‘पुस ५ पछिको नेकपा विवादमा आयोग पस्न मिल्दैन, मेरोबाहेक अरुको एकल हस्ताक्षर चल्दैन’ – Nepal Press
निर्वाचन आयोगमा ओली

‘पुस ५ पछिको नेकपा विवादमा आयोग पस्न मिल्दैन, मेरोबाहेक अरुको एकल हस्ताक्षर चल्दैन’

माधव नेपालले हँसिया र मकैको घोगा चुनाव चिह्न दर्ता गराएका थिए

काठमाडौं । प्रधानमन्त्री तथा विभाजित नेकपाका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको अवधिमा दलभित्रको विवादमा निर्वाचन आयोग प्रवेश गर्न नमिल्ने भन्दै पार्टीको आधिकारिक अध्यक्ष आफैं भएको प्रमाण आयोगसँगै रहेको बताएका छन् ।

वैशाखमा निर्धारित निर्वाचनको बारेमा छलफल गर्न मंगलबार आयोग पुगेका ओलीले निर्वाचन प्रयोजनका लागि दल दर्ताको कुरा निस्किएपछि पुस ५ अघि नेकपामा कुनै विवाद ननिस्किएकाले अब १२० दिनभित्र पार्टीभित्रका विवादमा आयोग पस्न नमिल्ने बताएका हुन् ।

ओलीको भनाइ उद्धृत गर्दै आयोग स्रोतले भन्यो– उपनिर्वाचन र राष्ट्रियसभाको निर्वाचनमा मैले एकल हस्ताक्षरमा उम्मेदवार सिफारिश गरेको थिएँ । म पार्टीको पहिलो अध्यक्ष हुँ । किन मेरो एकल हस्ताक्षर मान्य नहुने ? अहिले केही मान्छे बाहिरिएका छन् पार्टीबाट । बालुवाटारमा पुस ५ गते नेकपाको कुनै बैठक बसेको छैन, अध्यक्ष र महासचिवलाई जानकारी नभई बैठक कसरी बस्यो ? त्यसैले निर्वाचनको अवधिमा दलभित्रको विवादमा आयोग प्रवेश गर्न मिल्दैन ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले २०७५ जेठ ३ गते नेकपा एकीकरण भएको र जेठ २३ गते निर्वाचन आयोगले सूचना जारी गरेको स्मरण गराउँदै आफू नेकपा संसदीय दलको नेताका हैसियतले प्रधानमन्त्री भएको बताए । उनले पुस ५ गते प्रतिनिधिसभा विघटन हुँदासम्म आफ्नो सो हैसियत कायमै रहेको बताएका थिए ।

ओलीले भनाइ थियो– मैले ६४ प्रतिशत मतको प्रतिनिधित्व गरेर प्रतिनिधिसभा विघटनको सिफरिश गरेको हुँ । त्यसपछि कसैले पार्टी छाडेको होला । निर्वाचनको अवधिमा दलभित्रको विवादमा आयोग प्रवेश गर्न मिल्दैन । ५ गते मैले सिफारिश गर्नुअघि त यस्ता कुनै कुरा थिएनन्, यो १२० दिनभित्र विवाद गर्न पाइँदैन ।

पार्टीमा आफ्नो बाहेक अरुको एकल हस्ताक्षर नचलेको भन्दै कहिलेकाहीं आफूसँगै पुष्पकमल दाहालको पनि हस्ताक्षर चलेको आयोगका पदाधिकारीलाई बताए । ओलीले आफूले पहिले नै केन्द्रीय कमिटी बैठक विस्तार गरेको र पछि अनुमोदन गरिएको जानकारी आयोगलाई दिएका छन् ।

माधव नेपालको हँसिया र मकैको घोगा !

प्रधानमन्त्री तथा विभाजित नेकपाका अध्यक्ष ओलीले निर्वाचन आयोगसमक्ष अर्को दलिल पेश गरेका छन् । त्यो के भने, सूर्य चिह्नमा माधव नेपालको पनि हक लाग्दैन । प्रचण्डले सूर्य चिह्नबाट कहिल्यै चुनाव नलडेको र लड्ने सहमतिबाट समेत पछि हटेको स्मरण ओलीले गराए ।

आयोगसमक्ष ओलीले भने– माधव नेपाल र बलराम उपाध्यायले पहिले नै हँसिया र मकैको घोगा चुनाव चिह्न दर्ता गराउनुभएको हो । हामीले सूर्य चिन्ह कायम गरेको हो । हामी त्यसयता सूर्य चिन्हमै चुनाव लड्दै आएका छौं । प्रचण्डजीसँग २०७४ असोज १४ गते सूर्य चिह्नबाट लड्ने सहमति भएको थियो, तर १६ गते त्यसबाट पछि हट्नुभयो । उहाँ कहिल्यै सूर्य चिन्हमा चुनाव लड्नुभएको छैन ।

ओलीले नेकपा एकीकरण टुंगिन नसकेकाले आफूले केन्द्रीय कमिटीमा सदस्य थपेर विस्तार गरेको बताएका छन् । तीन महिनाभित्र एकीकरण सक्ने र दुई वर्षमा महाधिवेशन गर्ने भनिएकोमा त्यसो नभएकाले कमिटी विस्तार गर्नुपरेको मौखिक जानकारी समेत ओलीले आयोगलाई गराएका छन् ।

ओलीले भने– पुस ५ गतेपछि कसैले कुनै निर्णय गरेर आयौं भन्छ भने त्यो जालझेल र राजनीतिमात्र हो । दुई अध्यक्षको सहमतिमा एकता भएर त्यसलाई पछि दुवै पार्टीले अनुमोदन गरेका हुन् । त्यो एकता टुंगिन नसकेपछि मैले एकल हस्ताक्षर चल्ने पहिलो अध्यक्षको वैधानिक हैसियतमा विस्तार गरें । अहिले उहाँहरुको कार्यालय पेरिसडाँडामा छ । हाम्रो कार्यालय धुम्बाराहीमा भाडामा चलेको छ ।

नेकपा विवाद पुस ५ गतेअघिसम्म नभएकाले निर्वाचन घोषणा भइसकेपछि आयोगले दलभित्र पस्न नहुनेमा अ‍ोलीले जोड दिएका छन् । प्रधानमन्त्री तथा देशको प्रमुख पार्टीको अध्यक्ष दलविहीन र स्वतन्त्र कसरी हुन्छ भन्ने प्रश्न गर्दै उनले कुनै पनि कानून र तथ्यका आधारमा नेकपाको आधिकारिकता र आफ्नो वैधानिकतामाथि प्रश्न उठ्न नसक्ने जिकिर ओलीले गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर