ महिना राजश्व संकलनमा प्रभाव परेको छ । चालु आवमा १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख राजश्व संकलन हुने अनुमान गरिएको थियो । पहिलो ६ महिनामा वार्षिक लक्ष्यको ४४ प्रतिशत मात्र राजश्व संकलन भएको छ ।

कुल राजश्व संकलनको लक्ष्यमध्ये कर राजश्व ९० प्रतिशत र गैरकर राजश्वको १० प्रतिशत हिस्सा रहेको छ । आयकरतर्फ ९९ अर्ब १४ करोड ७७ लाख संकलन भएको छ । यो रकम गत वर्षको सोही अवधिको तुलनामा ११.९५ प्रतिशतले कम हो ।

यस्तै मूल्य अभिवृद्धि कर १ खर्ब २५ अर्ब २३ करोड संकलन भएकोमा आन्तरिकतर्फ ५४ अर्ब ८५ करोड र पैठारी तर्फ ७० करोड रुपैयाँ उठेको छ । आन्तरिक उत्पादनमा ३७ अर्ब ८४ र पैठारीमा २४ अर्ब ८ करोड गरी अन्तःशुल्क कुल ६१ अर्ब ९२ करोड असुल भएको छ । गत वर्षको तुलनामा आन्तरिकतर्फ अन्तःशुल्कमा करीब १.६५ प्रतिशतले गिरावट हुँदा पैठारीतर्फ पनि करीब ४.२९ प्रतिशतले कमी आएको छ ।

यसैगरी, भन्सार महसुल ९० अर्ब ७८ करोड असुल भएको छ । यो रकम गत वर्षको यसै अवधिको संकलन ७७ अर्ब ९२ करोडको तुलनामा करीब १६.५० प्रतिशतले बढी हो ।

गैरकर राजश्व ३५ अर्ब ७० करोड संकलन भएको छ, जुन गत वर्षको तुलनामा १३.४९ प्रतिशतले कमी हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर