दुवाकोटमा वीर अस्पताल भवन बनाउन आर्थिक अभाव हुँदैन : अर्थमन्त्री (भिडियो) – Nepal Press

दुवाकोटमा वीर अस्पताल भवन बनाउन आर्थिक अभाव हुँदैन : अर्थमन्त्री (भिडियो)

अस्पतालको क्षमता विस्तारमा दिलो ज्यान दिएर लागेका छौं : स्वास्थ्यमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले भक्तपुरको दुवाकोटमा बन्न लागेको वीर अस्पतालको विस्तारित अस्पताल बनाउन आर्थिक अभाव नहुने बताएका छन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्वर १ दुवाकोटमा विस्तार गर्न लागिएकोे निर्माण क्षेत्रको अवलोकन गर्दै मन्त्री पौडेलले अस्पताल विस्तारका लागि कुनै पनि निकायवाट बाधा नहुने बताए ।

उनले वीर अस्पतालसम्म पुग्ने बाटो निर्माणमा केन्द्रले नै काम गर्ने र आगामी ६ महिना भित्रमा बत्ती, पानी तथा अत्यावश्यक सेवा उपलब्ध गराइने बताए ।

सडक डिभिजन, विद्युत् प्राधिकरण, खानेपानी तथा अन्य निकायका र वीर अस्पतालका पधाधिकारीसँगै स्थानीय तहका प्रमुखलाई पनि ६ महिना भित्र प्रगती प्रतिवेदन पेश गर्न मन्त्री पौडेलले निर्देशन दिएका छन् ।

अर्थ मन्त्रीसँगै स्थलगत अवलोकनमा पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले वीर अस्पतालको क्षमता बिस्तारमा आफूहरु दिलो ज्यान दिएर लागेको बताए ।

दुवाकोटबासीलाई उनले यस कामलाई आफ्नै ठानेर सहयोग गर्न पनि आग्रह गरे ।

चाँगुनारायण नगरपालिका वडा नम्वर १ मा विस्तार हुन लागेको वीर अस्पतालका लागि सरकारले राष्ट्रिय चिकिस्ता विज्ञान राष्ट्रिय प्रतिष्ठानका नाममा ५ सय ७० रोपनी जग्गा दिएको छ ।

मनोहरा खोला किनारमा अवस्थित उक्त स्थानमा वीर अस्पतालका विभिन्न भवन तथा शैक्षिक संस्था तथा ल्याव बन्नेछन् । जसका लागि सरकारले चिनिया कम्पनीसँग सम्झौता गरिसकेको छ ।

तर, ढल, पानी विद्युत्, बाटोलगायत कुनैपनि भौतिक पूर्वाधारविना आफूहरु काम गर्न नसक्ने भन्दै चिनियाँ कम्पनी पन्छिएपछि एक वर्षदेखि काम रोकिएको छ ।

स्थलगत अवलोकनमा अर्थमन्त्री, स्वास्थ्य मन्त्री, स्वास्थ्य राज्यमन्त्री, खानेपानी, अर्थ र स्वास्थ्य सचिव, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति ,चाँगुनारायण नगरपालिकाका प्रमुख तथा स्थानीय तहका पदाधिकारी सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर