तिलौराकोटलाई विश्वसम्पदा सूचीमा पार्न १ सय ४० बिगाह जमिन अधिग्रहण गर्नुपर्ने – Nepal Press

तिलौराकोटलाई विश्वसम्पदा सूचीमा पार्न १ सय ४० बिगाह जमिन अधिग्रहण गर्नुपर्ने

रुपन्देही । प्राचीन शाक्यहरूको राजधानी कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा राख्ने योजना पुरातत्व विभागले अगाडि बढाएको छ । सन् १९९७ मा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनोस्कोमा पहलको शुरुवात गरिएको २४ वर्षपछि लुम्बिनी विकास कोषको पहलमा यसलाई कार्यान्वयनमा लैजान थालिएको हो ।

तिलौराकोटलाई संरक्षित क्षेत्र घोषणा तयारीका विषयमा पुरातत्व विभाग, लुम्बिनी विकास कोष र कपिलवस्तु नगरपालिकाले यस्तो तयारी गरेको जानकारी दिएका छन् ।

पुरातत्व विभाग, लुम्बिनी विकास कोष र कपिलवस्तु नगरपालिकाले तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूची सुचीकृत गर्नका लागि आवश्यक प्रमुख शर्तका रुपमा रहेको संरक्षित क्षेत्र स्मारक घोषणा कार्यक्रम अघि बढाइएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

सदस्यसचिव शाक्यका अनुसार तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि सन् १९९६ मा नै प्रस्ताव गरिएको थियो । तर त्यसले लामो समय सार्थकता पाउन सकेको थिएन । अहिले भने प्रकृृया अघि बढाइएको उनको भनाइ छ ।

तिलौराकोटलाई २३ वर्षअघि नै विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रस्तावका लागि कागजी प्रकृया अघि बढाइएको थियो । सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा राजकीय जीवन त्यागेर ज्ञानका लागि कपिलवस्तु दरबार त्याग गरेका थिए ।

तिलौराकोटलाई पनि संरक्षित स्मारक क्षेत्र घोषणा गरेपश्चात कुदान, गोटिहवा, निग्लिहवा, अरौराकोट, सगरहवा र सिसनियालाई पनि संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने योजना छ ।

पाँचौँ शताब्दीमा प्रसिद्ध चिनियाँ यात्री फासियान र सातौँ शताब्दीमा हवेयन साङ्गले तिलौराकोटको भ्रमण गरेका थिए भने सन् १८९९ मा पुरातत्वविद् पूर्णचन्द्र मुखर्जीले उत्खनन् गरेपश्चात यसको महत्व अझै बढेर गएको हो । तिलौराकोटमा प्रसिद्ध पुरातत्वविद् देवला मित्र, तारानन्द मिश्र, बालकृष्ण रिजाल र रबिन कनिङ्गघमले पनि उत्खनन् गरेका छन् ।

नेपालमा कुल ८ वटा सम्पदा विश्व सम्पदा सूचीमा सुचीकृत छन् । त्यसमध्ये ७ वटा काठमाण्डाै  र एउटा लुम्बिनी विश्व सम्पदामा सूचीकृत छन् । अहिलेसम्म विश्वमा ११ सय २१ वटा स्थल विश्व सम्पदामा सूचीकृत छन् । ऐतिहासिक र धार्मिकरुपमा महत्वपूर्ण स्थलकारुपमा रहेको तिलौराकोट क्षेत्रलाई सूचीकृत गर्न अझै करिब ३ वर्ष समय लाग्ने शाक्यले बताए ।

१ सय ४० बिगाह जमिन अधिग्रहण गर्ने योजना

पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कँुवरले तिलौराकोट क्षेत्रका लागि १ सय ४० बिगाह जमिन अधिग्रहण गर्ने योजना रहेको बताएका छन् । संरक्षित क्षेत्र घोषणाका लागि त्यस भेमगा बसोबास गर्नेहरुसंग लिखित प्रतिबद्धता र पालिकाको निर्णय, पर्यटन प्रबद्र्धन र संरक्षणका खाकालगातयका कुराहरु पालना गर्नुपर्ने प्रावधान छ ।

त्यही क्षेत्रलाई नै संरक्षित स्मारक क्षेत्र घोषणा गरिने उनले बताए । अहिलेसम्म ६२ बिगाह अधिग्रहण गरी सकिएको छ । यसवर्ष थप ५ बिगाह अधिग्रहणका लागि १४ करोड बजेट बिनियोजन भएको छ ।

स्थानीय सरकारको प्रतिवद्धता

कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि संरक्षण स्मारक क्षेत्र घोषणाका लागि आफ्नो पूरा साथ रहेको बताएका छन् । ‘करोडौंको आस्थाको केन्द्र रहेको तिलौराकोट क्षेत्र विश्व संपदामा सूचीकृत भए यसले देश र समग्र जिल्लाकै नाम चल्नेछ’, उनले भने– ‘यसले आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान दिनेछ ।’ उनले विश्व सम्पदामा सूचीकृत र संरक्षित क्षेत्र घोषणाका लागि अब ढिलाई गर्न नहुने उनले बताए ।

तिलौराकोट बुद्धका पिता राजा शुद्धोधनको राजप्रसाद र बुद्धको क्रिडास्थलका रुपमा लिइएको छ । यो स्थलमा प्राचीन पोखरी, दरबारको भग्नावशेष पर्खाललगातयका संरचनाहरु फेला परेका छन् ।

विश्वमा अहिलेसम्म एक हजार १२१ सम्पदा विश्व सम्पदा सूचीमा सूचीकृत भएको नेपाल सरकार पुरातत्व विभागको विश्व सम्पदा संरक्षण शाखा प्रमुख डा. सुरेश श्रेष्ठले बताए । नेपालले १९७२ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन(युनेस्को)को विश्व सम्पदा महासन्धिमा हस्तक्षर गरेको थियो । त्यसयता काठमाडौँ उपत्यका र लुम्बिनी गरेर जम्मा दुई स्थानमात्रै विश्व सम्पदा सूचीमा सूचीकृत छन् ।

लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले बेलायतको दुराम विश्वविद्यालयको पुरातत्व विभागको पूर्वप्रमुख रबिन कनिङ्गघमको नेतृत्वमा पुरातत्वविद्हरूको टोलीले तिलौराकोटमा अहिले पनि उत्खनन गरिरहेको बताए ।

उनका अनुसार सन् २०१३ देखि अहिलेसम्म उत्खनन गरिरहेका यस वर्ष कोभिड महामारीका कारण उक्त टोली आउन सकेको छैन । तथापि आगामी मार्चदेखि पुनः उत्खनन्को कार्य हुने गरी काम गरेको उक्त टोलीको नेता पुरातत्वविद् कनिङ्गघमले पुरातात्विक दृष्टिकोणले तिलौराकोट विश्वकै महत्वपूर्ण स्थल भएको बताइरहेको उप्रेतीको भनाइ छ ।

उत्खनन्बाट तिलौराकोटमा सङ्ग्रहालय, पश्चिमी र पूर्वीद्वार, केन्द्रीय संरचना परिसर, मध्यभागको पोखरी, किल्ला, जोडी स्तूप, विहार र प्राचीन औद्योगिक क्षेत्र र प्राचीन शहरको प्रमाण भेटिएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि सबैभन्दा पहिले संरक्षित स्मारक क्षेत्र घोषणा हुनुपर्दछ । प्राचीन स्मारक ऐन, २०१३ कोे दफा ३ मा संरक्षित क्षेत्र घोषणाका लागि केही कानूनी प्रावधान राखिएको छ ।

उक्त दफाको १० उपदफामा समेटिएको ऐनको १ नम्बर उपदफामा अनुसार नेपाल सरकारले कुनै प्राचीन स्मारक रहेको ठाउँ वा क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषित गर्न चाहेमा चार किल्ला खोली सोको सूचना स्मारक रहेको ठाउँ र सो ठाउँ नजिकैको सार्वजनिकस्थलमा समेत एक–एक प्रति टाँस्नुपर्ने प्रावधान छ ।

यसैगरी (४) नम्बर उपदफामा उपदफा (१) बमोजिमको सूचनामा उजुरी परेमा उपदफा (३) बमोजिम अन्तिम निर्णय भइसकेपछि र उजुरी नपरेमा उजुरी गर्ने हदम्याद समाप्त भइसकेपछि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी कुनै प्राचीन स्मारक रहेको ठाउँ वा क्षेत्रको चार किल्ला खोली सो ठाउँ वा क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषित गर्न सक्नेछ भनी स्पष्टरूपमा उल्लेख गरिएको छ ।

यसैगरी उपदफा (७) मा नगरपालिका क्षेत्रभित्र पर्ने संरक्षित स्मारक क्षेत्रमा घर वा भवनको निर्माण, मर्मत, थपघट वा पुनःनिर्माण गर्न चाहने व्यक्तिले पेश गरेको नक्सा नगरपालिकाले प्रचलित कानूनबमोजिम पास गर्नुभन्दा अगावै त्यस्तो नक्सामा पुरातत्व विभागको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।

लुम्बिनी विकास कोषका सदस्य सचिव भिक्षु मैत्तेयले महामानव गौतम बुद्धसँग जोडिएका महत्वपूर्ण स्थानहरुको संरक्षण संवद्र्धन गर्ने उद्देश्य राखेर तिलौराकोटको कामलाई अगाडि बढाएको बताए । उनले लुम्बिनीसँग रामग्राम र तिलौराकोटलाई विकास गर्न अपरिहार्य भएको बताए ।

उनले भने– तिलौराकोटका सबै अनुसन्धानलाई एकै ठाउँमा ल्याउने काम भएको छ, पुरातत्व विभाग, लुम्बिनी विकास कोष र स्थानीय सरकारको समन्वयमा यसलाई सार्वजनिक गरिएको हो अब यही योजनाको सेरोफेरोमा रहेर अन्तराष्ट्रिय विज्ञहरुलाई आमन्त्रण गरेर विश्व सम्पदा सूचीमा सूचीकृत गर्न कोष लाग्नेछ आशा छ सबैको सद्भावले छिटै यो काम पूरा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर