मलेशियामा ज्यान गुमाउने श्रमिकका परिवारले ९० प्रतिशत पेन्सन पाउने – Nepal Press

मलेशियामा ज्यान गुमाउने श्रमिकका परिवारले ९० प्रतिशत पेन्सन पाउने

काठमाडौं । मलेशियामा कार्यरत नेपाली श्रमिकको मृत्यु भएमा उनीहरुका परिवारले त्यहाँको सरकारबाट मासिक पेन्सन पाउने गरी सम्झौता हुने भएको छ ।

मलेशियाको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा नेपाली कामदारलाई समेट्न नेपाल सरकारले अनुमति दिएपछि पेन्सनको सुनिश्चितता भएको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मलेशियाको सामाजिक सुरक्षा संस्था सोक्सोसँगको समझदारीपत्र स्वीकृत गर्दै त्यसमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गरेको छ ।

उक्त समझदारीपत्र अनुसार श्रम स्वीकृति लिएर मलेशियामा रोजगारी गरिरहेका नेपालीले त्यहाँका श्रमिकसरह सामाजिक सुरक्षा पाउने छन् । यो समझदारीका लागि मलेशियाले नेपाललाई प्रस्ताव पठाएको थियो ।

सरकारले निर्णय गरेसँगै वैदेशिक रोजगार बोर्डले समझदारीपत्र आदानप्रदान गर्ने तयारी अघि बढाएको छ । मलेशियामा लकडाउन भएकाले भौतिक उपस्थितिमा हस्ताक्षर हुन नसक्ने हुँदा एक साताभित्र समझदारी पत्र आदानप्रदान भइसक्ने बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार यसका लागि मलेशियास्थित नेपाली राजदूतावाससँग सहकार्य भइरहेको छ । नेपालले मलेशियासामु प्रस्ताव गरेको समझदारीमा मलेशियास्थित नेपाली राजदूतावासबाट सकारात्मक राय यसअघि नै आइसकेको छ ।

बोर्डले परराष्ट्र मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको समेत परामर्श र राय लिएर समझदारीलाई अन्तिम रुप दिएको थियो । त्यसलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत मन्त्रिपरिषद्को बैठकमा पेश गरेको हो ।

इन्डोनेशिया र पाकिस्तानसँग समझदारीपत्रमा हस्ताक्षर गरिसकेको मलेशिया बंगलादेश र नेपालसँग समझदारी गर्ने तयारीमा थियो ।

सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई अख्तियारी दिएसँगै दुई देशबीच समझदारी गर्ने बाटो खुलेको छ । यसले अन्य मुलुकसँग पनि समझदारी गर्ने बाटो खुलेको वैदेशिक रोजगार बोर्डको भनाइ छ ।

२०१९ को अगष्टसम्म १ लाख २५ हजार नेपाली कामदारलाई अनिवार्यरुपमा सामाजिक सुरक्षा संस्था सोक्सोमा आवद्ध गराउने मलेशियाको सरकारले यसअघि नै निर्णय गरिसकेको छ ।

जनवरी २०२० देखि सबै विदेशी कामदारलाई सोक्सोमा अनिवार्य आवद्ध गराउने मलेशियन सरकारले निर्णय पनि गरिसकेको छ ।

मलेशियामा काम गर्ने सबै श्रमिकलाई सामाजिक सुरक्षा प्रदान गर्ने उद्देश्यले मलेशियाको मानव संसाधन मन्त्रालय अन्तर्गत सामाजिक सुरक्षा संगठन (सोक्सो) स्थापना भएको हो ।

रोजगारदाताले मासिक रुपमा गर्ने योगदानको आधारमा विदेशी कामदारलाई सोक्सोमा दर्ता गरिने व्यवस्था छ ।

समझदारीपत्रमा के छ ?

रोजगारदाताले विदेशी कामदारको तलबको १.२५ प्रतिशत मासिक रुपले योगदान गर्नुपर्ने व्यवस्था छ । यसमा श्रमिकको पैसा खर्च हुने छैन । श्रमिकको भिसालगायत अन्य कागजात तयार भइसकेपछि मात्र दर्ता हुन पाइनेछ ।

काम गर्ने समयभित्र मृत्यु भएमा नेपाली श्रमिकको परिवारजन (आमा, बाबु, श्रीमती वा श्रीमान् र २१ वर्ष नपुगेका छोराछोरी मात्र) ले मासिक तलबको ९० प्रतिशत आजीवन पाउने छन् ।

श्रमिक दुर्घटनामा परे अस्थायी अपांगता भएसम्म सेवा सुविधा पाउने छन् । कामको सिलसिलामा दुर्घटनामा परी स्थायी अपांगता भएकाको हकमा आजीवन सेवा–सुविधा पाउने व्यवस्था छ ।

मृत्यु भएर मलेशियामा नै दाहसंस्कार हुनेको हकमा नेपालका परिवारजनले २ हजार मलेसियन रिंगिट अर्थात् करिब ६० हजार खर्च पाउने छन् ।

तर मृतकको शव नेपाल पठाउनु परेमा ६ हजार ५०० अर्थात् पौने २ लाखसम्मको रकम पाउने छन् । श्रमिक विरामी भएमा औषधि उपचार सुविधा प्राप्त हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर