निर्वाचन आयोगलाई प्रधानमन्त्रीको सुझाव : यसपटक निर्वाचन परिणाम शीतल निवास पुग्न सवा महिना नलागोस् – Nepal Press

निर्वाचन आयोगलाई प्रधानमन्त्रीको सुझाव : यसपटक निर्वाचन परिणाम शीतल निवास पुग्न सवा महिना नलागोस्

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग कसैको दबाब वा धम्कीबाट प्रभावित हुनु आवश्यक नरहेको बताएका छन्।

मंगलबार निर्वाचन तयारीबारे निर्वाचन अयोगका पदाधिकारीसँग आयोगमै पुगेर छलफल गर्दै ओलीले विगतको निर्वाचनमा भएका केही कमजोरीको स्मरण गर्दै अब त्यो दोहोरिन नहुने सुझाव दिएका हुन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री बिष्णु पौडेल, पूर्व सभामुख सुवास नेम्वाङ, कानूनमन्त्री लिलानाथ श्रेष्ठसहित आयोगमा पुगेका प्रधानमन्त्री ओलीले यसअघि निर्वाचन परिणाम शीतल निवास पुग्न सवा महिना लागेको भन्दै अब त्यस्तो हुन नहुने सुझाव दिए।

‘यसअघि निर्वाचन परिणाम शीतल निवास पुग्न सवा महिना लागेको थियो, जो गलत थियो,’ ओलीको भनाइ थियो, ‘अब त्यस्तो नहोस्।’

ओलीले कुन जिल्लामा कुन चरणको निर्वाचन गर्ने भनेर दुविधा पाल्न आवश्यक नभएको भन्दै त्यसबारे सबै निर्णय हिजोको मन्त्रिपरिषद् बैठकले गरेको बताएका थिए।

ओलीले निर्वाचनका लागि आयोगलाई साधन स्रोतकाको कमी हुन नदिने आश्वासन दिँदै मतपेटिकाको उचित व्यवस्थापन समयमै गर्नु पर्ने, मिलिभगतका समस्या पनि हुन सक्ने भन्दै त्यसमा पनि समयमै ध्यान पुर्‍याउनुपर्ने सुझाव दिएका थिए।

सर्वोच्च अदालतले निर्वाचन स्थगनको आदेश नदिएको भन्दै प्रधामन्त्री ओलीले निर्वाचनको तयारी कार्य रोक्नु जरूरी नरहेको बताएका थिए। त्यस्तै उनले विगतको चुनावमा उल्टो स्वस्तिक राखेको भन्दै त्यस्तो काम गर्नेलाई कारबाही गर्नुपर्ने सुझाव दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर